काठमाडौं । साउथ ह्याम्प्टनलाई हराउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा १६ अंकको अग्रता लिएको छ । मोहम्मद सलाहले पेनाल्टीमा दुई गोल गरेपछि लिभरपुलले ३-१ गोलको पुनरागमन जित हात पारेको हो ।
यस सिजनको प्रिमियर लिगमा लिभरपुलले साउथ ह्याम्प्टनलाई दुई पटक नै पराजित गरेको छ । लिभरपुलको मैदान एनफिल्डमा विल स्मलबोनको गोलमार्फत पाहुना टोलीले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा लिभरपुलका भर्जिल भान डाइक र एलिसनबीच तालमेल हुन नसक्दा स्मलबोनले त्यसको फाइदा उठाउँदै गोल गरेका थिए ।
दोस्रो हाफमा प्रशिक्षक अर्ने स्लटले तीन खेलाडी परिवर्तन गरेपछि लिभरपुलले सुधारिएको प्रदर्शन गर्यो । डार्विन नुनेजले लुइस डियाजको पासमा बराबरी गोल फर्काए । ५५औं मिनेटमा सलाहले पेनाल्टीमार्फत् गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ८५औं मिनेटमा पाएको पेनाल्टी पनि सलाहले सफलतापूर्वक प्रहार गरी लिभरपुलको जित पक्का गरे । यस सिजन सलाहका लागि यो २७औं गोल हो । साउथ ह्याम्प्टनका युकानारी सुगावाराले बक्सभित्र बल ह्यान्ड गरेपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो ।
लिभरपुलले २९ खेलमा २१ जितसहित ७० अंक जोडेको छ । ऊ लिगको शीर्ष स्थानमा छ । २७ खेलमा ५४ अंकसहित आर्सनल दोस्रो स्थानमा छ । २८ खेलमा ९ अंक जोडेको साउथ ह्याम्प्टन लिगको पुछारमा छ । रेलिगेसन क्षेत्रमा रहेको साउथ ह्याम्पटन प्रिमियर लिग इतिहासकै न्यूनतम् अंक प्राप्त गर्ने खतरामा छ । अब लिभरपुलको ध्यान च्याम्पियन्स लिगमा पीएसजीविरुद्धको दोस्रो लेग र काराबाओ कप फाइनलमा केन्द्रित हुनेछ ।