कर्णाली : धरोहर-मनोहर, मागेको पैसाले देश बन्दैन !

फाल्गुन ६, २०८० |प्रा.डा. राजाराम सुवेदी
कर्णाली : धरोहर-मनोहर, मागेको पैसाले देश बन्दैन !

कर्णाली प्रदेशको बृहत् स्वरुप भन्नाले राप्ती नदीदेखि महाकाली नदीसम्मको भूभागलाई बुझाउँछ । तर आधुनिक नेपाललाई सात प्रदेशमा विभाजन गर्दा कर्णाली प्रदेशको आकार सानो बन्न गएको छ । त्यसपूर्व पञ्चायतकालभर महाकाली, कर्णाली र भेरी अञ्चल भन्ने छुट्टै प्रशासनिक एकाइहरु थिए । कर्णाली प्रदेशलाई जहिले पनि निर्धो, पछौटे, अविकसित, प्रोत्साहन नपाएको, ठगिएको, केन्द्रबाट उपेक्षित, विकासको गतिमा पछि परेको, सभ्यताको दौडमा पछि परेको, गरिबीले सताइएको, उत्पादनमा न्यूनता भएको, जस्ता विशेषणहरुले पहिचान गराउँदै आइएको छ । तर कर्णालीका उज्याला पक्षका बारेमा मानिसको दृष्टिकोण सकारात्मक रुपले मूल्यांकन गर्ने गरेको कमै भेटिन्छ । ‘जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ’ भने झैँ कर्णालीका अनगिन्ति पक्षहरु ज्यादै भरपर्दा र गौरवलाग्दा छन् ।

मानिसको स्वभाव सकारात्मकभन्दा नकारात्मकतातिर छिटो आकर्षित हुँदा अरुको टिका-टिप्पणीमा समय खेर फाल्ने गरेको देखिन्छ । हाम्रा सञ्चार समूह, पत्रकार तथा लेखक महोदयहरुले पनि सकारात्मकभन्दा नकारात्मक, सिर्जनाभन्दा ध्वंश, उन्नतिमा भन्दा अरुले दु:ख सुखपूर्वक गरेको प्रगतिमाथि नकारात्मक पक्षलाई दृष्टि दिने हुनाले समाजमा असन्तोषको विजारोपण विद्यालय तहदेखि हुँदै गएको पाइन्छ । बरु त्यसलाई सुझाव, समाधान, निर्देशन, सन्देश, निर्माणात्मक, सिर्जनात्मक, सुधारात्मक र सुखद परिणाम निस्कने उपायहरुको मार्ग प्रदान गर्न सकेमा समाजमा आपसी द्वेष कम हुन सक्ने, समाजमा सुख शान्ति र अमन चयन कायम हुन सक्ने देखिन्छ। यसै प्रसंगमा कर्णाली प्रदेशमा के-कस्ता अमूल्य सम्पदाहरुको अवस्थिति छ त ? त्यसबारे संक्षेपमा चर्चा गर्नु सान्दर्भिक नै हुनेछ ।

१) मूर्त सम्पदा :

कर्णाली प्रदेश भन्नेबित्तिकै भौगोलिक विकटता, जैविक विविधता मनोरम प्राकृतिकस्थलहरुको चित्र, मानव सभ्यता तथा सांस्कृतिक वैभवको स्मरण मानशपटलमा आइहाल्छ । मध्यकालीन कर्णाली प्रदेश वर्तमानकालमा राज्यको पुनर्संरचनाका क्रममा राजनीतिक सीमाको बाँडफाँडका कारण ५ नम्बर प्रदेशको केही भाग, प्रदेश नम्बर ६ र ७ को पूरै भाग पर्छ ।

हाम्रो अध्ययन बृहत् कर्णाली प्रदेशको रहेको छ र यस प्रदेशलाई हिमाली, उच्च पहाडी र केही तराई भागले ओगटेको छ, त्यसै विकटताका कारणबाट हुन सक्छ, विकासको गतिमा नेपालका अन्य प्रदेशहरुका तुलनामा यस प्रदेशले त्यति फड्को लिन नसकेको देखिन्छ । तर वास्तवमा बुझेर अध्ययन गर्ने हो भने प्राकृतिक तथा सांस्कृतिक वैभवका दृष्टिबाट यो प्रदेश निकै सम्पन्न मानिन्छ । अझ भन्नु पर्दा यो प्रदेशलाई प्राकृतिक र सांस्कृतिक सम्पदाको भण्डार भने पनि अतिरञ्जित हुने छैन ।

प्राकृतिक सम्पदा भन्नासाथ यस प्रदेशमा रहेका नदी, झरना, तालतलैया, लेकाली भाग, हिमाली भाग, हिमाली घाँटीहरु, हिँउपहिराहरु, प्राकृत ज्वालाहरु, खनिजहरु, जंगल, हिमनदी, हिमताल, माटो, चट्टान, धरातल, तातोपानी, हिमचुचुरा, जीवजन्तु, प्राकृतिक बोटहरु (जडीबुटीहरु) र मानवोपयोगी खेतीपाती, जलस्रोत, प्राकृत कच्चा पदार्थमा आधारित उद्योग, वातावरणीय प्रयोग, हावाहुरी, घाम, झरी, बादल, प्राकृत कोप तथा यसको परिणाम आदि पर्दछन् ।

सांस्कृतिक सम्पदा भन्नाले मानवले निरन्तर अभ्यास गरेका, निर्माण गरेका, आफ्ना पूर्वजहरुले मनाई आएका रितिरिवाजहरु, चाडपर्व, मेला, जात्राहरु, पूजा, स्मृतिस्वरुप आवृत्ति गरिएका लोक चलन, भजन र लौकिक परम्पराहरु, नृत्य, हावभावहरु, पारम्पारिक संगीत र वाद्यवादनका उपकरणहरु, प्राचीन वस्त्राभूषण, तथा युद्धका उपकरणहरु, वीरपूजाको परम्परा, दैनन्दनि प्रयुक्त सामग्रीहरु, खाद्य परिकारहरु, समुदायिक, जातीय, वर्गीय शिष्टाचार र मर्यादाहरु, स्वतस्फूर्त रुपमा यथारुपमा संरक्षित जीवित परम्पराहरु नै यस प्रदेशका अमूल्य निधिहरु मानिन्छन् । यी सम्पदाहरु केवल सांस्कृतिक सम्पदा मात्र नभई पर्यटकीय गन्तव्यस्थलका रुपमा पनि उच्च मानिन्छन् ।

अमूर्त सम्पदा :

संस्कृतिले प्राचीन मानव सभ्यताको प्रतिनिधित्व गरेको पाइन्छ, प्रत्येक क्षेत्रका मानवको सभ्यता त्यस भेकका बासिन्दाको जात, जाति, समुदाय, रीतिरिवाज, लुगा परिधान, खानपान जस्ता सांस्कृतिक निधिहरुबाट निर्देशित भएको समय सीमालाई प्रतिनिधित्व गरेको हुन्छ । नेपाली इतिहासको प्राचीनकाल, पूर्वमध्यकाल, उत्तरमध्यकाल र आधुनिककालमा नेपाली संस्कृतिको विकास क्रमबद्ध रुपमा भई आएको छ । त्यसै सन्दर्भमा कर्णाली प्रदेशमा पनि आफ्नै मौलिक किसिमको संस्कृति भौगोलिक धरातलका आधारमा विकसित हुँदै आएको देखिन्छ ।

कर्णाली प्रदेशमा शिक्षित वर्गले पनि (ब्राह्मण) कृषि, पशुपालन, व्यापार, उद्योग आदि गरेका, क्षेत्रीयले व्यापार, जंगीतर्फको जागिर, पशुपालन, ठेक्कापट्टा, लेखापढी, सभामा न्याय दिने, आदि गर्दथे । वैश्य जातिको काम सबैले गरी आएको व्यावसायिक काम गर्दथे भने शुद्रहरुले आ-आफ्ना पुर्खाहरुले गरी आएको समाजसेवाको काम गर्दथे । त्यो परम्परा वर्तमानकालसम्म पनि केही हदसम्म कायमै रहेको पाइन्छ । आजकल शुद्र जातिले गर्दै आएको कलाकारिताको काम तागाधारीले गरी आएको र आफ्नै पैतृक पेसा गरी आएकाहरु त्यसबाट जीविका नहुने देखी पेसा परिवर्तन गरेर आर्जनमुखी पेसा अगाल्न थालेका छन् ।

पुरोहित वर्गले परम्परागत पेसाका साथै क्षेत्री, वैश्य र शुद्रवत् पेसा अंगीकार गरेको देखिन्छ । यद्यपि उनीहरुले आफ्नो परम्परागत संस्कृतिलाई पूर्णत: परित्याग गरेका भने छैनन् । उदाहरणका लागि नवजात शिशुको नामकरण, पास्नी, चूडाकर्म, व्रतबन्ध, विवाह, मृत्युसंस्कार आदि लाई लिन सकिन्छ र सबै जात जातिले पनि ती ती संस्कारहरु मान्यता गर्दै आएका हुनाले सबैको संस्कारमा समानता पाइन्छ । वर्तमानकालमा सबैजसो जाति धूमपान, मद्यपान, लागुऔषध सेवन, कुवृत्ति र कुनियत हटाउनमा लागि परेका देखिन्छन् ।

त्यस कार्यमा राजनीतिक दलहरुले पनि सहयोग पुर्याउनुपर्ने कुरा पनि सबैले महसुस गरेका छन् । पहिलेका पुर्खाहरुका झैं साह्रै दु:ख गर्न छोडेर सुखको बाटो लाग्न खोज्नु परिवर्तित मानवीय स्वभाव नै हो । पहिलेका शासक, सामन्तीहरु, भारदार र सम्भ्रान्त जातिहरुको धनीमानी व्यभिचारी प्रवृत्ति, तस्करहरुको चरित्र, क्रमश: उदांगो हुँदै गएका छन् र समाजमा परिश्रम गरेर खानुपर्ने कुराको वातावरण बनिरहेको देखिन्छ ।

पुरुषप्रधान समाजमा पनि नारीहरुको योगदानको मूल्यांकन गर्न थालिएको र नारीहरुले आदिमकालबाट समाजको अस्तित्वका निम्ति गरेको सहनशीलता र परिश्रमको मूल्यांकन हुन थालेको छ ।

कर्णाली प्रदेशमा मध्यकालमा आफ्ना सन्तानलाई बेच्ने, बाँधा राख्ने, छोरी बेच्ने, बुहारी किन्ने, देउकी चढाउने, जारी तिर्ने, बालविवाह गर्ने, राक्षशी विवाह गर्ने, बादी-बदेनी भाँड-भँडेनी भनी नीच पेसामा धकेल्नेजस्ता परम्पराहरुको प्राय: उन्मूलन भइसकेको अवस्था आएको छ । कन्याले आफ्नो वर आफैँले रोज्न पाउने, मनपरेकासँग विवाह गर्न पाउने आदिम वैदिककालीन समाजको प्रचलन बढ्दै नयाँ युगको उदय कर्णाली प्रदेशमा पनि भइरहेको छ ।

कर्णली प्रदेशमा आधुनिक शिक्षाको प्रचार तीव्र गतिमा भइरहेको छ र सबै जातिका बालबालिका विद्यालय र महाविद्यालयमा पढ्न गएका छन् । तर ती सबैले आ-आफ्ना घर परिवार, छर छिमेक र इस्टमित्रबाहेक सांस्कृतिक शिक्षा आर्जन गर्न र अवसरलाई सरकारले पाठ्यक्रमबाट झिकेर, वञ्चित गर्दै गरेकाले गम्भीर चिन्ताको विषय भइरहेको छ ।

अब आएर नेपालका सातै प्रदेशहरुले आफ्नो प्रदेशव्यापी शिक्षाको मौलिक पाठ्यक्रमा निर्माण गर्दा आफ्नो पारम्पारिक, वैज्ञानिक, प्रमाणिक संस्कृतिलाई पुन: समावेश गर्नुपर्ने अपरिहार्यता भएको देखिन्छ । कर्णाली प्रदेशमा ब्राह्मण, ठकुरी, क्षेत्री, भाट, धामी, दशनामी, संन्यासी, कनफट्टा, पावै, हुम्ली, ख्याम्पा, जाड्या, नेवार, थारु, गुराउ, धान्नुक, मुसहर, बिटालु (सुनार, कामी, सार्की, ढोली, डुम्, पातर, पार्की, ओड, चूनारा = वर्तमानमा दलित मानिएका), मिञाँ, आदिको बसोबास रहेको छ र तीमध्ये संख्याको दृष्टिबाट विचार गर्दा ब्राह्मण र ठकुरीको संख्या बढी नै छ । त्यसो हुनुको कारण कर्णाली प्रदेश मूलत: प्राचीनकालबाटै खसान क्षेत्र हुनाले नै हो ।

त्यस प्रदेशमा बसोबास गर्ने अल्पसंख्यको आवादीमा दशनामी, संन्यासी, कनफट्टा, पातर, र भाटहरु रहेका छन् । यस प्रदेशमा विविध हावापानी, धरातलीय भिन्नता तथा संस्कृतिक विविधताका कारण मानिसको पेसा, परिधान, शारीरिक बनोट, रूप, रंग, आनिबानि, लेनदेन, बिहाबारीको किसिम पनि आपसमा पृथक रहेको पाइन्छ । त्यस प्रकारको पार्थक्यमा एक जातिको स्वभाव, संस्कार, भाषा, जीवन वृत्ति, पेसा, शिष्टाचार, नित्य प्रयोगका सामानहरु, स्थानीय देवीदेवताहरु, पूजापाठ, अर्चना विविध, कुलपूजा, दोषवयू, गृहदेवता, पेसा, मन्दिरको बनोट, घरको र टोलको बनोट, जनविश्वास, क्षेत्र, गहना र वेशभूषा, विवाह पद्धति आदिमा आपसमा केही भिन्नता भएको महसुस गर्न सकिन्छ ।

कर्णाली प्रदेशमा बसोबास गर्नेहरुबीच एकता बनाइरहने तत्त्व हो, सबैका साझा देवता मष्टा कुलदेवताको मान्यता । ती कुलदेवता मष्टाले मानव जीवनका आइपर्ने प्रत्येक पक्षमा सहयोग गर्छन्, उदाहरणका लागि भूत, प्रेत भँयाउनी लागेमा, पैशाचिक प्रकोप भएमा, चौपायाको धनवृद्धि गर्ने इच्छा भएमा, रोगव्याधिले अत्याएमा औषधिमूलो गर्नुपरेमा, खेतीबालीबाट सहकाल ल्याउनुपरेमा, अतिवृष्टि, अनावृष्टि रोक्नुपरेमा, सन्तान नभएमा, असल सन्तान बनाउनु परेमा, विदेशिएका आफन्तको निधो, पत्ता तथा छिटो घर फर्काउनु परेमा र चारैतिर शुभ हुनका निम्ति र त्यसबाट छुटकारा लिन, चोखीनीतिपूर्वका मष्टा देवताको पर्वमा र आवश्यक परेका बेलामा, विधिवत् पूजा गर्ने, मष्टाका धामी बसाल्ने, धामी पतुर्न लगाएर उनका मुखबाट देवभाषामा आशीर्वाद लिने र उनले, देवता चढेको बेलामा देवभाषामा व्यक्त गरेका कुरा जस्ताको तस्तै पालना गरिनु र अपेक्षित सुधार हुँदै जानू ।

कर्णाली प्रदेशमा प्रचलित संस्कृतिलाई मूलत: दुई भागमा विभाजन गर्न सकिन्छ- जस्तै,

१) वैदिक संस्कृति :

वैदिक शास्त्रीय विधिमुताविक गरिने संस्कारहरु, जसमा कर्मकाण्ड, वैदिक देवी-देवताहरुको पूजा-अर्चना, गर्भाधानदेखि मृत्यु पर्यन्तसम्म गरिने तर्पण, पिण्डदान, श्राद्ध, तीर्थाटनमा पुगिएका ठाउँका देवी-देवताको पूजा विधि आदि । वैदिक संस्कृतिमा प्रसिद्ध देवी-देवताहरुको सार्वलौकिक लिखित तथा व्यापक शास्त्रीय वैदिकमन्त्रद्वारा आह्वान, सम्बोधन गरेर, अग्निहोत्र विधिले पण्डित, पुरोहित आदिलाई बोलाएर पूजा-अर्चना गरिन्छ । उदाहरणका निम्ति- बाबु, आमा, सूर्य, चन्द्रमा, वरुण, इन्द्र, कुवेर, नवग्रह, ब्रह्मा, विष्णु, महेश्वर, कुबेर, वायु, आदि ।

२) लौकिक संस्कृति :

लौकिक संस्कृति, जसमा परम्परादेखि लोकमा प्रचलित भई आएका धेरैजसो अलिखित र मौखिक सांस्कृतिक परम्परालाई भन्न सकिन्छ । विशेषगरी जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालीकोट, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख, सुर्खेत, जाजरकोट, रोल्पा, दाङ, सल्ल्यान, बैतडी, दार्चुला, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरजस्ता जिल्लामा लौकिक संस्कृतिका मौलिक तथा प्राकृत रुपमा सुरक्षित रही आएका पाइन्छन् । कर्णाली प्रदेशबाट जति पूर्वतिर बढ्दै गयो उति नै नेपाली संस्कृतिको विस्मृति तथा क्षय हुँदै गएर भिन्न प्रकारको संक्षेपिकृत रुप बन्दै गएको महसुस अनुसन्धाताहरुलाई हुने गर्छ ।

लौकिक संस्कृतिमा शुद्ध आत्मा, स्थानीय देवी-देवता, दुष्टआत्मा भूत, प्रेत, पिसाच, श्मशाने, भ्याउनी, वीर, मरेडायनी, देवी-देवताका वाहनहरु, निशाचरहरु, अगति परेर मरेका पितृहरु, गलत किसिमबाट मारिएकाहरुको भौंतारिएको आत्मा, अकालमै मरेकाहरु, लौकिक देवताहरु, भूमे, भँयर, अँयर, देउराली, वनदेवी, निधिनी, झाँक्री, वनझाँक्री, ओडार र पहरामा बस्ने देव वा देवताहरु आदिको लौकिक विधानबाट धामी, बिजुवा, गुराउ, मान्थेबा, तान्त्रीक, झाँक्री, झारफुक गर्ने, यान्त्रिक, अभिचार विधिबाट, फुकफाकका माध्यमबाट उग्र भएका त्यस्ता लौकिक देवी-देवताहरुलाई शान्त पारेर दु:ख नदिउन् भनी पूजा गर्ने र मन्साउने परम्परालाई मान्यता गरिन्छ ।

कर्णाली प्रदेशमा पूजिने वैदिक देवी-देवताहरु सात्विक र राजशी प्रकृतिका हुन्छन् भने लौकिक देवी-देवताहरु राजशी र तामशी प्रकृतिका हुन्छन् । उदाहरणका निम्ति : परब्रह्मा, ब्रह्मा विष्णु, महेश्वर, गणेश, सूर्य, देवी, राम, कृष्ण, कुमार, दूधेमष्टा आदिलाई सात्विक विधिबाट पूजा गरिन्छ भने इन्द्र, भैरव, मष्टा, काली, दाह्रेमष्टा, काली भँयर, अँयर, भूमे, झाँक्री, नन्दी, भृङ्गी, चतुषष्टी योगिनी, भूत, प्रेत, वायु, दोष, पिसाच, भ्याउने, श्मशान, भान, बाहन, फाके, लागो, भागो, आदिलाई राजशी र तामसी विधिबाट पूजा, धूप, उपचार, खोज, पुकार, सुपुकार, भाकल, आदि विधिबाट सम्मान गर्ने परम्परा रही आएको छ । (देवकोटा, २०४६, पृष्ठ, १०७) ।

त्यसरी राजषी र तामसी विधिबाट पूजा, धूप, बलि, मन्साउने, बुझाउने, थान्को लगाउने प्रक्रियाबाट चोरी, हत्या, पीडा, बलात्कार, लाञ्छना, रोग, व्याधि, आतंककारी, लुटिने, पिटिने, छकाइने, ठगिने, मुद्दा मामिलामा फस्ने आदिबाट बच्नका निम्ति ती देवी-देवतालाई भाकल गरेर शान्त पार्ने परम्परा अद्यापि प्रचलनमा रही आएकै छ ।

त्यस्ता धेरै देवताहरुमध्ये सबैभन्दा शक्ति र सामर्थ्य भएका, तत्कालै फल दिनसक्ने देवता श्रीमष्टा देवता नै मानिन्छन् । नेपालभर बसोबास गर्ने खस आर्यका कुलदेवता मष्टा र देवीहरुको उत्पत्ति क्षेत्र कर्णाली प्रदेश नै मानिन्छ । त्यस्ता ज्यादै प्रख्यात देवता मष्टा र देवी-भवानीका विभिन्न रुप र नामका हुन्छन्, जसमा बाह्भाइ मष्टा र नौ दुर्गा भवानी भनी पुकारा गरिन्छ । श्री नौ दुर्गा भवानीका पनि सय जति नाम छन् भने श्रीमष्टाका पनि चौराशी वटा नाम प्रचलित रहेका पाइन्छन् ।

कर्णाली प्रदेशमा राग्श्या, भूत, भाउन्ना, मशान्या, दोभान, मुखोल्या, वायु, कप्टिनी, बोग्सी, डांकिनी, साङ्खिनी, दानुवा, प्रेत, पुङ्ग्याल, भँयर, भान, छाया, द्यौ, द्यौती, आदिले मानिसलाई रोग व्याधि, मूर्छा, धनहानि, कृषि हानि, सन्तान हानि, नि:सन्तान, भीमल, तर्सो, मन चञ्चल गराउने गर्छन् भनिन्छ । त्यस्ता भूतादिबाट कष्टमुक्त हुन धामी, झाँक्री, नाडिछाम्ने, चामल जोखाना हेर्ने, फुकफाक गराउने, अक्षता उडाउने, बलि दिने, रंग-बिरंगले पूजा गर्ने कुखुरा, परेवा, चल्ला छोड्ने, सामान र बत्तीसहित बिमारीको शरीरलाई सातपटक घुमाएर सात तयाली वाचा गराएर दोबाटोमा लगेर फ्याँकिन्छ, छोडिन्छ ।

त्यस कार्यलाई खोज गरेको ‌भन्ने भनाइ छ, खोज गर्दा खरानी (रखानी) को डल्लोलाई पिण्डका रुपमा मानेर खोजकर्ता धामीले चामलका पीठाको मानिसको मूर्ति निर्माण गरेर, सात वटा दाबिलामा अँगारले भूतभाषामा लेखेर, मन्साउने नेटामा पुगेपछि, फलामको दिउरा, भजालामा लगेको आगो भुइँमा खन्याएर , सोही आगोमा कडुवा तेलको धूप हालेर, मन्साउने सरजामको वरिपिर आंखोराम लगेको जलले वरपर घुमाएर बिमारीको नाम फलाकेर सात तयाली वाचा गराएर अब उप्रान्त सो व्यक्ति र निजका कुनै पनि परिवारलाई दु:ख नदिने वाचा गराइन्छ ।

त्यति गरेपछि मात्र सो चामलका पीठाको मूर्ति र सारा सरजामलाई भुइँमा खाल्टो खनेर पुरिन्छ र सात वटा दाबिला उही खोज गर्दा गाडेको खाल्टो वरपर ठड्याएर गाडिन्छ र बिमारी भएका घरतिर फर्किन्छन् । घर फर्केपछि अंखोरामा लगेको बाँकी जलले बिरामीलाई दोहोलो काडिन्छ र अब उप्रान्त निको भयो भनी सातो जाने किसिमले कराउने र लागो भागो छुटाउने गरिन्छ ।

कर्णाली प्रदेशमा फाग, माँगल, भारत, झोडा, चैत, चाँचडी, ढुस्को, भोस्सो, भाइल, भैली र गाथाको विशाल भण्डार नै मानिन्छ, त्यसता केही उदाहरणका रुपमा जस्तै- सरुवा कौनियाको भारत, बिना कठाइतको भारत, उदा छोपालाको भारत, शक्ति कठाइतको भारत, रनि राउतको भारत, लछालकीर्तिको भारत, बालराजा काशीरामको भारत, बिमा राउतको भारत, राजा जितारी मल्ल जालन्धरी मल्लको भारत, सङ्ग्रामसिंह कार्कीको भारत, रारा पैकेलाको झोडा, कालु बम्मको झोडा, नागर विष्ट भैरव विष्टको झोडा, सती कलशाको गाथा, बाँके रावल चना रौतेलीको गाथा, जस्ता ज्यादै प्रचलित अमूर्त सम्पदा मानिन्छन् । (तिमिल्सेना, २०७७, पृष्ठ, २७४०-२७५)

दैलेखका अमूर्त सम्पदाका बारेमा एउटा पुरानो उखानयुक्त भनाइ सुन्न पाइन्छ- जस्तै : सातालाको भैलो, डौँशूरको हूड्केली, सिगौंठीको भोस्सो, खूडखूडीको मारुनी, नौमूले, टाकूरी, काँशीकाँधको सरौँघाउ (हातहतियार हातमा लिएर गरिने द्वन्द्वयुद्धको नमुना, अभिनय) आदि प्राचीनकालबाट प्रख्यात मानिन्छन् ।)

निष्कर्ष :

कर्णाली प्रदेशको हिमाली उच्च पहाडी ठाडा डाँडा, भिराला पाखाले बनेको भूगोल हामीले सोचे झैँ सहज र उर्बर थिएन र छैन, त्यस्तो ठाँउमा अभ्यस्त मानव जीवन पद्धति, सभ्यता र संस्कृतिको बारेमा जान्न खोज्दा आशा लागेजति खाका, चित्र स्पष्ट हुने गरी पाउन सकिएको छैन भने निराशा हुनु पर्ने स्थिति पनि रहन्न । प्राचीन रेशमको व्यापार उर्लेका बेलामा हिन्दुकुश हिमाली भूभागलाई आफ्नो कब्जामा पारेका खस राजाहरुले उत्तर-पश्चिम भारत र दक्षिण-पश्चिम तिब्बतलाई आफ्नो राज्य क्षेत्र भित्र पार्न सक्ने यो खस जातिको सभ्यताले तत्कालीन विश्वलाई गम्भीर प्रभाव पारेको इतिहासबाट स्पष्ट हुन जान्छ ।

अझ गम्भीरतापूर्वक अध्ययन गर्दा खस जातिले गरेका वैज्ञानिक आविष्कारहरु, उनीहरुको सभ्यताको प्रभाव, उनीहरुको संस्कृति, सामजिक बनोट, भाषाको विकास, परिधान, राज्यको मजबुति, आर्थिक स्रोतको उचित परिचालन, स्वर्णभूमिसँगको व्यापार र वाणिज्य, जातिपाति र स्थलसँग सम्बन्धित थरको पहिचान, पेसाप्रतिको निष्ठा, कामको मर्यादा, कलाकौशल र साम्राज्यको अध्ययनबाट यस जातिको समृद्धिको चुलीलाई उच्च मूल्यांकन गर्न सकिने आधारहरु पाइएका छन् । केवल कर्णाली प्रदेश मात्र नभएर, काश्मीर, गढवाल, कुमाउँ, नेपाल, भुटान, सिक्किम, भारतको हिमाञ्चल प्रदेश, असम, आदिको सभ्यतालाई सिँजाको पूर्वमध्यकालीन खसमल्ल सभ्यताले निर्देशित गरेको महसुस हुन जान्छ । जसको प्रभाव हालसम्म पनि कर्णाली प्रदेशमा सुरक्षित नै रहेको छ ।

सामजिक बनोटका दृष्टिबाट विचार गर्दा अनादिकालमा कर्णाली प्रदेशमा हिमाली, जंगली, फिरन्ते, सिकारी, कुसुण्डा, राउट्या, मुण्डाजस्ता जातिहरुको कृडाभूमि रहेको प्रतीत हुन्छ । पछिल्लो समयमा आएर हिन्दुकुश हिमाल वारपारमा खसआर्यहरुको बसोबास रहेको र त्यही परिप्रेक्षमा कत्युरी, पाल, चन्द, चौहाण, मल्ल, मागधी, गान्धारजस्ता जातिको बसोबास पनि भएको हुनाले उनीहरुले हिन्दु सनातन र बौद्ध धर्मलाई समान व्यवहार गरेर बसेको बुझिन्छ ।

ती सबैमा मंगोल र आर्य नश्लको सम्मिश्रण रहेको, सामाजिक परम्परा र संस्कृति पनि सम्मिश्रण किसिमको पाइन्छ । उनीहरुले आफ्नो मौलिक संस्कृतिलाई यथावत्रुपमा बचाएर संरक्षण गरेर राख्न सफल भएका थिए । तीमध्ये कर्णाली प्रदेशमा खस जातिले बहादुरी प्रवृत्तिको विकास गर्न समर्थ, मठ मन्दिरमा पशुको बलि दिने, प्रसादका रुपमा मांशादिको भोजन गर्ने अभ्यास पहाडी परम्परामा स्वीकार्य मानिएबाट त्यही रीति विकसित हुँदै सामाजिक संस्कार बन्यो ।

खसजातिले हिन्दु र महायानी बौद्ध संस्कारलाई उदारतापूर्वक पूर्णत : अंगीकार गरेको देखिन्छ । खस जातिमा सबैले आ-आफ्नो काम इमानदारीसाथ गर्दै आएका देखिन्छन् । केहीले छोरी बेच्ने र केहीले मन्दिरमा लगेर चढाउने चलन पहिले थियो, युद्धमा सेनाद्वारा बलात्कृत गरिएकी कन्यालाई देवकी बनाउने चलन पनि थियो । खसआर्यहरुले उत्तर-दक्षिणको व्यापारमा जीवन्त बनाएका हुन्थे र राज्यको अर्थतन्त्र थामेका हुन्थे ।

कर्णाली प्रदेशको मूल आय स्रोत नै वैदेशिक व्यापार थियो, जसमा खसआर्यहरु नै सक्रिय देखिन्थे । समाजमा नारीको स्थान उच्च थियो र शुद्रको सामाजिक महत्त्व सबै जातिको भन्दा अधीक उच्च थियो, किनभने सबै जातिको जन्मदेखि मृत्युपरान्तसम्म उनीहरुको भूमिका निरन्तर चलेको हुन्थ्यो र उनीहरुको पेसा नै जनसेवा मानिन्थ्यो । बीचको समयमा यस जातिलर निकै गोता पायो तापनि हाल आएर त्यस जातिको उत्थानका विभिन्न प्रयासहरु नेपालमा भई आएका छन् । (परिशिष्ट नं १)

सुझावहरु :

१) वर्तमान नेपालमा प्रत्येक दशकमा गरिने जनगणनाको ढाँचा गलत सिद्ध भएको देखिन्छ । किनभने त्यसमा ब्राह्मण, क्षेत्री, ठकुरी, दशनामी छुट्याउने खस आर्य भन्ने मापदण्ड वैज्ञानिक रुपमा तयार गरिएको पाइन्न । त्यसले कर्णाली प्रदेशका अधिकांश जनता सरकारी आरक्षणजस्ता सहुलियतबाट वञ्चित रहने स्थिति आएको छ ।

कर्णाली प्रदेशका मूर्त र अमूर्त सम्पदाको यथाशीघ्र संरक्षणको बन्दोबस्त सरकारी तहबाटै गरेमा त्यहाँको नमुना नेपालभर लागु गराउन मद्दत मिल्ने देखिन्छ र लोपोन्मुख संस्कृतिको जगेर्ना गर्न सकिन्छ ।

२) वर्तमान नेपालमा जातीय र क्षेत्रीय आयोगहरुले कट्टर जातीय आधारलाई प्रोत्साहन दिएको छ, त्यसको सट्टा सबै नेपालीलाई राष्ट्र निर्माणका निम्ति जोसँग बुद्धि, विद्या-क्षमता र बल, बाहुबलले राष्ट्र निर्माण र राष्ट्रिय अस्मिता बचाउन समर्पण हुने क्षमता राख्छन्, जसले जनजीविकालाई यथार्थ रुपमा उत्पादन र वितरणमुखी कार्य गर्न सक्छन् र जसले शारीरिक श्रम, सीपद्वारा समाजको सेवामा लागेर जीविका गरी आएका छन् ती सबैलाई सामाजिक आदर्श परिभाषाभित्र पारेर नागरिकहरुबीच मानवीय र सामाजिक समानताका आधारमा आरक्षणजस्तो महत्त्वपूर्ण र संवेदनशील कुरालाई गम्भीरता साथ विचार गरेर विवेकशीलताका आधारमा प्रयोग गरेर आरक्षणको अवसर प्रदान गरिनु पर्दछ ।

३) नेपाली नागरिकका प्रत्येक जातिको जातीयतालाई छुट्याउने एउटा आधार भाषिक आधार पनि हो, तसर्थ नेपालमा बसोबास गर्ने नागरिकको आफ्नो मातृभाषाको गहन अध्ययन, अनुसन्धान गर्नुपर्ने र एक भाषा भाषीलाई एउटै वर्गमा हेरेर उनीहरुको आर्थिक, शैक्षिक र सामाजिक उत्थानका निम्ति सुधार गर्नु पर्ने देखिन्छ । त्यस प्रकारको आन्तरिक वास्तविकतालाई प्रकाश पार्ने प्रतिवेदन तयार पार्न हाल गठन भएका विभिन्न प्रतिष्ठानहरुले पूर्वाग्रहविना, उपयोगी मूल्यांकन गरेर व्यवहारमा लागु गराउनुपर्ने देखिन्छ ।

४) वर्तमान नेपालको संविधानमा नेपालका सबै जनजातिलाई स्वत: आदिवासीमा सूचीकृत गरेको दूषित परम्परा लागु गरिएको देखिन्छ, जो आधारभूत रुपमा गलत छ, किनभने उदाहरणका लागि पूर्वी तराईको सन्थाल जाति ५० वर्षअगाडि मात्र श्रमिकका रुपमा नेपाल प्रवेश गरेको, तामाङ जाति नेपाल र चीन-भोट युद्धमा प्रवेश गरेको, शेर्पाजाति जो चौंरी पाल्दै तिब्बतको स्यार्बो जाति केही पहिले नेपाल पसेको कुरा स्पष्ट भइसकेको छ । त्यस्ता जनजातिलाई पनि स्वत: आदिवासीमा सूचीकृत गरिने विषयमा गहन अनुसन्धान गर्नुपर्ने देखिन्छ । तसर्थ नेपालमा जो जसलाई आदिवासीका रुपमा सूचीकृत गरिएको छ, त्यो परिपक्व किसिमको नभएर, अदूरदर्शी, कच्चा र अपूर्ण छ, त्रुटिपूर्ण निर्णय भएको हुनाले त्यसमा तत्कालै पुनर्विचार गरिनुपर्ने हुन्छ । त्यसबाट कर्णालीका खासआर्य जस्ता आदिवासीलाई ठूलो मर्का परेको छ ।

त्यसका साथै हिन्दु धर्म र बौद्ध धर्मावलम्बीहरु उदार धार्मिक भएको फाइदा उठाएर क्रिस्तानहरुले अनेक प्रलोभनमा पारेर, धर्म परिवर्तन गराइरहेका छन् र आदिवासीहरुले पाएको अधिकारमा पनि ती धर्मछाडाहरुले आफ्नै भाइहरुलाई मिलेको सहुलियत दोहोरो लाभ लिइरहेका छन् । आधिकांश खसआर्यहरुमा जातीय छुवाछुत र अनेकानेक बहानामा त्यसको मार खेपिरहेका त छँदै छन्, समाजमा सुधार पनि गरिँदै छ, तापनि त्यसमाथि विधर्मीको निशान बन्दै गएका छन् ।

५) नेपालका रैथाने खस आर्यहरुका बारेमा अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने क्रममा धेरै समस्या तथा चुनौतीको सामना गर्नुपरेको छ, जस्तो कि यस जातिमा जन्मी हुर्केका महिला वा पुरुषले अन्यजाति, दलित, आदिवासी, मधिशे, थारू, जो जातिसँग वैवाहिक सम्बन्ध गरी गृहस्थी गर्ने पति/पत्नीले पनि आदिवासी जनजातिको पनि आरक्षण पाएका आधार प्रमाणहरु प्रशस्त पाइएकामा उनीहरुलाई निरुत्साहन हुनेखाले निष्पक्ष मूल्यांकन गरी न्याय निरुपण गर्नुपर्ने हुन्छ । अर्को कुरा, प्रत्येक नारी वा पुरुषले आफ्नो नामपछिको थर लेख्दा आफ्नै बाबुआमाको बाहेक अरुको थर लेख्न र अर्कै पहिचान दिनेखाले गैरकानुनी किसिमबाट आदिवासी जनजातिको सुविधा भोग गर्ने कुरालाई हतोत्साह तथा त्यस्तो प्रवृत्तिलाई पूर्णत: वञ्चित गरिनुपर्दछ ।

६) वास्तवमा भन्ने हो भने नेपालमा वनवासी जाति, दलित र दुर्गम क्षेत्रका बासिन्दा, आर्थिक विपन्न वर्गलाई पहिचान गरेर मात्र आरक्षण प्रदान गर्नुपर्ने हुन्छ । जो हुलदंगा गर्छ, जो बलको भरोसा र धनको मदमा राजनीति गर्छ, जसले छिमेकीको बुई चढेर नेपालको हानि पुर्‍याउन अग्रसर हुन्छ, त्यस्तालाई राज्यबाट मिल्ने सुविधा, डरका कारणबाट आरक्षण प्रदान गरिनु कदापि शोभा दिने कुरा होइन र त्यस्तो नीतिबाट देश उँभो लाग्दैन ।

७) कर्णालीमा खटिएर जाने कर्मचारीहरुका पनि विविध आग्रहहरु रहेका देखिन्छन् । ती सबैको विश्लेषण गर्दा उनीहरुको मनस्थिति सकारात्मकभन्दा पनि नकारात्मक र कुण्ठाग्रस्त देखिन्छ । किनभने सोही प्रदेशको प्राकृतिक स्रोत र मानवीय स्रोतहरुको परिचालन गर्न नसकेर त्यस्तो कुण्ठा पलाएको बुझिन्छ । साँच्चै भन्ने हो भने, कर्णालीकै सम्पदाहरु सही प्रकारबाट परिचालन गरेर कर्णालीलाई समृद्ध बनाउन सकिन्छ । २०४५ सालसम्म कर्णाली केही मात्रामा भए पनि समृद्ध र आत्मनिर्भर थियो, तर त्यसपछि भने त्यो प्रदेश पूर्णत: पराश्रित बन्न गयो र १२ वर्षे द्वन्द्वपछि त त्यहाँका सबै कुटीर उद्योग, सीपालू हातहरु पूर्णत: धराशयी नै भएर लोप भइसकेको अवस्था छ ।

८) कर्णाली प्रदेशमा ४३ प्रतिशत बालविवाह हुने गरेको छ, विकासको गोरेटो मानिएको चिसापानी-हिल्सा मोटरबाटो ज्यादै साँघुरो र अधुरो रहेको छ, जो सबैको साझा आधार हो, त्यसलाई सम्पन्न गर्न सकेमा विकासको फड्को आगाडि बढ्न सम्भव हुने देखिन्छ ।

९) कर्णालीको सभ्यता अति प्रचीन तथा अति संवेदनशील हुनाले त्यहाँको विकास र सभ्यता एक-आपसमा प्रतिपक्षी जस्ता हुन गएका छन्, किनभने आधुनिकतामा लागेको युवा मन सभ्यतातिर फर्कन नचाहेको हो कि भन्ने भान पर्दै गएको छ । विडम्बनाको कुरा, कर्णालीको सभ्यता विनष्ट हुँदै जाँदा विकासको कदम भने पछाडितिर धकेलिँदै गएको पाइन्छ, एउटा देखिएको हवाई यातायात पनि नियमित र भरपर्दो छैन । त्यसका निम्ति कर्णाली उडान अभियान (Fly Karnali Campaign) चलाउन सकिएको खण्डमा केही उन्नति हुनेछ ।

१०) नेपालका सातै प्रदेशको तुलनामा कर्णाली प्रदेशले १८.९७ प्रतिशत भूभाग ओगटेको छ, सोही आधारमा त्यस प्रदेशको विकासमा देशको कुल बजेट तदनुकूल प्रवाह गर्नुपर्ने देखिन्छ । कर्णालीलाई सक्रिय बनाउन त्यहाँको सबैखाले जनशक्ति त्यतैको विकासार्थ फर्केर वैज्ञानिक नीति निर्माण तथा लागु गर्न, सुरुङ निर्माणमा तीव्रता ल्याउन, राजमार्गको द्रुततर विकास र गाउँबस्तीमा पुगिने स-साना मार्गहरुको निर्माणबाट मात्र कर्णालीले समृद्धिमा पाइला चाल्न सक्छ । नेपालका अन्य प्रदेश जस्तै यस कर्णाली प्रदेशले पनि दुवैतिरबाट घोप्टे, उभिण्डो पार्ने किसिमको (Two Prone Approach) विकासनीतिलाई पूर्णत: परित्याग गर्न सक्नुपर्छ ।

११) साँच्चै नै कर्णालीको विकास चाहने हो भने एउटै स्वार्थमा आधारित एकाकार वित्तीय योजना (United Solidarity Fund) बनाएर लैजानुपर्ने हुन्छ । त्यसको प्रयोग प्रत्येक १०/१० वर्षको केन्द्रीकृत योजाना नै निर्माण गरी कर्णालीका बासिन्दाले श्रमदानबाट विकास (Karnali Assimilation Project for Central Development Approach) गरेमा मात्र समृद्ध कर्णाली साकार बन्न सम्भव हुने देखिन्छ । कर्णालीमा विकासका पूर्वाधारहरु तयार नभएसम्मका निम्ति यहाँका मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरुको पूर्णत: संरक्षण, करमुक्त कर्णाली, पर्यटकीय गन्तव्य कर्णाली, स्थानीय स्रोतहरुको प्रचुर प्रयोग कर्णाली (Conservation and Preservation of Tangible and Intangible Heritage, Free of Tax Karnali, Tourist Destination Karnali, Local Resources Utilization Karnali) जस्ता दूरदर्शी तथा बृहत् योजनाहरुको निर्माण गर्न दृढ हुनुपर्ने देखिन्छ ।

यसप्रकार भविष्यमा माथिका बुँदाहरुमा गमभीर रुपमा विचार गर्दै नेपालका प्रत्येक जात-जातिको इतिहास, संस्कृति, सामजिक बनोट, वंशविस्तार, आर्थिक क्रियाकलाप, वर्गीय विवेचनासाथ पेसा हरणमा परेका दलित र अन्य पिछडा वर्गलाई कुन योजना, आयोजनाबाट उत्थान गर्न सकिन्छ भन्ने पवित्र लक्ष्यसाथ इतिहास र संस्कृतिका विद्वान्‌हरुबाट गहन अध्ययन गराई त्यहाँको यथार्थतालाई यथाशीघ्र प्रकाशनका साथमा कार्यमा परिणत गरिहाल्नु पर्ने बेला आएको छ ।

(इतिहासकार तथा प्राध्यापक प्रा.डा. राजाराम सुवेदीले कुडा कर्नालीका’ मा व्यक्त गरेको प्रवचन)


Image

प्रा.डा. राजाराम सुवेदी

सुवेदी इतिहासकार तथा प्राध्यापक हुन् ।


Enter Kantipur TV HD
Advertisement