पुरानो साख ब्युँताउन धनकुटामा पुनःजागरण अभियान

वैशाख १३, २०८० |विनोद घिमिरे
पुरानो साख ब्युँताउन धनकुटामा पुनःजागरण अभियान

धनकुटा । राणा, राजा र पञ्चायतकालमा समेत पूर्वी पहाडी जिल्लाको व्यापारिक र प्रशासनिक केन्द्र थियो धनकुटा । प्रजातन्त्र पुन:स्थापनापछि राजनीतिक र प्रशासनिक पहुँच घट्दै गयो । पहाडी जिल्लाहरुमा सडक सन्जाल विस्तार हुँदै गएपछि यहाँको व्यापार पनि बाँडियो । पछिल्लो समय पुरानो साख ब्युँताउन धनकुटामा पुनःजागरण अभियान थालिएको छ ।

धनकुटा सदरमुकामको तल्लो र माथिल्लो कोप्चेमा आर्थिक गतिविधि सुस्ताउँदै गएपछि पुन:जागरण अभियान नै थालिएको हो । स्थानीयहरु संस्कार, संस्कृति र पुरातात्त्विक पहिचानको प्रवर्द्धन गरी पुनरागमनको योजनामा छन् ।

सीमान्तकृत आठपहरिया समुदायको बसोबास क्षेत्र, एउटै घरभित्रका ५२ चुल्हा, निशान भगवती मन्दिर, राणाकालीन ५२ ढोका दरबार, टक्सार, तल्लो र माथिल्लो कोप्चेको ओरेन्ज सिटीलाई पर्यटन सर्किटमा जोड्ने नगरपालिकाको तयारी छ । महेन्द्र पार्क, चुलीवन क्षेत्र, मधुगंगा धाम, मूलघाटमा रहेको विश्रान्ति र हिलेको बक्रकुण्ड धार्मिक पर्यटनको सर्किटका रुपमा विकास गर्ने नगरपालिकाको योजना छ ।

मौलिक, धार्मिक र ऐतिहासिक क्षेत्रको सम्भावना पहिल्याएर योजना बनाइ कार्यान्वयन गर्नुपर्ने सुझाव विज्ञको छ । धनकुटाको सुस्ताउँदो व्यापार र पुरानो प्रशासनिक साख फर्काउान राजनीतिक प्रतिबद्धताको पनि उत्तिकै खाँचो देखिन्छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।