आर्थिक मन्दीका कारण दाङका उद्योगी व्यवसायी संकटमा (भिडियो रिपोर्ट)

चैत्र १८, २०७९ |अमर क्षितिज भण्डारी
आर्थिक मन्दीका कारण दाङका उद्योगी व्यवसायी संकटमा (भिडियो रिपोर्ट)

दाङ । मुलुकमा देखिएको आर्थिक मन्दी, बैँक तथा वित्तीय क्षेत्रको चर्को ब्याजका कारण दाङमा साना उद्योगी-व्यवसायीले धमाधम व्यवसाय बन्द गर्न थालेका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म दाङमा २ सय ७३ वटा उद्योग तथा फर्महरू बन्द भएका छन् भने उद्योग व्यवसाय दर्ता पनि अघिल्लो आर्थिक वर्षको तुलनामा आधाले घटेको छ ।

दुई चरणको कोरोनाका कारण थलिएर विस्तारै गति लिन थालेका बेला दाङको व्यवसायिक क्षेत्र फेरि सङ्कटमा पर्न थालेको वास्तविकतालाई यी व्यवसायीको भनाइले पुष्टि गर्छ । दाङमा गत आर्थिक वर्षमा ३ हजार ३ सयभन्दा बढी उद्योग व्यवसाय दर्ता भएकोमा चालु आर्थिक वर्षको आठ महिनामा एक हजार २ सयवटा मात्रै दर्ता भएका छन् ।

दाङका घोराही, तुलसीपुर, लमही, भालुवाङलगायतका ठूला बजारमा धमाधम सटर खाली हुन थालेका छन् । कहिल्यै खाली नभएका सटर खाली भएपछि घरधनीहरू बन्द सटरमा सूचना टाँसेर व्यवसायी आउँछन् कि भनेर पर्खिरहेका छन् । तुलसीपुरमा १ सय बढी र घोराहीमा दुई सयभन्दा बढी व्यवसायीले व्यवसाय छाडेको उद्योग वाणिज्य संघले जनाएको छ ।

सरकारले उत्पादनमूलक, कृषि तथा वन, ऊर्जा, खनिज, पर्यटन, निमार्ण, सेवामूलक गरी उद्योगलाई आठ प्रकारमा वर्गीकरण गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा उद्योगतर्फ ११ हजार ३ सय ६४ र वाणिज्यतर्फ १२ हजार आठ सय ८३ गरी २४ हजार २ सय ४७ व्यवसायी दर्ता छन् ।

निरन्तरको घाटाको व्यापारले व्यवसायी पलायन हुँदा देशमै केही गरौँ भन्ने मानसिकता बोकेका व्यक्ति फेरि विदेसिनु पर्ने बाध्यता बढाउने देखिन्छ । व्यवसायी पलायन रोक्न राज्यले ठोस योजना ल्याउछ ढिला भइसकेको सरोकारवालाहरुको भनाइ छ । 


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।