रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालन, ३ वर्षपछि मानव आवागमन खुला (भिडियोसहित)

चैत्र १८, २०७९ |बलराम घिमिरे
रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालन, ३ वर्षपछि मानव आवागमन खुला (भिडियोसहित)

रसुवा । रसुवागढी नाका आजदेखि दुईतर्फी मानिसको आवतजावतसहित पूर्णरुपमा सञ्चालन भएको छ ।

रसुवागढी नाकाबाट आंशिक रुपमा आयात निर्यात भएपनि ३८ महिनादेखि मानिसको आवागमन भने ठप्प थियो । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको ल्हासामा गत बुधबार सम्पन्न बैठकले आयातनिर्यात गर्ने सहमति गरेपछि दुईतर्फी रुपमा मानिसको आवतजावतसहित रसुवागढी नाका पूर्णरुपमा सञ्चालनमा आएको हो ।

सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढीबाट निकास पैठारी र मानिसको आवतजावतसहित पूर्णरुपमा सञ्चालन गर्ने सहमति भएको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए । बैठकमा नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

रसुवागढी नाका पूर्णरुपमा सञ्चालनमा आएपछि व्यावसायी, व्यापारी, नाकाबासी तथा जिल्लाबासी उत्साहित भएका छन् । निकास पैठारी र मानिसको आवतजावतको लागि नाकामा तयारी तीव्र पारिएको छ । कन्टेनर चालक, कामदार, व्यापारी तथा व्यावसायीको ऐटिन्जेन परीक्षण गरिएको छ । नाकामा आवतजावत गर्ने १ सय ९६ जनाको शुक्रबार ऐटिन्जेन परीक्षण गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए । उनले भने, नाकाबाट आवतजावत गर्ने व्यक्तिको चिनियाँ अधिकारीहरुबाट ऐटिन्जेन परीक्षण गर्न पर्ने जानकारी आएपछि चालक, कामदार, व्यापारी तथा व्यावसायीको ऐटिन्जेन परीक्षण गरिएको हो ।

शनिबार २५ देखि ३० कन्टेनर सामान पैठारी हुन सक्ने भण्डारीले बताए । केरुङ जानको लागि नेपाल-चीन सीमा पास नवीकरण तथा नयाँ बनाउन शनिबार बिहान ६ बजेदेखि नै अध्यगमन कार्यालय खुला गरिएको अध्यागन कार्यालय रसुवागढी रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले बताए ।

२०७६ माघ १५ देखिनै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित भएको थियो । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात निर्यात बन्द भएको थियो । पछि कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात निर्यात थप प्रभावित भएको थियो । साढे पाँच महिना भने कोरोना महामारीका कारण नाका ठप्प रह्यो । आयात निर्यात ठप्प रहेको साढे पाँच महिनापछि २०७७ असार २२ गतेबाट पुन: सामान आयात सुरु भए पनि निर्यात भने ठप्प थियो । कोरोना महामारीका कारण रोकिएको सामान निर्यात भने ३५ महिनापछि गत पुस १२ गतेदेखि खुलेको थियो । मानिसको आवतजावत भने ३८ महिना देखिनै ठप्प थियो ।

अहिले नाकाबाट दैनिक चिनियाँ १४ कन्टेनर मात्र सामानआयात भइरहेको छ । अब भने आयात हुने कन्टेनरको संख्या पनि बढ्ने छ । आयात सुरु भएपनि कहिले कोरोना, कहिले पहिरो र हिमपातको कारण पटक-पटक नाका प्रभावित हुँदै आइरेको थियो । बारम्बार आइरहने यसप्रकारका समस्याका कारण व्यापारीहरु भने मर्कामा परेका छन् ।

चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । नाकाबाट मुख्य गरी तयारी कपडा, रबर, प्लाष्टिकका जुत्ता चप्पल, विद्युतीय जिप, जलविद्युत आयोजनाका सामाग्री लगायतका सामान आयात भइरहेको छ ।

नेपालबाट चीनतर्फ बाँसको मुडा, अम्लिसो, मैदा, डाल्ढा घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सीको क्याण्डी, चकलेट, सख्खर, चुइगम लगायतका वस्तु निर्यात हुने गर्दछ । नेपालको रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किलोमिटर छ । 


Image

बलराम घिमिरे

घिमिरे कान्तिपुर टीभीका रसुवा संवाददाता हुन् ।