सार्वजनिक संस्थानलाई अर्थमन्त्रीको निर्देशन- खर्च घटाउनू

माघ १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
सार्वजनिक संस्थानलाई अर्थमन्त्रीको निर्देशन- खर्च घटाउनू

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक संस्थानहरुलाई खर्च घटाउन भनेका छन् । मुलुकको आर्थिक अवस्था ठीक नभएकाले खर्च घटाएर त्यस्तो रकम पुँजी अभिवृद्धि गर्ने खालका काममा लगाउन भनेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले मन्त्रालय र मन्त्रीहरुले मात्रै खर्च घटाएर नहुने र देशको अप्ठ्यारोमा साथ दिन सबै सरकारी निकायहरुले खर्च कटौती गर्नुपर्ने बताए । साथै बैंकहरुको लगानी पनि अब नाफामा ध्यान दिएर भन्दा पनि त्यो लगानीले उत्पादन बढाउँछ या बढाउँदैन भनेर ख्याल गरेर मात्रै लगानी गर्नुपर्ने उनको भनाइ छ ।

साथै विपन्न वर्गको उत्थान गर्नेगरी कर्जा प्रवाह गर्नसमेत मन्त्रीले सुझाव दिएका छन् । सोही कार्यक्रममा आएका गभर्नर महाप्रसाद अधिकारीले भने निजी क्षेत्रका बैंकहरुले आकार बढाउँदै लगेका समयमा सरकारी लगानीमा सञ्चालनमा रहेका बैंकहरु साना नै रहेकाले भोलिका दिनमा प्रतिस्पर्धात्मक बन्न मर्जरमा जानुपर्ने सुझाव दिएका छन् ।

बैंकबाट सहुलियत ब्याजदरमा प्रदान भएको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रयोग नभएको बारे चर्चा उठेकाले यसमा राष्ट्र बैंकले स्वतन्त्र अध्ययन गर्न लागेको पनि जानकारी दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.