बैंकमा निक्षेप बढेको बढ्यै, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक

असार ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
बैंकमा निक्षेप बढेको बढ्यै, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले बुधबार ९० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत् राष्ट्र बैंकले ९० अर्ब निक्षेप खिच्न लागेको हो । ३७ दिनका लागि राष्ट्र बैंकले निक्षेप खिच्दैछ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ७० खर्बमाथि पुगेको छ ।

निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत् बोलकबोल गर्न लागिएको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ साउन ७ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बोल गर्न सकिने रकम न्युनतम १० करोड रूपैयाँ र अधिकतम ५ करोड रूपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । राष्ट्र बैंकले बोलकबलमार्फत् पुँजी धेरै हुँदा र कम हुँदा मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.