पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

मंसिर ११, २०८२ |रासस
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई काठ र डोरीले प्रतिस्थापित गरिने जानकारी दिनुभयो । पुरातत्व विभागले पनि कोषलाई फलामका बार र फलामबाट बनाइएको आकाशेपुल हटाउन भनेको थियो । 

विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले विश्वसम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि हटाउन पत्राचार गरिएको जानकारी दिनुभयो ।