पूर्वी नेपालमा उत्पादन हुने अलैंचीको मूल्य सरकारले निर्धारण नगर्दा सधैं अस्थिर हुने गरेको छ। सामान्यतया उत्पादन गर्ने समयमा बढ्ने र बजारमा आएपछि मूल्य घट्ने गरेको थियो । तर यो वर्ष उत्पादनकै समयमा घटेपछि किसान त निरास छन् नै व्यापारीले यसअघि नै खरिद गरेको पनि गोदाममै थन्क्याएका छन् ।
भौगोलिक हिसाबले डोल्पा र हुम्लापछिको तेश्रो ठूलो हिमाली जिल्ला ताप्लेजुङ नेपालकै सबैभन्दा बढी अलैंची उत्पादन गर्ने जिल्ला हो । कृषि कार्यालयको तथ्यांक अनुसार यहाँ वाषिर्क २८ सय मनसम्म अलैंची उत्पादन हुन्छ । जबकि देशैभरिको उत्पादन छ हजार टन छ । तर, मूल्य घटेपछि यहाँका अधिकांश व्यापारीले गत वर्षको उत्पादन गोदाममै थन्क्याएका छन् ।
गोदाम गरेर राख्ने व्यापारी मात्र होइन, किसानले पनि व्यापारीका गोदाममा राखेका छन् । तर, भाउ काटेका छैनन । चोरी, आगलागीजस्ता डरले किसानले उत्पादन हुनासाथ शुल्क तिरेरै व्यापारीको गोदाममा राख्छन् र राम्रो मूल्य आउँदा बिक्री गर्छन् । ताप्लेजुङका व्यापारीले पनि झापाका ठूला व्यापारीको गोदाममा पुर्याउँछन् ।
नेपालमा उत्पादित ९८ प्रतिशत अलैंची भारतमा बिक्री हुन्छ । भारतीय व्यापारीले जस्तो मूल्य निर्धारण गर्छन्, त्यही मूल्य नेपाली व्यवसायी र किसानले पाउने हुन्छन्। गतवर्षको यही अवधिमा प्रतिमन ४८ हजार रुपैंयाँ रहेकोमा अहिले २८ हजारमा झरेको छ । जबकि २०६८/६९ सालमा यही अलैाचीको मूल्य प्रतिमन १ लाख २० हजार रुपैयाँसम्म पुगेको थियो ।