तरकारीको भाउ ३ सय प्रतिशतसम्म बढ्यो

सस्ता तरकारीको उपभोग बढाउन बजार व्यवस्थापकको सुझाव
मंसिर ११, २०८२ |सुदिल पोखरेल
तरकारीको भाउ ३ सय प्रतिशतसम्म बढ्यो

काठमाडौं । गत असोजमा परेको अविरल वर्षाका कारण हिउँदे खेतीमा प्रभाव पर्दा अहिले बजारमा तरकारीको भाउ गत साउनको तुलनामा ३ सय प्रतिशतसम्म बढेको छ । तरकारी महंगो बन्दा उपभोक्ताले गर्ने मासिक खर्चसमेत बढेको छ । तरकारी बजार सञ्चालकहरु भने यस्तो बेलामा महंगाभन्दा सस्ता तरकारीको उपभोग बढाउन सुझाव दिन्छन् ।

काठमाडौंको कालीमाटी तरकारी बजारमा अहिले लोकल गोलभेडाको भाउ प्रतिकिलो १ सय ३ रुपैयाँ छ । क्यारेटमा यस्तो मूल्य भए पनि पाँच केजी किन्दा कालीमाटी बजारमै १ सय २० रुपैयाँ पर्छ । खुद्रा पसलेहरुले भने कालीमाटीबाट लगेको त्यही गोलभेंडा १ सय ७० देखि १ सय ८० सम्म बेच्ने गरेका छन्, जुन गत साउनको तुलनामा ३ सय प्रतिशतले वृद्धि हो । एकातिर तरकारी पर्याप्त मात्रामा बजारमा आउन सकेको छैन भने अर्कोतिर मंसिर लागेसँगै विवाह र ब्रतबन्धलगायतका कारण माग बढ्दा भाउ महंगो भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको भनाइ छ । अहिले गोलभेंडासँगै बन्दा, मुला, काउली र हरियो फर्सीको भाउ उच्च भएको छ ।

बजारमा तरकारी मात्रै हैन, तेलजन्य वस्तुको पनि भाउ बढेको उपभोक्ताको गुनासो छ । उपभोक्ताहरु चार जनाको परिवारमा तरकारी तथा तेलकै कारण मासिक थप ६ हजार खर्च बढेको गुनासो गर्छन् ।

तर, बजारमा तरकारी ३ सय प्रतिशतसम्म तरकारी महंगो भए पनि राष्ट्र बैंकको तथ्यांकले १५ प्रतिशतमात्र महंगो भएको देखाउँछ । अझ समग्र महंगीको बृद्धिदर गत वर्षको असोजमा ४ दशमलव आठ दुई प्रतिशत रहेकामा यो वर्ष असोजमा जम्मा १ दशलमव आठ दुई प्रतिशत रहेको तथ्यांक छ । बजारको महंगीभन्दा राष्ट्र बैंकको आँकडा किन फरक हुन्छ त?

बजारमा अधिकांश तरकारीको भाउ अचाक्ली महंगो भए पनि केही भने सस्तो पनि भएका छन् । पाकेको फर्सी ३७ रुपैयाँ प्रतिकेजी छ, जुन साउनको तुलनामा १६ प्रतिशत सस्तो भएको हो । त्यस्तै स्कुस २६ प्रतिशत र प्याज हरियो ५५ प्रतिशत सस्तो भएको छ । सस्ता तरकारीको उपभोग बढाएर खर्च बचाउन बजार व्यवस्थापकहरु सुझाव दिन्छन् । 


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।