सरकारले ब्युँताउने घोषणा गरेका पुराना उद्योगको अवस्था जीर्ण, कसरी होला पुन: सञ्चालन ?

जेष्ठ १०, २०८० |अमृता अनमोल|भीमलाल श्रेष्ठ|बालकृष्ण अधिकारी
सरकारले ब्युँताउने घोषणा गरेका पुराना उद्योगको अवस्था जीर्ण, कसरी होला पुन: सञ्चालन ?

हेटौंडा । हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना र गोरखकाली टायर उद्योग कुनैबेला बजार नै गुल्जार बनाउने देशका प्रमुख उद्योग कल कारखाना थिए । तर सरकारी बेवास्ताले रुग्ण बन्दै वर्षौअघि बन्द भएका यी उद्योग, चलाउने भन्दै यसपटक पनि सरकारको निती कार्यक्रम र बजेटमा समावेश छ । तर यी तीनै उद्योग अहिलेको अवस्था हेर्दा सञ्चालनमा ल्याउन सहज छैन ।

सरकारी स्वामित्वको देशकै ठूलो बुटवल धागो कारखाना १६ वर्षदेखि बन्द छ । विदेशी बजारमा धागो निर्यात गर्ने उद्देश्यले ३८ करोड रुपैयाँ लगानीमा २०३९ सालमा उद्योग स्थापना भएको थियो । २०४५ सालदेखि उद्योगबाट उत्पादन थाल्यो । यहाँका धागो भारतीय बजारमा निर्यात हुन्थ्यो । २०६४ सालदेखि उत्पादन बन्द गरेको उद्योगले २०६६ भदौमा सबै मजदुरलाई अनिवार्य अवकाश दियो । अहिले ४ जना कर्मचारीले बन्द उद्योग कुरिरहेका छन् । कारखाना बन्द हुँदा ६ वटा भवन सहितको जग्गा बेवारिसे छ भने मेसिन जीर्ण अवस्थामा छन् ।

यस्तै २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालबाट उत्पादन सुरु गरेको थियो । लगातार घाटामा सञ्चालन भएको भन्दै २०५७ साल फागुन १ गते तत्कालीन मन्त्रिपरिषदको निर्णयबाट यो उद्योग बन्द भयो । दुई सय ३६ रोपनी जग्गामा रहेको कपडा उद्योगमा चारसय ८६ वटा कपडा बुन्ने तान र १४ हजार ६ सय ८८ वटा स्पिण्डल छन् । हेटौंडा कपडा उद्योगको प्रशासनिक भवनमा अहिले सशस्त्र प्रहरी बलले आफ्नो वेश क्याम्प राखेको छ । उद्योग सञ्चालन हुादा १२ सय कर्मचारीले रोजगारी पाएका थिए । २०६६ साल कार्तिकमा हेटौंडा कपडा उद्योगलाई दोस्रोपटक लिक्वीडेसनमा लैजाने निर्णय भइ प्रक्रिया अघि बढ्यो ।

गोरखाको मझुवादेउरालीमा ६ सय ३० रोपनी जग्गामा स्थापना भएको गोरखकाली रबर उद्योग २०४९ भाद्रदेखि उत्पादन सुरु गरेको थियो । कच्चा पदार्थ र लगानीको अभावले २०६५ सालदेखि ओरालो लागेको उद्योगले २०७१ चैत २४ देखि उत्पादन बन्द गरेको थियो । २०७५ माघ ३ गतेको मन्त्रिपरिषदको बैठकले गोरखकाली रबर उद्योग लिमिटेललाई आफ्नो स्वामित्वमा लिने निर्णय गर्यो । उद्योगमा कार्यरत कर्मचारी र मजदुर २ सय ८८ जना लाई भुक्तानी दिएर अनिवार्य अवकाश दिईएको थियो ।

पटकपटक सरकार परिवर्तन भएसँगै सरकारका प्राथमिकता परिवर्तन भइरहँदा बन्द उद्योग चलाउने निर्णय पनि पटकपटक स्थगित हुँदै आएका छन् । 


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।

Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका गोरखा संवाददाता हुन् ।

Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।