बुटवलमा ढुवानी ग्राम निर्माण

वैशाख १०, २०७९
बुटवलमा ढुवानी ग्राम निर्माण

पश्चिम क्षेत्रको व्यापारिक केन्द्र बुटवलमा व्यवस्थित ढुवानी ग्राम निर्माण गरिएको छ । जताततैबाट ढुवानी गर्दा बजार क्षेत्र र सडकमा ट्राफिक जाम गराउने र दुर्घटना बढाउने गरेपछि अहिले छुट्टै र व्यवस्थित ढुवानी ग्राम निर्माण गरिएको हो ।

बुटवल उपमहानगरपालिकाले बुटवल- १२ नयाँगाउँमा  २ बिगाह १६ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको ढुवानी ग्राममा व्यवसायका लागि ४९ वटा सेड छन् । पश्चिम क्षेत्रको व्यापारिक नाका बुटवलबाट देशका अधिकांश जिल्लामा सामान ढुवानी हुन्छ । 

सार्वजनीक नीजि साझेदारी मोडल अन्तरगत ढुवानी ग्राममा सेड निर्माण र संचालनको जिम्मा ढुवानी व्यवसायीको संस्था रुपन्देही परिवहन प्रालिले लिएको छ । प्रालिले सेड निर्माणमा ५० प्रतिशत अर्थात १३ करोड रुपैयाँसमेत लगानी गरेको छ । राजमार्ग क्षेत्रबाट साढे तीन किलोमिटर दूरिमा रहेको ग्रामले ढुवानीलाई समेत सरल बनाएको दावी गरिएको छ । 

ढुवानी ग्रामको संचालनले सामान ढुवानीका लागि फरक फरक ठाउँमा पठाउनुपर्ने र सामान हराउने समस्या हराएको छ । एकै ठाउँबाट मालसामान ढुवानी गर्दा क्रेता र बिक्रेतालाई पनि सहज भएको छ । 

वरिपरि तारबार घेरिएको ढुवानी ग्राममा पुग्न पहुँच मार्गसहित पानी, विद्युतीकरण, मालबाहक यातायातको  पार्किड. स्थल बनाइएको छ । ढुवानी ग्राम निर्माणले बुटवलमा बजार क्षेत्र व्यवस्थित र सुन्दर बनाउन सघाएको छ ।