झापा । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले चैते धान खेतीलाई प्रवर्द्धन गर्न ३३ करोड बजेट विनियोजन गरिएको घोषणा गर्नुभएको छ । तर सरकारी नीतिको व्यवहारिक कार्यान्वयन हुन नसक्दा झापाका किसान सरकारले तोकेको चैते धानको समर्थन मूल्य नपाएर भूसको भाउमा बिक्री गर्न बाध्य छन् ।
भूस किलोको १५ रूपैयाँ पर्छ तर चैते धान भने प्रतिकिलो १८ रूपैयाँमै ब्रिकी हुन्छ । जबकी सरकारले तोकेको समर्थन मूल्य प्रतिकेजी २८ रूपैयाँ हो । आफैले तोकेको मूल्यभन्दा क्विन्टलमै १ हजार रूपैयाँ कममा चैते धानको खरिदबिक्री हुँदा पनि सरकार बेखबर भइ दिँदा लागत मूल्य नै नउठ्ने चिन्ताले किसानलाई पिरोलेको छ ।
असार महिना । झापा तोपगाँछी नगरपालिका-५ पाँचगाछीकी लोकमाया बास्कोटालाई चैते धान भित्राउन चटारो छ । उहाँको एक विघामा झण्डै १ सय मन धान फल्छ ।
गत वर्ष प्रतिमन १२ सय रूपैयाँमा बिक्री भएको धान यसपाली मुश्किलले ७ सय ५० रूपैयाँमा बिक्री गर्नुभयो । वर्षात्को समय । भण्डारण गर्ने स्थानको अभाव । लागत मुल्य नै नउठ्ने अवस्थामा, व्यापारीले तोकेकै मुल्यमा नै धान बिक्री गर्नु पर्ने अवस्था किसानको छ ।
बाटाबाटामा असरल्ल धानको थुप्रो र बोरा देखिन्छन् । बिक्री नहुदाँ किसान आन्दोलित छन् । पानी परेको समयमा झनै कष्ट छ किसानलाई । धान चिसै हुने भएकोले विक्री गर्न ढिलो भए बोरा मै उम्रन्छन् ।
सरकारले तोकेको समर्थन मुल्य लागू नहुदाँ, भूसको मुल्यमा धान बिक्री गर्न कृषक बाध्य भएका हुन् ।सरकारले चैते धानको समर्थन मुल्य तोकेर राम्रो काम गरेको छ । तर प्रभावकारी कार्यन्वयन पक्षमा अनुगमन र निरिक्षण गर्न नसक्दा यो अवस्था आएको अगुवा किसानको भनाइ छ ।
विगत १० महिनामा झण्डै १९ अर्ब रूपैयाँको धान आयात भएको सरकारी तथ्यांक छ । आयातलाई प्रतिस्थापन गर्न उत्पादन बढाउन आवश्यक छ । उचित मुल्य नपाउादा किसान निरूत्साहित छन् । झापामा चैते धान २० हजार हेक्टरमा एक लाख टन उत्पादन हुने गरेको छ ।