किसानलाई राज्यले अनुदान दिनैपर्छ : बाबुराम भट्टराई

जेष्ठ १०, २०८० |कान्तिपुर टीभी संवाददाता
किसानलाई राज्यले अनुदान दिनैपर्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले किसानलाई राज्यले अनुदान दिनैपर्ने जनाएका छन् ।

माइतीघर मण्डलमा बुधबार उखु किसानहरुले गरेको आन्दोलनलाई ऐक्यबद्धता जनाउन पुगेका भट्टराईले उखुलगायत किसानले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न नसकेको दाबी गरे । ‘उखुलगायत किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न नसकेर हाम्रो कृषि अर्थतन्त्र पूरै धराशायी भएको छ । लाखौँ मानिस विदेश पलायन हुन बाध्य भएका छन्,’ उनले भने ।

उनले कृषि अर्थतन्त्र धराशायी बनेको जनाउँदै आफ्नै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे ।

‘हामी हाम्रै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गरिरहेका छौं । यस्तो स्थितिमा राज्यले किसानलाई अनुदान दिनैपर्छ,’ भट्टराईले भने, ‘यो संसारको नियम हो । उहाँहरुको विषय त २०७२ देखिको हो, अहिलेसम्म किन रह्यो, त्यसमा पनि म सोध्नेछु । म एउटा नागरिकको रुपमा आएको हो, आवाज उठाइरहन्छु, २०७२ सालमा २५ रुपैयाँ क्विन्टल अनुदान दिएको हो । अहिले ८ वर्षको फरक भइसक्यो, त्यो पनि उपलब्ध नगराउनु भनेको हाम्रो राज्यको ठूलो संकट हो नि ।’

पूर्वप्रधानमन्त्री भट्टराईले किसानलाई रासायनिक मल उपलब्ध गराउने कुरामा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे । उनले लोकतन्त्रमा सडक गतिशील हुनुपर्ने जनाए । ‘उहाँहरुको कुरा सुन्दा प्रत्यक्ष अनुदान दिने हो तर उहाँहरुले उद्योग मालिकलाई दिउँ भनेर निर्णय गरेको रहेछ मन्त्रीस्तरीय । उद्योग मालिकले लिएका छैनौं भनेको छ । कहाँ गयो कि त अर्कोले भ्रष्टाचार गरेर खायो, त्यसैले यहाँ गम्भीर रुपमा लिनुपर्छ,’ उनले भने, ‘लोकतन्त्रमा सडक गतिशील भएन भने सत्तामा जो गए पनि सत्ताले अन्धो बनाउँछ मानिसलाई ।’