हुम्ला । हुम्ला खार्पुनाथको खार्पु हुँदै बग्ने चुवाखोला–कर्णाली नदीमाथि निर्माण भइरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेको छ । ९९ प्रतिशत काम भइसकेको बेलिब्रिज जडान भएसँगै हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना पुरा हुनेछ ।
नेपाली सेनाका अनुसार बेलिब्रिज केही दिनभित्रै सञ्चालनमा आउनेछ। यससँगै सिमकोट–खार्पु मार्ग हुँदै सदरमुकाम सिधै राष्ट्रिय सडक सञ्जालमा जोडिने छ । यससँगै कर्णाली प्रदेशको भौगोलिक जटिलता हटाउँदै आर्थिक विकासको गति थपिने अपेक्षा गरिएको छ। दुर्गम हुम्लाका स्थानीयवासी, व्यापार, स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवामा पहुँचका लागि अब लामो दूरी पैदलयात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुने छ।
सडक सञ्जाल नजोडिएको नेपालको अन्तिम सदरमुकाम सिमकोट अब राष्ट्रिय सञ्जालमा जोडिन लाग्दा स्थानीयवासीमा उत्साहको लहर फैलिएको छ। स्थानीय नेता, जनप्रतिनिधि, विकासप्रेमी नागरिक तथा व्यापारीहरुले यसलाई 'हिमाली विकासको सुनौलो अवसर' भन्दै स्वागत गरेका छन्।
यो परियोजना सम्पन्न गर्न नेपाली सेना नं. १४ बाहिनी अड्डा अन्तरगतको फौजको कमाण्ड गर्दै पहिलो चरणमा गत चैत्रबाट सेनानि रनजित बुढाथोकी नेपाली सेनाको इञ्जिनियर टोलीसहित खार्पु पुगेको थियो । अब केही दिनभित्रै खार्पु हुँदै बग्ने चुवाखोला–कर्णालीको मेटरी प्यानल ब्रिज सञ्चालनमा आएपछि सिमकोट सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा औपचारिकरूपमा जोडिनेछ ।