काठमाडौं । नेपाल सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन माग गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले सोमबार संयुक्त पत्रकार सम्मेलन गरी सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन सरकारको ध्यानाकर्षण गराएको हो ।
पत्रकार सम्मेलनमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी बजारलाई नियन्त्रित तरिकाले कोटा सिस्टमबाट चलाइरहेकाले सरकारसँग सुन आयातको कोटा सिस्टम हटाउन माग गरे । सुन आयातको कोटा सिस्टमका कारण बजारमा सुनको माग बढी भएपनि मागअनुसार बिक्री वितरण गर्न नपाएको उनको भनाइ छ । उनले राज्यको कर दायित्व भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेसा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फबाट स्पष्ट मापदण्ड बनाइ लागु गर्न र सुनचाँदी व्यवसायको विकास र प्रवर्द्धन हुनेगरी ऐन नियम कार्यविधि निर्माण गर्न सरकारसँग आग्रह गरे ।
कोटा सिस्टम क्षणिक समयका लागि हुने भए पनि सरकारले अहिलेसम्म कोटा प्रणाली नै राखिराख्नुले सुन तस्करी गरी ल्याउने क्रम बढेको उनको भनाइ छ । उनले अहिलेको सुन आयातको सिस्टम नहटे सुनचाँदी पसल चलाउन नसकिने जनाए । ‘लगानी सुरक्षित हुने, कर्मचारीहरुको रोजगारी सुरक्षित हुने, उपभोक्ताहरुको घरघरमा सम्पतीको रुपमा रहेको सुन, चाँदीको गरगहनालाई सहज तरिकाले कारोबार गर्नसक्ने नीति नियम हाम्रो पहिलो आवश्यकता हो,’ उनले भने, ‘सुनचाँदी बजारलाई नियन्त्रित तरिकाले कोटा सिस्टमबाट चलाइरहेको छ, कोटा सिस्टम निश्चित समयका लागि हो, सधैंका लागि होइन, अहिलेसम्म कोटा सिस्टम लागु भएको भयै छ । त्यो हट्नुपर्छ र बजारको मागअनुसार आयात गर्नुपर्छ । वर्तमान सप्लाइको सिस्टम छ, सुनचाँदीको गरगहना बनाउने उद्योगलाई हेर्ने नजर जुन नकारात्मकता छ, कालीगढहरुका लागि आवश्यक तालिमका लागि नीति नियम नभएको छ, त्यसैले यो व्यवसाय यथास्थितिमा चलाउन सक्ने अवस्था छैन । समस्याको समाधान हामीले गर्न सकेनौँ भने हामी अघि बढ्न सक्दैनौँ ।’
महासंघले बजारमा सिजनको समयमा ४० किलोको हाराहारीमा माग आए पनि १० किलो मात्रै सुन आयात भइरहेको जनाएको छ । विधिवत् रुपले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीहरुले बिनाभन्सार ५० ग्राम र भन्सार तिरेर १०० ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधाअनुसार सुन बजारलाई केही धानेको भएपनि अहिले प्रहरीले त्यसरी सुन ल्याउने व्यवसायीहरुलाई पक्राउ गर्ने र अनावश्यक दुःख दिने गरेको आरोप महासंघको छ ।
महासंघले विगत १३ वर्षदेखि लागु हुँदै आएको राष्ट्र बैंकको परिपत्र र एकाधिकार व्यव्स्थाको समीक्षा हुन जरुरी रहेको जनाएको छ । नेपाली मौलिक गरगहनाहरु विश्वव्यापी रुपमा माग भइरहेको सम्बन्धमा गरगहना निर्यातका लागि स्थानीय बजारको व्यवस्थापनका लागि र घरघरमा रहने आम उपभोक्ताहरुको सम्पत्तिका रुपमा रहन सुनचाँदी गरगहनाको यो पेसा व्यवसायलाई आवश्यक नीति, नियम र ऐन कानुन निर्माण गर्न आवश्यक रहेको जनाइएको छ ।