सिलिकन भ्यालीपछि संकटमा क्रेडिट स्विस बैंक, केन्द्रीय बैंकबाट ५४ अर्ब डलर ऋण लिने तयारी

चैत्र २, २०७९
सिलिकन भ्यालीपछि संकटमा क्रेडिट स्विस बैंक, केन्द्रीय बैंकबाट ५४ अर्ब डलर ऋण लिने तयारी

जुरिच । अमेरिकाको सिलिकन भ्याली बैंक बन्द भएको एकसाता नबित्दै स्विट्जरल्यान्डको बैंक क्रेडिट स्विसमा संकट देखापरेको छ ।

तरलता अभावको सामना गर्न यसले स्विस सेन्ट्रल बैंकबाट ५४ अर्ब डलर ऋण लिने जनाएको छ । स्विस नेसनल बैंक र स्विस फाइनान्सियल मार्केट सुपरभाइजरी अथोरिटीले सहयोग गर्न तयार रहेको भन्दै लगानीकर्ताको भय शान्त पार्ने प्रयास गरेका छन् । तर अमेरिकी बैंकिङ क्षेत्रमा देखापरेको हलचलले स्विस संस्थाहरुमा प्रत्यक्ष असर पार्ने संकेत नदेखिएको उनीहरुको दाबी छ ।

बैंक अफ इंग्ल्यान्डले सहयोगका लागि स्विस अधिकारी र क्रेडिट स्विस बैंकसँग सम्पर्कमा रहेको जनाएको छ । अमेरिकी बैंकको असफलताले डराएका लगानीकर्ता क्रेडिट स्विस बैंकको अवस्थाबाट सम्भावित संकटप्रति चिन्तित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् । क्रेडिड स्विस बैंकले आफनो आर्थिक प्रतिवेदनमा कमजोरी फेला पारेको जनाएपछि बुधबार सेयर मूल्य २४ प्रतिशतले तल झरेको थियो । यसको असर विश्वका अन्य सेयर मार्केटमा समेत देखिएको थियो ।

सन् १८५६ मा स्थापना भएको क्रेडिट स्विस ज्युरिचमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय लगानी तथा वित्तिय सेवा प्रदायक कम्पनी हो । विश्वका करिब ५० देशमा एक सय ५० भन्दा बढी कार्यालय छन् ।