तिहारमा दिदीबहिनीलाई के उपहार दिने ?

तिहारमा खर्चको व्यवस्थापन
कार्तिक २७, २०८० |कृष्णहरि बास्कोटा
तिहारमा दिदीबहिनीलाई के उपहार दिने ?

यतिबेला नेपाली दोस्रो महान चाड तिहारको हर्षोल्लासमा रमाइरहेका छन् । चाडपर्व भन्नेबित्तिकै हर्षोल्लास, भेटघाट, मीठो खानपानसँगै आर्थिक पक्ष पनि जोडएर आउने गर्दछ । हाम्रा चाडपर्व विस्तारै खर्चिला र भड्किला बन्दै जाँदा धेरैलाई खर्चको व्यवस्थापन गर्नु त्यति सजिलो पनि हुँदैन । भर्खरै सकिएको दसैँ पर्वले पनि निकै नै खर्च गराएको छ । तिहारमा पनि कसरी खर्चको व्यवस्थापन गर्ने भन्ने धेरैको चासोको विषय हुन सक्दछ । यसका केही विकल्पका बारेमा यहाँ उल्लेख गर्न खोजिएको छ ।

तिहारको दक्षिणा

तिहारमा आफ्ना दिदीबहिनीलाई दक्षिणामा केही दिनुपर्छ । यसमा दिदीबहिनीले गरेको खर्चमा कमी हुन नदिने सोच एकप्रकारले उत्तम मानिन्छ । तथापि, आफ्नो हैसियतभन्दा ठूलो रकम दक्षिणास्वरुप दिने चलनमा सुधार गर्नुपर्छ । दिदीबहिनीभन्दा दाजुभाइको आर्थिक हैसियत उच्च भएमा मनकारी भएर दक्षिण दिन सकिन्छ । तर, दिदीबहिनीको तुलनामा दाजुभाइको आर्थिक हैसियत कमजोर भएमा अरुलाई देखाउने प्रयोजनका लागि बढी दक्षिणा दिनु हुँदैन । दिदीबहिनी र दाजुभाइ सबै उमेरले पाका छन् र ती सबै छोराबुहारी वा छोरीज्वाइँमा आश्रित छन् भने ती पाका उमेरका मानिसलाई नै सोधेर दक्षिणाको रकम निर्धारण गर्नुपर्छ । तिनको चित्त दुखाउनु हुँदैन ।

दिदीबहिनी र दाजुभाइ साना उमेरका छन् र सबै व्यवस्थापन अभिभावकले गरिदिनुपर्ने भए दक्षिणामा सय/पचास रुपैयाँको व्यवस्था गर्नुपर्छ । यसबाट बालमनोविज्ञानमा चाडपर्वमा नचाहिँदो तडकभडक गर्नुहुँदैन र फजुल खर्च हुनुहुँदैन भन्ने ज्ञान जागृत हुनेछ । नगदको सट्टा वस्तु वा सामग्री दक्षिणाका रुपमा दिने भए दिदीबहिनीलाई सोधेर खरिद गर्नु राम्रो हुन्छ । दाजुभाइलाई पनि टीकामा अनावश्यक खाद्यवस्तु दिनुको सट्टा उनीहरुको आवश्यकता बुझेर कुनै मालवस्तु उपहारमा दिनु राम्रो हुन्छ । दक्षिणालाई नभई दिदीबहिनी तथा दाजुभाइबीचको सम्बन्धलाई महत्त्व दिनुपर्छ । एक-अर्कामा दीर्घायु, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना नै सबैभन्दा ठूलो दक्षिणा वा उपहार हुन सक्दछ ।

अनपेक्षित उपहार

यथार्थमा तिहारको टीकासँगै आफ्ना दाजुभाइलाई आफैंले मिहिनेत गरी पकाएर आफैँले पस्किएर खाना खुवाउनुपर्छ । यदि आफ्नो खेती किसानी छ वा करेसाबारी छ वा कौसीखेती छ भने सोही उत्पादन खुवाउनुपर्छ । बारीमा काँक्रो फलेको छ भने बजारको स्याउभन्दा काँक्रो दामी उपहार मानिन्छ । आफैंले खाँदेको गुन्द्रुक, आफैँले काटेको चाना वा आफैंले बनाएको मस्यौरा घरमा छ भने सो तरकारी किनेको परवर वा भन्टाभन्दा उत्तम मानिन्छ ।

घरमा गाईभैंसी छन् भने दाजुभाइलाई दूध, दही, घिउ, मोही खुवाउँदा बजारमा किनेको मासुले भन्दा बढी सन्तुष्टि दिनेछ । यसरी आफ्नो घरको, नेपालकै उत्पादन, अर्गानिक तरकारी, नेपाली खाना खुवाएर यसपटकको तिहारमा दाजुभाइलाई अनपेक्षित उपहार दिन दिदीबहिनीलाई आह्वान गर्दछु ।

दिदीबहिनीलाई उपहार

तिहारमा हात खाली गरेर टीका लगाउन सकिन्न । यसर्थ, दिदीबहिनीलाई यसपटक साबिकको भन्दा फरक उपहार दिन दाजुभाइहरुलाई पनि आग्रह गर्दछु । यसर्थ, यसपटकको तिहारमा आफूलाई मनपरेको किताब उपहारमा दिन विशेष आग्रह छ । दिदीबहिनीलाई दक्षिणा स्वरुप नेपालका उत्कृष्ट स्थानको भ्रमणमा लैजान सकिन्छ । दिदीबहिनीले कुनै सीप सिक्न चाहेको भए सोको प्रशिक्षण शुल्क तिरिदिन सकिन्छ वा त्यससँग सम्बन्धित उपकरण दक्षिणामा दिन सकिन्छ ।

दिदी, भिनाजु वा बहिनीज्वाइँको ठूलो फोटो बनाएर फ्रेमिङ गरी घरमा सजाइदिन सकिन्छ । यसैगरी, नेपाली कलाकृति झल्किने थाङ्का, पत्थर वा काठका कलात्मक वस्तु उपहारमा दिन सकिन्छ । दिदीबहिनीको घरमा खाली जमिन छ भने बुद्धचित्र वा रुद्राक्षलगायतको बिरुवा उपहारमा दिन सकिन्छ । जे होस्, पोहोरपरार झैं यस वर्षको तिहारमा पनि दिदीबहिनीलाई महिलाले प्रयोग गर्ने झोला, कुर्ता सुरुवाल, साडी चोलो वा पछ्यौरी दिनुको सट्टा नेपाली उत्पादनको सिर्जनशील उपहार दिन आमदाजुभाइलाई उत्पेरित गर्दछु ।

मदिरा र पटकारहित तिहार

तिहारलाई मदिरारहित मनाउन विशेष आग्रह गर्दछु । सामान्यतः दाजुभाइले रक्सी पिएकामा खुसी मान्ने दिदीबहिनी बिरलै होलान् । यसर्थ, आफ्नी प्रिय दिदीबहिनीका लागि दक्षिणा स्वरुप यसपटक ‘ड्राई’ अर्थात् मदिरारहित तिहार मनाउन सल्लाह दिन्छु । तिहारको मासु पचाउन मुला खाऔं, रक्सी नपिऔं । भाइमसला (तिहारका मसला) पचाउन हिँडडुल, घुमफिर गरौं । दिदीबहिनीले प्रेमपूर्वक दिएको खानेकुरा मज्जाले खाऔं र पचाउन उनै दिदी बहिनीसँग जमेर सुख दुःखका कुरा गरौं ।

यसपटकको तिहारलाई पटकारहित बनाऔं । पटका बिक्री गर्ने पसलेलाई चेतावनी दिऔं । आफ्नो घरका केटाकेटीलाई पटका पड्काउन नहुने सन्देश जारी गरौं । टोल छरछिमेकमा पनि यस्तो हर्कत हुन लागे हस्तक्षेप गरौं र शान्तिपूर्ण र सभ्य समाज निर्माणका लागि सबैले प्रहरीको भूमिका निर्वाह गरौं ।

तिहारमा के गर्ने त ?

सम्भव भए तिहारमा शाकाहारी हुने कोसिस गरौं । मासुलाई रक्सीले पचाउने होइन, खाएपछि घुमफिर गर्न घरबाट बाहिर निस्किऔं वा आपसमा बसेर रमाइला कुरा गरेर समय बिताउन सकिन्छ । तास खेलेर समय बर्बाद गर्नुभन्दा पिङ खेलेर रमाउन सकिन्छ, केटाकेटीसँग क्यारेमबोर्ड खेल्न सकिन्छ । केटाकेटीहरुसँग बसेर चेस खेल्ने, लुडो खेल्ने गर्दा उनीहरुको बौद्धिकता पनि बढ्छ तर बिर्सिएर पनि लंगरबुर्जा नखेलौं । कौडा नहानौं । तिहारका सबै दिन फरक फरक ढंगले परिवारसहित खुसी हुने योजना बनाऔं । तिहारमा कुनै पनि प्रकारको खराब कामलाई प्रश्रय नदिऔं ।

तिहारको खानपिन

तिहारमा खानपीनमा पनि ख्याल गर्नुपर्ने हुन्छ । तिहारमा अत्याधिक मासु खाने प्रचलनलाई निषेध गर्नैपर्ने भएको छ । दाजुभाइलाई खुवाउन भनेर मासुमा बेस्सरी चिल्लो र पिरो नहालेर पनि स्वादिष्ट बनाउन सकिन्छ । मिठाई, दही, अचारलगायत वस्तु पनि रुचि नहुँदा पनि कोची-कोची खाने गर्नु हुन्न । बासी खानेकुरा पटक्कै नखाऔं । सामान्यतः खाना तयार गरेको ४ घण्टापछि बासी हुन्छ । यस कुरालाई विचार गरी ठिक्क पकाउने र समयमै खाने गर्दा स्वास्थ्यलाई फाइदा गर्छ ।

बिहानको खाना बेस्सरी खाइएको छ भने साँझको खाना हल्का गरी खाएमा पाचन प्रणालीलाई सजिलो हुन्छ । विश्वमा अस्वभाविक रुपमा खाना खाएरै बर्सेनि करोडौं मानिस बिरामी हुने गरेका छन् । यसर्थ, एकपटक पकाउन प्रयोग भएको तेलको पुन: प्रयोग गर्नु हुँदैन । मासु खानेले छाला र बोसोरहित मासु मात्रै खाएमा त्यसले शरीरलाई बिकार गर्दैन ।

भाइ मसलामा पर्ने काजु, किसमिस, हाडेबदाम, छोकडालगायत वस्तुमा फोहोर हुन सक्छ, राम्ररी पखालेर, सुकाएर खाने गर्नुपर्छ । मिठाई बनाउँदा अखाद्य रङको प्रयोग गर्नु हुँदैन । त्यस्तो रङमा विभिन्न रासायनिक तत्त्वहरु मिसाइएको हुन्छ । खाना खानुपूर्व भोक जगाउने र खाना खाएपछि पचाउने वस्तुको चक्र मिलाएर खाने गरेमा राम्ररी पच्ने र शरीरलाई फाइदा पुग्दछ ।

भ्रम हटाऔं

तिहारै सबैको हो । यसर्थ, सबैले आ-आफ्नै ढंगले यस वर्षको तिहार मनाऔं । योपटक जत्ति खुसी कहिल्यै भइएन भन्ने वातावरण तयार गरौं । दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता वृद्धि हुने काम मात्रै गरौं । यस्मा कटुता प्रकट हुने वा सम्बन्ध चिस्सिने कुनै पनि हकर्त नगरौं ।

तिहारमा नयाँ लुगा लगाउनैपर्ने, मासु खानैपर्ने, तास जुवा खेल्नैपर्ने, मदिरा सेवन गर्नेपर्नेजस्ता कुरालाई दिमागबाट हटाऔं । शान्तपूर्वक, शिष्टतापूर्वक तिहार मनाउन सकिन्छ । दक्षिणा लिँदा वा दिँदा नोटलाई जथाभावी फोहोर नगरौं । देखासिकी गरेर फजुल खर्च नगरौं । सबैले आफ्नो सोचमा रुपान्तरणको प्रयास गर्न सकिएमा चाडपर्व रमाइलो र सद्भावपूर्ण हुनुको साथै कसैलाई खर्चको बोझ पनि हुँदैन ।

तिहारको शुभकामना

तिहारमा सबैले सबैलाई शुभकामना आदनप्रदान गरौं । यसले आपसी समझदारी, सम्बन्ध र सद्भाव बढाउन मद्दत पुग्छ । तिहारपछि नयाँ उत्साह र उमंगका साथ काम गर्ने वातावरण निर्माण हुन सक्छ । मानिसमा कुनै धूमपान, मद्यपान, लागुऔषध सेवन वा अन्य खराब बानी भए यस वर्षको तिहारपछि त्यस्तो बानी त्यागी आफ्नो जीवनलाई नै नयाँ बाटोतिर लैजाने अवसर हुन सक्छ । कुनै नयाँ काम गर्ने सोच छ भने यस वर्षको तिहारदेखि सो पुनित कार्यको आरम्भ गर्न सकिन्छ ।

(यो लेख हामीले राससबाट लिएका हौं ।)


Image

कृष्णहरि बास्कोटा

बास्कोटा नेपाल सरकारका पूर्वसचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त हुन् ।


Enter Kantipur TV HD
Advertisement