अहिले विश्वव्यापीरुपमा नयाँ हलचल देखिएको छ । हिजो एउटै समूहमा रहेका देशका वीचमा पनि युद्ध भएको अवस्था छ । नयाँ समीकरणको खोजीमा कोही कता कोही कता, खोजी गर्न पनि गाह्रो भयो ।
हामी अहिले आन्तरिक समस्याबाट ग्रस्त भएका छौं । विदेशनीति, कूटनीतिमा नेपालले एउटा सम्मानको ठाउँ पाएको थियो । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा दुईचोटि चुनियो । त्योबेलामा चनाखो किसिमबाट असंलग्न रहेर आफ्नो अस्थित्व जोगाउने मात्र होइन, प्रगतिमा कसरी सहभागी हुने भन्ने कुरामा नेपाल चनाखो थियो । कता–कता अहिले त्यो धमिलिएको र त्यसलाई प्रभावकारी रुपबाट सञ्चालन गर्न नसकेको देखिन्छ ।
विश्वमा सबै कुरा परिवर्तनशील अवस्थामा पुगेका बेला नेपालले चनाखो भएर आन्तरिक समस्याबाट ग्रस्त भए पनि विदेशनीतिमा असंलग्न नीति अपनाएर आफूले पाएको सम्मानको ठाउँलाई पुनस्र्थापना गर्नका लागि या नयाँ समीकरणमा आफ्नो राष्ट्रिय स्वार्थ केमा भर पर्छ भन्ने कुरो लेखाजोखा गर्ने राष्ट्रव्यापी अभियानमा लागेर पुनः नेपाल सक्रिय भएको अवस्थामा पुग्नुपर्ने देखिन्छ ।
जहाँसम्म जी-ट्वान्टी को कुरो छ, यो पनि नयाँ समीकरणको खोजीको एउटा अध्याय हो । नेपाललाई किन आमन्त्रण गरिएन, हाम्रो अस्थित्व त्यहाँ हिमालदेखि लिएर यसको प्रभाव बाँकी विश्वमा पनि पर्ने अवस्था छ । आन्तरिक समस्याबाट ग्रस्त भए पनि बाह्य नीतिमा यसको प्रभाव वा असर पर्न नसकोस् । हामीले जुन भूमिका खेल्दै आएका थियौं, त्यसलाई सुदृढ गर्ने चुनौती आएको छ ।
हाम्रो आफ्नै नजिकको छिमेकीले गरेको अभ्यासमा नेपाल किन सरिक भएन, अर्को छिमेकी किन आयो भन्ने सोचनीय कुरा हो । यसमा आन्तरिक समस्या हुँदा हुँदै पनि बाह्य समस्यामा आँच आउन नदिने चुनौती नेपालसँग छ । यसमा हामीले अग्रसर भएर प्रभावकारी भूमिका खेल्ने समय आएको छ । यो चुनौतीलाई जनयुद्धपछि शान्ति बहाली भएर हामी जुन अवस्थामा छौं, यसको प्रभाव विदेश नीतिमा नपरोस् भन्ने कुरामा चनाखो हुनुपर्छ ।
जी-ट्वान्टी मा नेपाललाई किन बोलाइएन भन्ने प्रश्नको दुईवटै पाटो छ । छिमेकीले पनि अग्रसर भएर नेपाललाई अँगाल्न खोजेको देखिएन । अर्को कुरो हामी आफैं पनि चनाखो भएर भूमिका खोज्न सकेको देखिएन । दुबै पक्षबाट हेर्दाखेरि नेपाल अहिले कूटनीतिक हिसाबबाट वाङडुङ कन्फरेन्सपछि नेपालले जुन अग्रसरता र भूमिका खेलेको थियो, त्यसमा सिथिलता देखिएको छ । यसबाट कसरी पार हुने भन्ने कुरा सोचनीय छ ।
हामी आन्तरिक विवादबाट ग्रस्त भएका बेलामा बाह्य नीतिको सञ्चालनमा आँच नआओस्, पहिले भएको उपलब्धीले निरन्तरता पाओस् र त्यो भन्दा अगाडि बढ्न सकियोस् । हालसालै कता–कता हाम्रो आन्तरिक विभाजनले गर्दाखेरि विदेश नीति सञ्चालनमा पनि नकारत्मक कुराहरुले प्रश्रय पाएको छ । सकारात्मक कुराहरु अगाडि बढेको देखिँदैन ।
शेर्पा बैठक सम्मानको कुरा हो
जी-ट्वान्टी मा ‘शेर्पा बैठक’ शब्दको कुरा हो । म अमेरिकामा राजदूत भएर बस्दा त्यहाँका कूटनीतिज्ञहरु राष्ट्रपतिलाई साथ दिन जाँदा ‘म उनको शेर्पा हुँ’ भन्थे । त्यो एक प्रकारले सदभाव र सम्मानको दृष्टिले हेरेको हो । आँच आउने किसिमबाट प्रयोग भएको चाहिँ होइन । भनाइको मतलव, शेर्पा नभइकन कसैले पहाड चढ्न सक्दैन । सहायक भूमिकालाई एउटा उत्कृष्ट उदाहरण दिएको मात्रै हो, यसलाई अन्यथा ठान्नुचाहिँ हुँदैन ।
(परराष्ट्रविद थापासँग कान्तिपुर टेलिभिजनका लागि पर्वत घिमिरेले गरेको कुराकानीमा आधारित)
लबिङ गर्न नसक्दा हामी जी-ट्वान्टीमा परेनौं