
काठमाडौं । फिफाको विश्व वरियतामा एक सय ६ स्थानमा रहेको इन्डोनेसिया महिला फुटबल टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा नेपालविरूद्ध २-१ को पुनरागमन जित निकालेको छ।
नेपालले एक गोलको अग्रता जोगाउन नसक्दा २-१ ले पराजित भएको हो। योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा नेपालविरूद्ध इन्डोनेसियाले इतिहासमै पहिलो जित दर्ता गरेको हो। इन्डोनेसियाली डिफेन्डर भीभीले बल क्लियर गर्न नसक्दा आत्मघाती गोलबाट नेपालले अग्रता बनाएको थियो।
२०औं मिनेटमा अनिता बस्नेतले प्रहार गरेको कर्नरमा बलमा डिफेन्डर विमला विकले हेडरमार्फत गोलको प्रयास गरे पनि उनको प्रहार फितलो भएको थियो। उक्त हेडर बचाउने क्रममा भीभीले आफ्नै पोस्टमा गोल गरेकी हुन्। ५८औं मिनेटमा गोलकिपर अञ्जना रानामगरले बललाई क्लियर गर्न नसकेपछि इन्डोनेसियाले बराबरी गोल फर्काएको थियो।
नेपाली खेलाडीको मार्क बाहिर रहेकी कप्तान गेअ युमान्डाले अञ्जना अगाडि बढेको अवस्थामा सहजै गोल गरेकी हुन्। ६७औं मिनेटमा नेपालले पुन गोल ब्यहोर्यो। पहिलो प्रहार बचाएकी अञ्जनाले दोस्रो प्रहारमा भने केही गर्न सकिनन्। रिबाउन्ड बललाई उया अलले गोलगरेपछि इन्डोनेसियाले २-१ को नतिजाका साथ खेल समाप्त गरेकोहो।
साढे ६ वर्षअघि म्यानमारको मण्डलेमा भएको ओलम्पिक छनोटमा नेपालले इन्डोनेसियालाई २-१ ले नै हराएको थियो। अब नेपालले डिसेम्बर २ मा चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ ।