ब्लग : यस्तो रह्यो ६ दिन र ५ रातको भारतको शैक्षिक भ्रमण

असार २७, २०८१
ब्लग : यस्तो रह्यो ६ दिन र ५ रातको भारतको शैक्षिक भ्रमण

हेमदा पाण्डे

...

कक्षा ९ मा हामीले ‘त्यस बखतको नेपाल’ पढिरहेका छौं । त्यसले नेपालमा भएको राणा शासनको अन्तिम तीन दशकको व्याख्या गरेको छ । त्यहाँ नेपाल र अंङ्ग्रेजबीचका सन्धि, द्वन्द्व, दुई सरकारबीचको सम्बन्ध आदिको वर्णन गरिएको छ । हाम्रो विद्यालय युलेन्सले किताबको विषयअनुसार र सामाजिक अध्ययनमा हामीले सिक्ने विषयबारे पूर्वज्ञान दिन यस भारत भ्रमणको आयोजना गरेका थिए ।

अधिकांश विद्यार्थी कहिले साथीसँग त कहिले परिवारसँग कतिपय पटक भारत गइसकेका थिए । अनि परिवारमाथि आर्थिक बोझ नपरोस् भनेर आधा कक्षाजति भ्रमणमा सम्मिलित भएनन् । बाँकीका विद्यार्थी शिक्षकसँग भारत यात्रामा निस्के । यो यात्रा ६ दिन र ५ रातको थियो ।

पहिलो दिन

पहिलो दिन जुन ६, हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानको साढे १० बजे भेला भयौं । सबै उत्साहले गदगद् थिए । सबै विद्यार्थी र शिक्षकहरु पुगेपछि परिवारलाई विदा गर्दै हामी भित्र पस्यौं ।

सुरक्षा जाँच, बोर्डिङ पास र अध्यागमनपश्चात् यात्रु प्रतीक्षालयमा साढे १ को बोर्डिङको प्रतीक्षा गर्यौं । विमानमा हामीलाई खाना दिइयो । खाना मीठो थियो । हाम्रो उडान ढिला भएकाले साढे ३ बजे दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आवगमन भयो ।

त्यो विमानस्थल विशाल थियो । त्यहाँको वास्तुकलाले भारतको संस्कृति तथा मूल्यमान्यतालाई राम्ररी दर्शाएको थियो । विमानस्थलबाहिर जानेबित्तिकै हिटरभित्र पसेजसो लाग्यो । फेरि बस चढेपछि शीतल भयो । गीत सुन्दै गाइडको कुरामा ध्यान दिँदै होटेलसम्म पुगियो । हामीले रात अशोक कन्ट्री रिसोर्टमा बितायौं ।

दोस्रो दिन

भारतको भ्रमण गर्न सबै आतुर थिए । बिहान साढे ६ बजे नास्ता गरेर हामी देहरादुनतर्फ लाग्यौं । देहरादूनको बाटो हरियालीले भरिएको थियो । रुखले ढाकेका डाँडादेखि फसल रोपेका खेत प्रस्ट गरी देखिन्थे । यात्रा ६ घण्टाको थियो तर गन्तव्यस्थल पुग्नु भन्दा २० मिनेटअगाडि जाम पर्यो । बल्ल ४ बजे रिजेन्टा होटेल पुगियो र दिउँसोको खाना खाइयो । वास्तवमा त्यो दिन हामी वन संस्था जाने योजना थियो तर संस्था साढे ४ बजे बन्द हुन्थ्यो । त्यसैले हामी देहरादून मल जान रोज्यौं । हामीले त्यहाँ साढे ५ बजेसम्म किनमेल गर्यौं र रातिको खानाको लागि होटेल फर्कियौं ।

तेस्रो दिन

यात्रा वास्तवमा आज सुरु हुने थियो । बिहानको नास्ता साढे ६ बजे सुरु भयो । त्यसपश्चात् हामीले आफूलाई ६ जनाको समूहमा विभाजित गर्यौं र ट्याक्सीद्वारा खलंगा युद्ध स्मारकमा पुग्यौं । त्यहाँ हामीले युद्ध र स्मारकको इतिहास वर्णन गाइडबाट सुन्यौं । खलंगा युद्ध स्मारक इतिहासमा एकमात्र सहिद स्मारक हो जहाँ विजयी सेनाले आफ्ना सेनापति जिलास्पीको सम्झनामा तथा अंग्रेज सेनाका अन्य सेनाका सैनिकहरू साथै गोरखा सेनापति बलभद्र कुँवरका साथै त्यस युद्धमा बहादुरीसाथ लडेका अन्य गोर्खाली, महिला र बालबालिकाको सम्झनामा रिस्पना नदीको किनारमा बनाएका थिए ।

तत्‌पश्चात् हामी नालापानी किल्लातर्फ लाग्यौं । केहीबेरको पदयात्रा पछि हामी किल्लामा पुग्यौं । त्यहाँ हामी तत्काल उभिएको भूमिको महत्त्वबारे बुझ्यौं । त्यसपछि गोर्खालीहरू र हाम्रो भूमिलाई सम्मान गर्न हामीले नालापानी कविता वाचन गर्यौं । नेपालको राष्ट्रिय गान गायौं । रातो र चन्द्र सूर्य गाउँदै हामी डाँडा तल झर्यौं । त्यसपछि खाना खान होटेल फर्कियौं ।

खानापश्चात् ट्याक्सीद्वारा हामी मसुरी गयौं । त्यहाँ हामीले किनमेल गर्यौं । त्यहाँ धेरै पसल थिए जसमा सल, पन्चु, टोकरी, काठको पुतली, सजावटहरु, झुम्का, झोला, इत्यादि जस्ता हस्तनिर्मित सरसामानको बिक्री भइरहेको थियो । साँझ हामी होटेल फर्कियौं, खाना खायौं अनि सुत्यौं ।

चौथो दिन

अर्को दिन हामी अमृतसरको यात्रामा लाग्यौं । हरेक बिहानझैं नास्ता साढे ६ बजेको थियो, तर केही विद्यार्थी नउठेकाले हामी ढिलो भयौं । यो यात्रा १० घण्टाको थियो । दिउँसोको खाना हामीले म्याक डोनेल्समा खायौं ।

त्यस दिनको हाम्रो पहिलो गन्तव्यस्थल बाघा सीमा थियो । सीमा अमृतसरबाट बत्तीस किलोमिटरको दूरीमा छ । यसलाई बाघा सीमा (पाकिस्तानको वाहगा गाउँको नामबाट) वा अटारी सीमा (भारतको अटारीको नामबाट) पनि भनिन्छ । त्यहाँ हरेक साँझ समारोहको आयोजना गरिन्छ जसको सुरुवात दुवै देशले आफ्ना सैन्य शक्तिको प्रदर्शन गरि गरिन्छ । समारोहको अन्त्य भारत र पाकिस्तान दुवैको झन्डा सँगै उतारेर गरिन्छ । हामी ढिलो भएकाले झन्डै समारोह छुटाएनौं । दुवै देशको झन्डा फरफर सुनौलो अम्बरमा उडिरहेको देख्दा नेपालको याद आयो । त्यसपछि स्वर्ण मन्दिर दर्शनअघि हामी खानाका लागि होटेल गयौं ।

अटोरिक्सा लिएर हामी मन्दिर पुग्यौं । केही विद्यार्थीले कुर्था लगाएका थिए भने अरूले टिसर्ट र प्यान्ट लगाएर टाउकोमा सल बेरेका थिए । आफ्नै सल नबोकेका विद्यार्थीले मन्दिरमा सल पाए । हामी झन्डै मन्दिर बाहिर त्यस्ता सलहरू सित्तैमा बेच्ने र पछि त्यसको लागि पैसा लिने केही मानिसद्वारा ठगियौं । मन्दिर बाहिरको बजार झिलमिल थियो । मन्दिर छिर्नुभन्दा अघि हामीले काउन्टरमा जुत्ता छोड्यौं र हातखुट्टा धोयौं ।

मन्दिरभित्रको संग्रहालय पार गरेर आफू समक्षको दृश्य अवलोकन गर्दै मन्दिरको परिक्रमा लगायौं । त्यहाँ अमृत सरोवरको बीचमा सुनका पन्नीले ढाकेको मन्दिरको चमक मध्यरातको अँध्यारोमा मन लोभ्याउने थियो । त्यो सिख धर्मावलम्बीले पूजा गर्ने धार्मिकस्थल थियो । मन्दिरभित्र गुरुग्रन्थ साहिब राखिन्छ । सरोवरको चिसो पानीमा भक्तजनले डुब्की लगाइरहेका थिए ।

मन्दिरबाहिर हामीले सबै विद्यार्थी र शिक्षकहरुको प्रतीक्षा गर्यौं । सबैजना भेटिएपछि थकाइ र निद्राले लोलाएका आँखा लिई हामी होटेल फर्कियौं ।

पाँचौं दिन

केही घण्टा सुतेपछि हामी बिहान साढे ६ मा नास्ता गर्न उठ्यौं । त्यसपछि हामी अमृतसरबाट नयाँ दिल्ली गयौं । बाटोमा हामी पुरानो दिल्लीबाट गुज्रियौं, जुन मुगलहरुको शासनकालमा बनाइएको थियो अनि मात्र नयाँदिल्ली पुग्यौं जुन अंग्रेजहरूले बनाएका थिए । रातिको अपूर्ण निद्रा हामीले दिउँसोभर सुतेर पूर्ण गर्यौं । दिल्लीमा हामी आम्बिएन्स मलमा किनमेल गर्यौं । शीतल मलबाट बाहिर निस्कँदा रातिको हावा न्यानो थियो । हामीले रात अशोक कन्ट्री रिसोर्टमा बितायौं । होटेल पुगेर हामी सामान मिलाएर सुत्यौं ।

छैटौं दिन

अर्को बिहान नास्ता साढे ६ बजे हुनुपर्ने थियो तर सबै जना ढिलो उठेछन् । सात बजे नास्ता खाई हामी यात्रामा लाग्यौं । आज भारतलाई बिदा गर्ने दिन थियो ।

यात्राका क्रममा हामीले प्रधानमन्त्री मोदीको घर र इन्डिया गेटलगायत महत्त्वपूर्ण संरचना पार गर्यौं । त्यसपछि हामी लालकिल्ला गयौं । त्यो सुन्दर देहाती रातो रङका इँटाले बनेको किल्ला थियो । यो किल्लाले मुगल युगको वास्तुकला दर्शाएको थियो । हामी किल्लाभित्र पनि गयौं । त्यहाँभित्र सुन्दर बगैंचा थियो त भवनभित्र चुरा, हार, झुम्का, झोला, बेल्ट, सजावटी वस्तुलगायत सामान सस्तो मूल्यमा बेच्ने पसलहरू थिए ।

त्यसपश्चात हामी रेस्टुरेन्टमा खाना खायौं । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट हाम्रो नेपाल उडान हुनेथ्यो । बोर्डिङ पास र अध्यागमनपश्चात् बोर्डिङ हुन समय बाँकी रहेकाले हामीले ड्युटी फ्रिमा किनमेल गर्यौं । हामी ४:४० बजे विमान चढ्यौं र करिब ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्यौं ।

आ-आफ्ना परिवारजन तथा अभिभावकसँग भेट भएपछि आ-आफ्नै घरको बाटो लाग्यौं, यो यात्राको अविस्मरणीय स्मृति साथमा बोकी ।

* पाण्डे युलेन्स स्कुल, ललितपुरमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।


Enter Kantipur TV HD
Advertisement