सरकार आन्तरिक ऋण उठाउँदै

माघ १०, २०७८
सरकार आन्तरिक ऋण उठाउँदै

बैंकहरुमा लगानीयोग्य रकमको अभाव रहेका बेलामा सरकारले पनि आन्तरिक ऋण उठाउन सुरु गरेको छ । विकास बजेट खर्च गर्न नसकेको सरकारले उठाउने यस्तो ऋणले बजारमा झनै तरलता अभाव चर्काउने देखिन्छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय क्षेत्रमा ९ अर्बको हाराहारीमा मात्रै लगानीयोग्य रकम छ । बैंकिङ क्षेत्रले लगानीयोग्य रकमको अभाव झेलिरहेका बेलामा तिनै बैंक तथा वित्त संस्थाबाट सरकारले पनि आन्तरिक ऋण उठाउन थालेको छ । चालू आर्थिक वर्षमा २ खर्ब ३९ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको सरकारले पुषसम्म ६ अर्ब मात्रै उठाएको छ । यसबाहेक अबको चैत  सम्ममा सरकारले थप १ खर्ब ऋण उठाउन लागेको छ । जसका लागि सोमबार ८ अर्ब ६० करोडको बोलकबोल र  १० अर्ब बराबरको बिकास ऋणपत्र जारी गर्ने सूचना निकालेको छ । मंगलबार नै ट्रेजरी बिल र बिकास ऋणपत्र बोलकबोल गरिनेछ । राष्ट्र बैंक भने तरलतामा अभाव नपर्ने गरी ऋणपत्र जारी गर्ने दाबी गर्छ । 

सरकारले खर्च गर्न नसके पनि भोलिका दिनमा आइपर्ने खर्च टार्नका लागि यस्तो रकम जोहो गरेको हो । ढुकुटिमा भएको रकम खर्च नगर्ने र बजारमा भएको रकम पनि थप उठाउने हो भने लगानी  बिस्तारमा झनै बाधा उत्पन्न हुन सक्नेछ । 

सरकारले विकास खर्चमा तिब्रता दिने हो भने चाँहि यसरी उठाएको ऋणले बजारमा ठूलो प्रभाव पार्ने छैन । तर, ऋण उठाएर ढुकुटिमा मात्र थुपारियो भने त्यसले लगानी विस्तारमा प्रभाव मात्रै पार्ने छैन, आर्थिक बृद्धिमा पनि नकारात्मक असर पार्ने छ ।