जति माया लाए पनि…आफ्नो हुन नसकेको अरुणको माया

श्रावण ५, २०८१ |मणि लोहनी
जति माया लाए पनि…आफ्नो हुन नसकेको अरुणको माया

जतिबेला मैले उनलाई पहिलो पल्ट भेटेँ त्यतिखेर उनी चर्चित र लोकप्रिय गायक थिए । २०३८–३९ का ती दिनहरु... कपडाको टाइट पेन्ट, पेन्टले नचेपेको सर्ट र छालाको टपबुटमा उनी किसिमले ठाँटिएका हुन्थे । र म हातभरि गुच्चा बोकेर स्कुल जाँदै हुन्थे ।

साथीहरुसँग हुल बाँधेर निद्रासँग लड्दै बसेका हामी भुराहरु आँखा मिच्दै अरुण दाइलाई आँखा र कानले एकसाथ हेरिरहन्थ्यौं, सुनिरहन्थ्यौं । उनी गीत सिध्याउँथे । हामी ‘वन्स मोर’ भनेर चिच्याउँथ्यौं । तीन कक्षामा आएर ‘ए बी सी डी’ पढ्न थालेका हामी भुराहरुलाई वन्समोरको अर्थ के थाहा त्यतिखेर ? र के थाहा ‘जति माया लाए पनि...’ भन्ने कुराहरु ? र पनि रमाई-रमाई हामी कार्यक्रममा बस्थ्यौं । त्यसताका टोल टोलमा सांस्कृतिक कार्यक्रमहरु हुन्थे । विभिन्न अवसर पारेर साँझमा हुने त्यस्ता कार्यक्रमका मुख्य आकर्षणमा हुन्थे गायक अरुण थापा ।

माया प्रेम के हो ? थाहै नभएको हामी केटाकेटीलाई के थाह ? ती चोटका करुण शब्दहरु ? त्यसो त मलाई उनका बाक्ला कपाल मुन्तिरका चिम्सा आँखा मन पर्थ्यो । गीत गाउने क्रममा खुम्चिँदा-खुम्चिँदै आँखै चिम्लेजस्तो लाग्थ्यो । र मन पराउँथेँ म गीतका शब्दहरु निकाल्दा गालामा चोरी औंला पूरै छिर्न सक्ने डिम्पल परेको खाल्डोलाई ।

वास्तवमा मन परेको व्यक्तिको सम्पूर्णता नै मन पर्दो रहेछ । गितार बोकेका ती हात, कलर मैलिएको ध्वाँसे रङको कोट, पोलिस नपोखिएको जुत्ता, दारी नपलाएको त्यो मगर अनुहार । सबै प्रिय लाग्थे । हामी भुराहरु, मात्र उनको स्वर मन पराउँथ्यौं । शब्दसँग डुब्दै उत्रँदै गरिरहेको उनको स्वर सुनेर मख्ख पर्थ्यौं । त्यही त आनन्द थियो केटाकेटी हुनुको । त्यो बुद्ध नबनिसकेको सिद्धर्थको उमेर । न केही पीर न केही चिन्ता, हाँस्यो खेल्यो रमाइलो गर्यो । अब फर्काउन चाहेर पो कहाँ फर्किन्छन् र ती दिनहरु । अनुभूतिको बोझले थिच्दै जाने जिन्दगी समयसँगै बग्दो रहेछ ।

उनीसँग अक्सर झम्सिेखेलको गणेशस्थानमा भेट हुन्थ्यो । उनी मुस्कुराउँथे, मलाई रमाइलो लाग्थ्यो । जब मैले ‘ऋतुहरुमा तिमी...’ गाउने गायक उनी नै हुन् भन्ने थाहा पाएँ तब उनलाई भेट्नकै लागि गणेशस्थान हुँदै स्कुल जाने क्रम बढ्न थाल्यो । विस्तारै-विस्तारै उनलाई गणेशस्थानमा भेटिन छाड्यो । र पुरानो शान्तभवनको गल्लीहरुमा देखिन थाल्यो । रक्सीका मातहरुमा । सिसीका साथहरुमा ।

जब मैले स्कुलको पढाइ सकेँ । तब सुने अरुण थापा ड्रग्स केसमा समातिए । कलेजका प्रारम्भिक दिनहरु सकिएपछि म रंगपत्रकारितामा सामेल भएँ । र एउटा सिने पत्रिकाका लागि मैले अरुण दाइलाई भेटेँ । जेलबाहिरको अरुणलाई । ड्रग्सहरुले बेरिएको अरुणलाई । ब्राउन सुगर तानेर लठिठ्एको आँखाहरुले उनी बोल्दै थिए, ‘साला, यो जिन्दगी मेरो फेवरमा छैन ।’

त्यसो त यो जिन्दगी कसैको फेवरमा पनि छैन । अझ इमानदार हुने र आफ्नो आत्मसम्मानमा रहन रुचाउने जो कोहीले पलपलमा हन्डर खानुपर्छ । पाइला-पाइलामा ठोकिनु र लड्नुपर्छ ।

सबैलाई एउटा-एउटा रिक्तता दिने गरेको छ जिन्दगीले । त्यही रिक्ततामा कोही सधैं जिन्दगी आफ्नो फेवरमा नभएको गुनासो गर्छन् र कोही सकेसम्म जिन्दगीलाई आफ्नोअनुकूल बनाउन प्रयास गरिरहन्छन् । अनगिन्ती भावुकता समेटिएको मान्छे कहिले आँसु भएर पोखिन्छ, त कहिले गीत-गजल भएर, या फेरि कथा कविता र आख्यानमा छताछुल्ल हुन पुग्छ । यसरी पोखिने क्रमले उसलाई जिन्दगी जिउन केही सहज बनाएको हुन्छ । त्यसो त पोखिनलाई साहित्य, संगीत र कला मात्र होइन । अरु धेरै सन्दर्भ र संयोगहरु पनि छन् ।

तर कला, साहित्य र संगीतमा पोखिनु भनेको पोखिनु मात्र होइन, भरिनु पनि हो । आफ्ना दुःखहरुलाई, अनुभूतिहरुलाई अरुका दुःख र अनुभूतिसँग साट्नु पनि हो । यसले मानिसलाई मानिससँग जोडिन सहयोग पुर्‍याउँछ । यसरी गीत गाएर जिन्दगी सहज बनाउने प्रयासमा थिए गायक अरुण थापा ।

त्यसो त उनी पोखरामा हुर्किएका हुन् । पृथ्वीनारायण क्याम्पसका विद्यार्थी थापा बेलाबेलामा क्याम्पसमा सांगीतिक प्रस्तुति दिइरहन्थे । थापाका सुमधुरगीतहरू सुनेपछि उनीसँग प्रभावित एक स्थानीय महिलासँग प्रेम विवाह पनि भयो । परिवारको इच्छा विपरीतको अन्तरजातीय विवाहका कारण उनी ठुलो झमेलामा परे । ती महिलालाई फिर्ता गर्ने सर्तमा केही समयका लागि थापाबाट अलग गरियो । तर पछि परिवारले ती महिलाको अन्तै विवाह गरिदियो ।

यसबाट मर्माहत उनी दुर्व्यवसनमा लागे र उनले मुटु थिचेर आफ्नो जीवनसँग मिल्ने ‘जति माया लाए पनि, जति कसम खाए पनि (शब्द विनोद गौचन, संगीत अरुण थापा) गीत गाए। दर्दले भरिएको उनको स्वरमा यो गीत कालजयी बन्यो ।

२०३४ सालमा घनिष्ठ मित्र विक्रम गुरुङको शब्दमा सजिएको ‘आँखाको निद खोसी लाने...’ बोलको गीत गाएर उनले रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेका हुन् । तर विनोद गौचन रचित ‘जति माया लाए पनि, जति कसम खाए पनि...’ गीत रेडियोबाट बज्न थालेपछि भने उनी सुपरस्टार गायक बन्न पुगे। अर्थात् उनको पीडाले नै उनलाई सुपरस्टार बनायो । रेकर्डअघि नै उनले योलगायत गीत स्टेजमा पटक–पटक गाएर ख्याति कमाइसकेका थिए।

सांगीतिक क्षेत्रमा स्थापित भए पनि उनको पारिवारिक जीवन भने निराश नै रह्यो । जीविकोपार्जनका लागि उनले २०४० सालताका सोल्टी होटेलको क्यासिनोमा पनि जागिर खाए । पहिलो विवाह असफल भएको केही वर्षपछि थापाले दोस्रो विवाह गरे । दोस्रो विवाह उनले मेरै कक्षामा पढ्ने मेरो साथीको दिदीसँग गरेका थिए । तर, त्यो वैवाहिक सम्बन्ध पनि लामो समय टिक्न सकेन । पारिवारिक बिछोड र एक्लोपनबाट मुक्ति पाउन उनले अन्ततः मादक तथा लागुपदार्थ रोजे।

गायक अरुण थापा एउटा असफल प्रेमी थिए । प्रेममा कतैबाट कहीँ पनि सफल हुन सकेनन् । प्रेमको यही असफलताले उनलाई सफल गायक बनाए पनि श्रीमान् र बाबुका रुपमा असफल बनाइदियो । श्रीमती र छोरी भएर पनि एक्लो हुन पुगेका उनी लाखौं स्रोताको माझमा निरीह र एकांकी बाँचे । स्वरमा उनी क्षमतावान् थिए । शब्द छनोटमा अझ निपूर्ण । प्रेमवियोगका गीतहरु गाएर उनी असफलताहरुको भिडमा सफल बने । प्रेममा हारेकाहरुका माझ उनी प्रिय बने । र पनि, जिन्दगीमा उनले कहिल्यै प्रेमको सुख पाएनन् । सायद प्रेम नै उनको पहिलो र अन्तिम चाहना थियो । प्रेमकै मृगतृष्णामा सायद उनी बाँचे र अन्ततः मरे पनि ।

हो यी अजम्बरी गायकले भनेजस्तै यो जिन्दगी कसैको फेवरमा छैन ।

अहिले टेलिभिजन, एफएम युट्युबहरुमा उनका अजर-अमर गीतहरु बजिरहन्छन् । अरुण दाइको बनावटी सामीप्यता बोकेर कहिले-काहीँ शब्दहरुमा अखबार पाना र अनलाइनका भित्ताहरु रंगिने गरेका छन् ।

सानेपा, धोबिघाट, झम्सिखेल, भनिमण्डल र जाउलाखेलको चार दोबाटोमा पुग्दा आज पनि अरुण दाइले कार्यक्रमको अन्तमा गाउने गरेको ‘भुलुँभुलुँ लाग्यो मलाई...’ भन्ने गीत आँखैअगाडि आएर गुज्रन्छ । त्यसताका टोल-टोलमा सांस्कृतिक कार्यक्रमहरु हुन्थे ।

झम्सिखेलबाट सानेपा जाने बाटोको तीनदोबाटो नजिकको अरुण दाइको भुइँतले घर मेरीगोल्ड स्कुललाई बेच्दाको क्षण होस् या अरुण दाइकी एक्ली छोरी करुणाले त्यसताका तोतेबोलीमा मणि मामा भनेको क्षण होस् सम्झिँदा अहिले पनि कता-कता मन दुखेर आउँछ ।

ती सुन्दरी दुई भाउजू जसको माया अरुण दाइसँग सफल हुन सकेन र गायक अरुण बनाउन चोटैचोटहरु रोपेर गए । ती भाउजूले अरुण दाइको लत्रिएको गीतारको तारलाई झैं जिन्दगीलाई कस्न मद्दत गरिदिएको मात्र भए वा अरुण दाइले पनि कस्न सहयोग लिएको भए पनि जिन्दगीसँग भाग्दै पराजित भएर ढल्नु पर्दैन थियो होला भन्ने लाग्छ । प्रेमको करौंतीले रेटिँदा-रेटिँदा उनी प्रिय गायक त भए तर डरलाग्दो ड्रग्स एडिक्ट पनि बने । पछिल्लो समय एक जमानाका धनाढ्य व्यक्ति बसपार्कका सस्ता ओच्छ्यानमा भोक र प्यासहरु खेप्दै सकिन लागेको कलेजो फेरि पलाउने धिपधिपे आशामा भिखारीको जीवन बाँचिरहे ।

मान्छेलाई स्वार्थै स्वार्थको पुञ्ज भने पनि हुन्छ । सम्पन्नता रहुञ्जेल पछि लाग्ने, सिद्धिएपछि समातेको हात पनि छोडिदिने यहाँ धेरै छन्...असंख्य । गायक अरुण थापाले गीत गाउन्जेल उनको वाह-वाहमा समय बिताउनेहरु धेरै थिए । तर जब उनी जीवनसँग दिक्किएर ड्रग्ससँगै भौंतारिन थाले, उनलाई सम्हाल्ने कोही भएनन् । उनलाई सबैले बिर्सिंदै गए । भुल्दै गए ।

२०५६ साल असारको अन्तिम साता उनी क्षतविक्षत कलेजो र रगतविहीन जिउँदो शरीर लिएर मृत्युलाई जित्ने प्रयास गरिरहेका थिए । बाँच्नका लागि ग्लुकोज र जुस पिउनुपर्ने उनका अन्तिम दिनहरुमा पनि उनलाई आफ्नो ठानिदिने कोही भएनन् । धन्य हुन् ती अमृत गुरुङ, ईश्वर गुरुङ, किशोर गुरुङ र मुना श्रेष्ठ जसले अरुण थापालाई अन्तिम अवस्थामा साथ दिए ।

हजारौं प्रेम वियोगले तड्पिएका प्रेमीहरु उनका गीतमा आफूलाई भुलाउँदै गर्दा मलाई बसपार्कको पुरानो गेस्टहाउसको सामान्य कोठामा ग्लुकोज नपाएर छटपटाइरहेका अरुण थापाको सम्झना हुन्छ । देशको एउटा विशिष्ट प्रतिभा औषधिसमेत खान नपाएर तड्पिरहँदा कहाँ थिए होलान् उनका ती लाखौंलाख स्रोता ? कलाकारको सम्मान र संरक्षणमा जुट्नुपर्ने सरकारी निकाय ?

हेपाटाइटिस बीलगायत घातक रोगहरूसँग जुध्दाजुध्दै उनले २०५६ साउन ५ मा देहत्याग गरे ।

आज साउन ५ गते म उनलाई सम्झिरहँदा सोच्छु, जतिखेर उनको छाती फुट्ला झैं गरेर दुखिरहेथ्यो, ती मानिसहरु जो उनको शवयात्रामा सामेल थिए- एकै दिनअघिसम्म पनि किन उनलाई साथ दिइरहेका थिएनन्, किन सम्झेनन् उनलाई तिनीहरुले ? किन एउटा राम्रो र योग्य व्यक्तिले अयोग्य मृत्यु भोग्नुपर्‍यो– एउटा दुःखद र त्रासदीपूर्ण मृत्यु ।


Image

मणि लोहनी

लोहनी कान्तिपुर टीभीमा कार्यरत छन् ।