काठमाडौं । एभोकाडो फलमा विद्यामान जात पहिचानको समस्या समाधान, रोगकीरा व्यवस्थापन र बजार सम्पर्क तथा खेतिको अनुभव हासिल गर्न धनकुटा नगरपालिकाले मेक्सिको सीटीसँग भगिनी सम्बन्ध स्थापित गर्ने प्रकृया अघि बढाएको छ ।
यसकालागि संघीय सरकारले धनकुटा नगरपालिकालाई पूर्वस्वीकृति दिइसकेको छ । अब धनकुटा नगरपालिकालाई मेक्सिकोको सिताकुआरो सहरसँग एभोकाडो खेति प्रविधि, प्राविधिक, बगैंचा व्यबस्थापन, उत्पादन, भण्डारण, प्रसोधन तथा बजार नीति आयात गर्ने बाटो खुलेको छ ।
धनकुटा नगरपालिकामा दुई दशकअघि व्यक्तिगत पहलमा सुरू गरिएको एभोकाडो खेती १२ हजार रोपनी क्षेत्रफलमा विस्तार भएको छ । एभोकाडो बिरूवा र फल बिक्रिबाट मात्रै धनकुटामा करिब चार करोड रुपैयाँ भित्रन्छ । तर व्यवसायिकरूप नलिँदै एभोकाडो खेती संकटमा पर्न थालेको छ ।
पहिचान हुन नसकेका रोगका कारण एभोकाडोका बोट मर्दै गएका छन् । अहिलेसम्म जात पहिचान र गुणस्तर व्यवस्थापन हुन सकेको छैन् । बढी मुल्यमा बिक्रि गर्ने बजार सम्पर्कको अभाव छ । नयाँ बाली भएकाले स्थानीयतह, कृषि ज्ञान केन्द्र तथा अनुसन्धान केन्द्रहरूमा एभोकाडो सम्बन्धि विशेषज्ञ प्राविधिक नहुनु मुख्य समस्याको रूपमा छ ।
रोग-कीरा नियन्त्रण, ग्राफ्टीङ, बगैंचा व्यवस्थापन, फलको गुणस्तर र परिपक्कताबारे किसानहरू अनुमानकै भरमा छन् । एभोकाडो खेतीमा किसानले भोग्नु परेका यस्तै समस्या समाधानका लागि धनकुटा नगरपालिकाले एभोकाडो खेतिको बृहत अनुभव र समृद्ध बजार सम्पर्क भएको मेक्सिको देशको सिताकुआरो सहरसँग भगिनी सम्बन्ध स्थापित गर्दैछ ।
यसका लागि गत भदौ २ गतेको मन्त्रीपरिषद् बैठकले धनकुटा नगरपालिकालाई पूर्व स्वीकृती प्रदान गरिसकेको छ । सिताकुआरो सहरबाट एभोकाडो खेतीका लागि उन्नत प्रविधि, प्राविधिक र बजार नीतिमा आवश्यक सहयोगको औपचारिक प्रस्ताव गर्ने तयारी धनकुटा नगरपालिकाको छ ।
धनकुटाको हावापानी, भूगोल र किसानको उत्साह हेर्दा एभोकाडो खेतीमा प्रसस्त व्यवसायिक सम्भावना छ । मेक्सिकोसँगको सहकार्यले सार्थकता पाए एभोकाडो बगैंचा व्यवस्थापन, फलको गुणस्तर, उत्पादन परिमाण सुधार, ब्रान्डिङ र निर्यातको योजना सफल बनाउान सकिने अपेक्षा धनकुटा नगरपालिकाको छ ।