नोबेल शान्ति पुरस्कार विजेताकै देशमा किन मच्चिरहेछ गृहयुद्ध ?

श्रावण १२, २०८१ |अमृत दाहाल
नोबेल शान्ति पुरस्कार विजेताकै देशमा किन मच्चिरहेछ गृहयुद्ध ?

‘म्यान्मारका विभिन्न राज्य, नगरहरुमा हामी म्यान्माली नेपाली बाक्लो गरी बसोबास गर्दै आएका छौं । मोगोक नगर, जहाँ नेपालीहरु आफ्नै मौलिक परम्परामा रमाइरहेका छन् । जनसेना र क्रुर सेनामाझ भिषण युद्धका कारण घर–घरमा बम-बारुद बिस्फोट भएको छ, नेपाली भाषीहरुको पनि मृत्यु भएको छ ।’

म्यानमारकी नेपालीभाषी पत्रकार सुधा अत्रीले सामाजिक सञ्जालमा लेखेका शब्द हुन् यी ।

सन् २०२१ को फेब्रुअरी १ मा सेनाले ‘कू’ गरेयता ८७ प्रतिशतभन्दा बढी बौद्धमार्गी भएको यो दक्षिणपूर्वी एसियाली मुलुक गृहयुद्धको चपेटामा छ । दर्जनौं सशस्त्र समूह सरकारी सेनाविरुद्ध लडिरहेका छन् भने सरकारी सेनाले पनि अमानवीय तरिकाले दमन गरेको दाबीसहितका तस्बिर सार्वजनिक भइरहेका छन् । यो गृहयुद्धमा अहिलेसम्म ५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । हजारौं घाइते भएका छन् । बेपत्ता, हिरासतमा रहेकाहरु तथा क्षतिग्रस्त भौतिक संरचनाको त हिसाबकिताब नै छैन ।

यो युद्धमा माण्डले, मोगोकलगायतका नेपालीको बाक्लो बसोबास रहेका सहर पनि प्रभावित छन् । पत्रकार अत्रीका अनुसार सेनाले कू गरेको १२ सय १४ दिनको अन्तरालमा ५ हजार १ सय ६० जनाको हत्या भइसकेको छ, जसमा दुई दर्जनभन्दा बढी गोर्खाली छन् । केही दिनअघिमात्र मोगोक नगर विद्रोही सेनाको नियन्त्रणमा आएको छ । स्थानीयले विद्रोही सेनालाई स्वागत गरेका तस्बिर सार्वजनिक भएका छन् । तर, यहाँ सरकारी सेनाले कतिखेर हवाई आक्रमण गर्छ भन्ने त्रासको अवस्था सकिएको छैन ।

म्यान्मारको जातीय सशस्त्र सेना काचिन इन्डिपेन्डेन्स आर्मी (केआईए)मा गोर्खालीसमेत सामेल भएर युद्ध लडिरहेका छन् ।

कसरी सुरु भयो पछिल्लो गृहयुद्ध ?

सन् २०२० को नोभेम्बरमा भएको संसदीय निर्वाचनमा आङ सान सू ची नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले संसद्को ४ सय ७६ सिटमध्ये अधिकांशमा जित हासिल गर्‍यो । तर, सेना समर्थक युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी) जम्मा ३३ सिटमा खुम्चियो ।

यूएसडीपीले नतिजा अस्वीकार गर्दै पुनः निर्वाचनका लागि सेनासमक्ष माग गर्‍यो । यस्तै, निर्वाचनमा भाग लिएका ९० दलमध्ये १५ भन्दा बढीले निर्वाचनमा अनियमितता भएको दाबी गरे । पर्यवेक्षकहरुले कुनै धाँधली नभएको दाबी गरिरहँदा पनि सेना र सेनासमर्थित यूएसडीपीले धाँधली भएको बताउन छाडेन । नयाँ संसद्ले कार्यभार सम्हाल्नुअघि २०२१ को जनवरीमा एनएलडीले सू ची पुनः स्टेट काउन्सिलर (सन् २०११ पछि संवैधानिक रुपमा सिर्जना गरिएको प्रधानमन्त्रीसरहको पद) बन्ने घोषणा गर्‍यो । अघिल्लो कार्यकालमा पनि सू ची सोही पदमा थिइन् ।

सन् २०२१ को फेब्रुअरी १ का दिन संसद्मा सपथको कार्यक्रम तयारी हुँदै थियो । सेनाले अचानक ‘कू’ गर्दै सू ची र सत्तारुढ दलका अन्य नेताहरुलाई हिरासतमा लियो र सेना प्रमुख मिन आङ लिङलाई सत्ता हस्तान्तरण गर्‍यो । त्यसपछि देशमा संकटकाल घोषणा गरियो ।

सेनाले कू गरेको दोस्रो दिनदेखि नै हजारौं प्रदर्शनकारीले राजधानी यांगुनका सडकमा मार्च गरे । सँगै, अन्य सहरमा पनि सरकारविरोधी आन्दोलन चर्कियो । पहिलो साता सम्ममा सरकारी कर्मचारी, शिक्षक, विद्यार्थी, कामदार, बौद्ध भिक्षु तथा धार्मिक नेताहरु आन्दोलनमा मिसिइसकेका थिए ।

लगत्तै संयुक्त राष्ट्र संघले पनि सैन्य कूको निन्दा गर्‍यो । अमेरिकाले सेना र यसका नेताका नाममा अमेरिकामा रहेको १ अर्ब डलर रोक्का गर्ने चेतावनी दियो । राष्ट्रसंघीय सुरक्षा परिषद्ले नेतृ सू ची लगायत हिरासतमा रहेका नेताहरुको रिहाइका लागि दबाब दिन प्रस्ताव नै पारित गर्‍यो । अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकायले म्यान्मारस“गको कूटनीतिक सम्बन्ध विच्छेद गरे ।

त्यसपछि कू हुनुअघि संसद्‍मा रहेका प्रजातान्त्रिक दल मिलेर नेसनल युनिटी गभर्मेन्ट (एनयूजी) गठन गरे । एनयूजीले ५ मे २०२१ मा आफ्नो सैन्य विभाग गठनको घोषणा गर्‍यो । जसलाई पिपल्स डिफेन्स फोर्स (पीडीएफ) भनियो, यहीँबाट नै सुरु भयो म्यान्मारमा गृहयुद्धको सिलसिला । एनयूजी र पीडीएफले सेप्टेम्बर २०२१ मा सैन्य सरकारविरुद्ध प्रतिरक्षा युद्ध नै घोषणा गरे । कूको एक वर्ष पुगेको अवसरमा गरेको सम्बोधनमा सेना प्रमुख मिन आङले एक तिहाई शहरमा सरकारी नियन्त्रण गुमेको बताएका थिए । स्वतन्त्र पर्यवेक्षकले त ३ सय ३० सहरमध्ये जम्मा ७२ वटा सहरमा मात्र सरकारी नियन्त्रण रहेको दाबी गरेका थिए ।

सरकारविरुद्ध को–को लडिरहेका छन् ?

विपक्षी राष्ट्रिय एकताको सरकार एनयूजीका तर्फबाट पीडीएफका अतिरिक्त चिनल्यान्ड डिफेन्स फोर्स, चिन नेशनल डिफेन्स फोर्स छ भने त्यसका विरुद्ध अन्य जातीय समूहहरु कचिन इन्डिपेन्डेन्स आर्मी, ब्रदरहुड अलायन्स, अर्कान आर्मी, म्यान्मार नेसनल डेमोक्रेटिक अलायन्स आर्मी, ताङ नेसनल आर्मी, करेन नेसनल लिबरेसन आर्मी, बामर पिपल्स लिबरेसन आर्मी लडिरहेका छन् ।

सरकारी पक्षबाट पा ओ नेसनल आर्मी, करेन नेसनल आर्मी, शान्नी नेसनालिटिज आर्मी, जुमी रेभुलसनरी आर्मी लगायत छन् ।

कस्तो छ मानवीय अवस्था ?

गृहयुद्धयता म्यान्मारमा मानव अधिकारको अवस्था अत्यन्त दयनीय छ । सरकारी सेनाले हत्या, सामूहिक हत्या, यौन हिंसा, यातना, हिरासत, धार्मिक तथा नागरिक संरचनामा आक्रमण गरेको दाबी सहितका तस्बिर सार्वजनिक भइरहेका छन् भने प्रतिरोधमा उत्रिएका दुवै पक्षका सशस्त्र समूहहरुले विद्यालयलाई हिरासत कक्ष बनाएका छन् । यस्तै, सरकारी सेनाले अहिले व्यापक रुपमा बस्तीहरुमा हवाई आक्रमण गर्ने गरेको र निर्दोष मारिने गरेका तस्बिर सार्वजनिक गरेका छन् । युक्रेन र रुसबीचको युद्धमा बमवर्षक विमानले आक्रमण गरेजस्तै दृश्य दिनहुँ देखिने गरेका छन् । सैन्य सरकारले बमवर्षक विमानले आफ्नै नागरिकको बस्तीमा बम खसाइरहेको छ ।

सन् २०२२ को जुनसम्मको तथ्यांकअनुसार म्यान्मारमा ७८ लाख बालबालिका विद्यालय जानबाट वञ्चित छन् । १३ लाख आन्तरिक विस्थापित भएका छन् । मार्च २०२३ को राष्ट्र संघको अनुमानअनुसार १ करोड ७६ लाख नागरिकलाई मानवीय सहायता आवश्यक छ भने १६ लाख विस्थापित छन् । ५५ हजार नागरिकका संरचना ध्वस्त भएका छन् ।

नोबेल शान्ति पुरस्कार विजेता आङ सान सू चीको देश म्यान्मारमा गृहयुद्धको यो श्रृंखला कहिले अन्त्य हुन्छ र शान्ति कहिले कायम हुन्छ अझै भन्न सकिने अवस्था छैन ।


Image

अमृत दाहाल

दाहाल कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।