क्लब विश्वकपमा रियाल मड्रिड र अल-हिलालको बराबरी

असार ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
क्लब विश्वकपमा रियाल मड्रिड र अल-हिलालको बराबरी

काठमाडौं । फिफा क्लब विश्वकपमा रियाल मड्रिड अल हिलालसँग एक-एक गोलको बराबरीमा रोकिएको छ । रियालबाट प्रशिक्षक जाभी अलन्सो र ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको डेब्यु निराशाजनक रह्यो ।

फ्लोरिडास्थित हार्ड रक स्टेडियममा आज विहान भएको खेलमा रियालले लिएको सुरुवाती अग्रता जोगाउन सकेन । जारी प्रतियोगितामा समर्थकको न्युन उपस्थितिका कारण फिफाको आलोचना भइरहेको छ । तर रियाल र हिलालबीचको खेल हेर्न ६२ हजार ४ सय १५ समर्थक स्टेडियम पुगेका थिए । १५ पटकको युरोपियन च्याम्पियन रियालले ३४ औं मिनेटमा गोल गरेको थियो । उसका लागि रोद्रिगोको सहयोगमा गोन्जालो गार्सियाले गोल गरेका हुन् ।

तर रियालको अग्रता लामो समय भने टिकेन । साउदी प्रो लिग क्लब हिलालले ब्रेकअघि नै बराबरी गोल फर्कायो । ४१ औं मिनेटमा रुवेन नेभेसले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेका थिए । दोस्रो हाफमा अलेक्जेन्डर आर्नोल्ड सब्सिच्युट भएका थिए । उनी सिजनको अन्त्यसंगै लिभरपुलबाट रियालमा आवद्ध भएका हुन् । कार्लोस एन्सेलोटीलाई रिप्लेस गरेका अलन्सोको पनि रियालको प्रशिक्षकमा रुपमा डेब्यु खेल हो यो । सिमोन इन्घाजीको नेतृत्वमा रहेको हिलालले दोस्रो हाफमा रियाललाई गोल गर्नबाट राक्यो । इन्घाजी, इन्टर मिलानलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउँदै हिलालसँग जोडिएका हुन् । उनको पनि हिलालबाट यो डेब्यु खेल हो ।

खेलको अन्तिम समयमा रियाल प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा तीन अंक जोड्नबाट चुक्यो । हिलालका मोहम्मद अल क्वाहतनीले फ्रान गार्सियालाइ फाउल गरेपछि रियालले भारको रिभ्युबाट पेनाल्टी पाएको थियो । तर फेडेरिको भाल्भर्डेको प्रहार हिलाल गोलकिपर यासिन बोनोउले बचाए । रियाल स्टार स्ट्राइकर किलियन एम्बाप्पे विनानै मैदान उत्रिएको थियो । समूह एचमा रहेका रियाल र हिलालले एक-एक अंक बाँडेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.