दक्षिणपूर्वी एसियामा शक्तिराष्ट्रका तीन बैठक

पुस ३, २०७९ |राजीव कुँवर
दक्षिणपूर्वी एसियामा शक्तिराष्ट्रका तीन बैठक

सामयिक विश्वमा बढ्दो शिक्षा, सूचना, सञ्चार तथा प्रविधिका कारण सार्वभौम देशहरुलाई विश्वव्यापीकरणको सञ्जालमा जडित हुने क्रमसँगै उनीहरुको वैश्विकदेखि स्थानिक समस्यामा समेत विश्वव्यापी चासो बढेको छ ।

कोभिड महामारी, भूराजनीतिक घम्साघम्सी, पूर्वी र दक्षिणपूर्वी एसिया एवं युरेसियामा द्वन्द्वको सरगर्मी, मुद्रास्फीतिको वृद्धि, खाद्य तथा उर्जा संकट, जलवायु परिवर्तन, व्यापारिक रस्साकस्सी लगायत प्रमुख विश्वव्यापी समस्या शक्तिशाली देशका साझा एजेन्डा हुन् ।

अन्तरसञ्जालीकरणको युगमा विश्वका राजनेताबीच सम्बन्ध र सक्रियता बढेको छ । अन्तरदेशीयदेखि महादेशीय तहको सम्बन्ध देखा परेको छ भने राजनीति र कूटनीतिको अभ्यास र व्यवहारले सक्रिय एवं लक्षोन्मुखको दिशा पछ्याइरहेको छ । यिनै सवाल र सरोकारलाई सम्बोधन गर्न सहकार्यका प्रयासहरु भइरहेका छन् ।

गत नोभेम्बरमा दक्षिणपूर्वी एसियामा तीनवटा शिखर बैठकहरु भए । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठनको बैठक नोम पेन्ह (कम्बोडिया) मा भयो । जी–२० को बैठक इण्डोनेशियाको बालीमा भयो । त्यस्तै, एसिया प्रशान्त आर्थिक मञ्चको बैठक थाइल्याण्डको बैंककमा बस्यो ।

तीनै समूहका सदस्य–राष्ट्रबीच नियमित वार्षिक भेटघाट हुने गर्छ । यसमा राजनीति र सुरक्षाका विषय समावेश नहुने अडान आयोजक देशहरुले बताउने गरेका छन् । यी तीनै समूहहरु आर्थिक क्रियाकलापमा जोडिएका छन्, जुन अन्तररनिर्भतासँग सम्बन्धित गतिविधि हुन् । यस पटकको बैठकमा भने युद्ध, व्यापारिक विवाद, मुद्रास्फिति, क्षेत्रीय तनाव, खुला विश्वमा लोकतन्त्रको प्रतिष्पर्धामा निरंकुश शासनको सामना, पूर्वी एसियामा चीनको प्रभाव र युरेसियामा रुसी तथा पश्चिमा देशहरुको रस्साकस्सी पनि छलफलका एजेण्डा बने ।

विशेषगरी चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रत्याशित भेटघाटका समाचार सञ्चार माध्यमको प्राथमिकतामा परे ।

बदलिँदो भूराजनीतिक मामिलाले महाशक्ति राष्ट्रहरुमा अविश्वास र द्वन्द्वका साथै परोक्ष एवं अपरोक्ष प्रतिष्पर्धा निम्तिनु स्वभाविक परिणति भएको कूटनीतिक इतिहास साक्षी नै छ । अन्तरराष्ट्रिय मामिलामा ठूला र साना देशका शासकहरुको व्यवहार राज्यको वंशानुगत परम्परा जस्तै बन्ने गरेको छ ।

नोम पेन्हमा आसियान बैठक

नोम पेन्हको आसियान बैठक सन् २०२२ को दक्षिणपूर्वी एसियामा शिखर भेटघाटको प्रथम विन्दु रहेको छ । बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत चिनियाँ प्रधानमन्त्री ली खस्याङ, जापानी प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाली राष्ट्रपति योन सुकयोलले सहभागिता जनाएका थिए ।

यो बैठकले पूर्वी टिमोरलाई आसियान समूहको ११ औं सदस्यता दिने निर्णय गर्यो । बैठकमा म्यानमारको जारी हिंसा र राजनीतिक गतिरोधबारे समेत छलफल भयो ।

म्यानमारको सैनिक शासकले गत वर्ष ५ बुँदे सहमति गरेको शान्तिप्रक्रियालाई पालना नगरेको बैठकको निष्कर्ष थियो । आसियानका सदस्यले शान्ति सम्झौताको पक्षमा अडान लिएका थिए । म्यानमारले शान्ति प्रक्रियालाई कार्यान्वयन नगरेको बैठकमा सहभागी प्रतिनिधिले आरोप लगाएका थिए ।

कम्बोडियन प्रधानमन्त्री एवं आसियानका आयोजक हुन सेनले आर्थिक तथा भूराजनीतिक उथल–पुथल अनिश्चित मोडमा पुगेको बताउँदै आसियान क्षेत्रले उच्च सतर्कता, विवेकशीलता र दूरदर्शिता राख्नुपर्ने आह्वान गरेका थिए ।

सन् २०१७ पछि आसियानको बैठकमा बाइडेन सहभागी भएका थिए भने गत वर्ष उनी भर्चुअल रुपमा सहभागी भए ।

आसियान शिखर बैठकमा जापानी प्रधानमन्त्री फुमियो किशिदा, अस्ट्रेलियाका प्रधानमन्त्री आन्थोनी अल्बानिज र दक्षिण कोरियाली राष्ट्रपति योन सुकयोअल सहभागी भए ।

बैठकमा समस्याग्रस्त विश्व मामिला, युक्रेन युद्ध, जलवायु परिवर्तन, ताइवान मामिला, दक्षिण चीन सागर र उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपण आदि एजेण्डामा छलफल भयो । यसक्रममा सम्पन्न अमेरिका-आसियान सम्झौता एउटा महत्त्वपूर्ण कदम हो ।

आसियान बैठकमा बाइडेनको सहभागिता दक्षिण पूर्वी एसियामा उनको यो पहिलो भ्रमण थियो । बाइडेन प्रशासनले यो एउटा बृहत्त रणनीतिक साझेदारी हो भनेको थियो ।

गत वर्ष नै आसियान र अमेरिका दुवै पक्षले सम्बन्ध स्तरोन्नति गर्ने घोषणा गरेका थिए । बाइडेनले कम्बोडियाको रियम नौसेना अखडा राख्ने बन्दरगाहमा चीनको भूमिकाबारे पारदर्शी हुन आग्रह गरेका थिए । उनले लामो कार्यकाल सम्हालेका कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई राजनीतिक बन्दीहरु रिहाई गर्न र अर्काे वर्ष हुने चुनावमा राजनीतिक तथा नागरिक वृत्त खुला राख्न आग्रह गरेका थिए ।

त्यसैगरी, गत वर्ष चीन र आसियानले पनि वृहत् रणनीतिक सम्झौता तहको सम्बन्ध स्तरोन्नति हुने घोषणा गरेका थिए ।

बैठकका क्रममा चिनियाँ प्रधानमन्त्री लि खस्याङको भिन्न भेटघाटमा जापान र चीनले द्वीपक्षीय सम्बन्धमा रचानात्मकता र स्थिरताको प्रवद्र्घन गर्ने दिशातर्फ अग्रसर रहने बताएका थिए ।

बैठकमा दक्षिण कोरियाका राष्ट्रपति योनले चीन र जापानसँग वार्ता गर्ने संयन्त्र प्रस्ताव राखेका थिए । यसको ध्येय भवितव्य संकट, जस्तै– युद्घको प्रभावले खाद्य र उर्जा असुरक्षा लगायत जलवायु परिवर्तनलाई सम्बोधन गर्ने थियो । योन र किशिदाले उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र क्षमता वृद्धिको प्रयत्नलाई दुवै नेताहरुले गम्भीर एवं अस्वीकार्य चुनौती भन्दै आलोचना गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले एसियाली मित्रदेश जापानका प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाली राष्ट्रपति योन सुकयोअलसँग कम्बोडियामा उत्तर कोरियाको आणविक कार्यक्रमलाई नियन्त्रण गर्नेबारे छलफल गरेका थिए ।

बालीमा जी-ट्वान्टी बैठक

जी-ट्वान्टीको आतिथ्य देश इन्डोनेसियाले युक्रेनमा पुटिनलाई आमन्त्रण नगर्न पश्चिमा देशहरुको दबाब झेलिरहेको थियो । सदस्य राष्ट्रहरुको सम्मतिबिना त्यस्तो गर्ने अधिकार नहुने इन्डोनेशिया सरकारले जनाएको थियो । इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले जी–२० मा शक्तिशाली देशबीच भएको भूराजनीतिक घर्षणमा मध्यस्थता गर्ने प्रयास गरिरहेका थिए ।

जी-ट्वान्टी बैठकमा रुसी अतिक्रमणको कडा निन्दा गरिएको थियो । रुसले युद्ध रोक्नुपर्ने र निशर्त युक्रेनबाट फिर्ता हुनुपर्ने माग गरिएको थियो । भर्खरै पोल्याण्डको युक्रेन नजिकैको सीमामा क्षेप्यास्त्र प्रहार हुँदा दुई पोलिस नागरिक मारिएका थिए । जर्मन कम्पनीले निर्माण गर्ने प्याट्रियोट क्षेप्यास्त्र प्रतिकार प्रणाली युक्रेनलाई दिने निर्णयमा जर्मनीले विचार गर्नुपर्ने पोल्याण्डले आग्रह गरेको थियो । नेटोका महासचिव जेन्स स्टोलटेनवर्गले त्यस्तो निर्णय सम्बन्धित देशको सार्वभौम अख्तियारी भएको दाबी गरेका थिए । पश्चिमाको युक्रेन युद्धबारे एकै स्वर छ ।

यो शिखर बैठकमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई पनि आमन्त्रण गरिएको थियो र उनी भर्चुअल रुपमा सहभागी हुने अपेक्षा गरिएको थियो ।

अमेरिकी मध्यावधि चुनावको नतिजा आएका बेला जी–२० को बैठकमा राष्ट्रपति जो बाइडेनको उपस्थिति देखिएको थियो भने चीनमा सी चिनफिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति चयन भएलगत्तै यो बैठक आयोजना भएको थियो ।

युक्रेनको निन्दा लगायत वैश्विक अर्थतन्त्रमा बिग्रँदो अवस्थाले आर्थिक वृद्धि, मुद्रास्फीति र आपूर्ति सञ्जालमा पारेको अप्ठ्यारोबारे बैठकमा छलफल भएको थियो । बढ्दो उर्जाको माग र खाद्य सुरक्षा एवं वित्तीय स्थिरताको जोखिमका कम गर्ने नेताहरुको घोषणा पत्रमा उल्लेख छ ।

कुनै पनि आणविक हतियारको प्रयोग गर्ने उच्चारणको सशक्त आलोचना र त्यस आशयको रुसको अपरोक्ष निन्दा गरेको छ । रुसी परराष्ट्र मन्त्री सर्गे लाभरोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिनिधित्व गर्दै बैठकमा अन्यायपूर्वक राजनीतिकरण गरेको आरोप लगाएका थिए ।

शिखर बैठकको आतिथ्य देश इण्डोनेशियाका राष्ट्रपति जोको विडोडोले भने सदस्य देशहरुले लचकता अपनाएको भनेका थिए ।

विश्वव्यापी अर्थतन्त्र र विकासका लागि महत्त्वपूर्ण भूमिका बहन गरेका आर्थिक र औद्योगिक विकास भएका १९ देशहरु र यूरोपेली संघले विश्वव्यापी मुद्दामा छलफल गर्दै आएका छन् । जी–२० ले अघिल्लो वर्षको पुरानै प्रतिवद्धता दोहोर्‍याउँदै अन्य विकसित घटनाक्रममाथि ध्यान आकृष्ट गरेको थियो ।

जी–२० को अर्थतन्त्रसम्बन्धी घोषणापत्रमा ब्याजदरको वृद्धि र बढ्दो तरलताबाट सावधानी अपनाउँदै कोभिड १९ महामारीको चोटमा मल्हम लगाउन जोड दिइएको थियो ।

जी–२० मा आवद्ध देशहरुले समावेशी आर्थिक पुनः सञ्चालनको सम्वाहक हुने दाबी गरेका छन् । यसमा आवद्ध देशहरुले विश्वको कुल गार्हस्थ्य उत्पादनको ८० प्रतिशत भन्दा बढी, अन्तर्राष्ट्रिय व्यापारको ७५ प्रतिशत र यसको जनसंख्याको ६० प्रतिशत ओगटेका छन् ।

जी–२० का मन्त्रीहरूको १६ बुँदे संयुक्त घोषणामा भने रुस–युक्रेन युद्घबारे मतभेद देखियो । रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको बताउँदै आएको छ भने अर्कातर्फ पश्चिमा देशले युक्रेनलाई समर्थन गरेका छन् ।

विश्वव्यापी मुद्रास्फीति, युद्ध, खाद्य सुरक्षा र ऊर्जाको निरन्तर आपूर्ति, आपूर्ति श्रृंखलाको गतिशीलता र व्यापारजस्ता विषयले जी–२० को बैठकमा प्राथमिकता पाएका थिए ।

सी-बाइडेन भेट

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ जनवरीमा कार्यभार सम्हालेपछि सीसँग पहिलोपटक भेटवार्ता गरे । ओबामा प्रशासनका बेलामा पनि दुई देशका नेताबीच भेटघाट भएको थियो । तर, त्यसयता अमेरिका चीन सम्बन्ध ओरालो लागेको थियो । गत अगष्टमा अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणका बेला थप तनाव उत्पन्न भएको थियो ।

बाइडेनले सिसँगको भेटघाटमा ताइवान लगायत मानव अधिकार विषयमा अमेरिकी चासो रहेको बताएका थिए । यो भेटमा रुस–युक्रेन युद्घ र उत्तर कोरियाको मामिला पनि छलफल भएको थियो ।

बाइडेनले अमेरिका–चीनवीच सम्बन्ध सुधार्न चाहेको बताउँदै चीनलाई उत्तर कोरियाको क्षेप्यास्त्र गतिविधिमाथि दबाब दिन भनेका थिए । उत्तर कोरियाको उत्तेजित पार्ने रवैयाले अमेरिकी बृहत्त सैनिकको उपस्थिति हुन सक्ने बाइडेनको तर्क थियो ।

रुस र चीनले उत्तर कोरियाको ७ औं आणविक परीक्षणमा रोक लगाउन प्रयास गरे एसिया प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व हासिल गर्ने अमेरिकी धारणा छ । केही ठोस नतिजा हासिल नभए पनि समग्र भेटघाट सकारात्मक थियो ।

चीन र अमेरिकाबीचमा केही वर्षयता विषयहरु भन्सार शुल्क, बौद्धिक सम्पत्ति, हङकङको स्वायत्तताको क्षयीकरण र दक्षिण चीन सागरमाथिको विवादहरुले ओरालो लागेको छ ।

चीन–अमेरिका सम्बन्ध पछिल्लो दशकमा निकै बिग्रिएको छ । ताइवान, उत्तर कोरिया, दक्षिण चीन सागर, व्यापारिक क्षेत्रमा अनुचित गतिविधि, विद्युतीय चीपको प्रविधि हस्तान्तरणमा सीमितता, चिनियाँ प्रविधिमा अमेरिकी नियन्त्रण, युक्रेन युद्घ, जलवायु परिवर्तन, खाद्य असुरक्षा, आदि तमाम विषयहरुमा अमेरिका र चीनबीच बैमनस्य पैदा भएको हो ।

चीनलाई उत्तेजित पार्ने अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले विवादास्पद दक्षिण चीन सागरको छेऊमा रहेको फिलिपिन्सको पालवान टापुको भ्रमण गरेकी थिइन् । यो टापुमा ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामले केही भूभाग दाबी गरेका छन् ।

दुई शक्तिशाली देशहरुको कूटनीतिक सम्बन्धमा अघिल्लो वर्षदेखि उनीहरु झन्डै ऐतिहासिक स्तरको तल्लो तहमा पुगेका थिए । दुवैले आफ्ना कूटनीतिक सञ्चार खुला र मुठभेड नगर्नेमा सहमति गरेका थिए ।

चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति जो बाइडेनले जी–२० को बैठकअगावै इण्डोनेशियाको बाली टापूमा भेटवार्ता गरेका थिए । सन् २०२३ मा चार वर्षयताकै उच्च तहको उल्लेखीय कुराकानीका लागि अमेरिकी विदेश सचिव आन्टोनी ब्लिङ्केनले अब चीन भ्रमण गर्ने भएका छन् ।

दुई नेताहरुको भेटघाट औपचारिकरुपमा शुरु हुनपूर्व दुवै देशहरुबीच सञ्चार हुनु प्रधान विषय रहेको बाइडेनले भनेका छन् । उनले चीन र अमेरिका जिम्मेवार हुनुपर्ने र द्वन्द्व निकट हुनु अगावै प्रतिस्पर्धाको रोकथाम गर्ने र मतभिन्नता मेटाउन र विश्वव्यापी विषयवस्तुमा आपसी सहयोग र सहकार्यको आवश्यकता औंल्याएका छन् ।

रुस–युक्रेन युद्ध शुरु हुनुअघि नै सी र पुटिनको सम्बन्ध निकट बनेको र पश्चिमाको अविश्वास बढेको गुनासो भइरहेका बेला चीन यसमा सावधान देखिन्छ । आणविक हतियारको प्रयोग गर्न सक्ने रुसको विचारलाई भने चीनले गैरजिम्मेवारवूर्ण अभिव्यक्ति भनेको छ ।

मोदी-बाइडेन साइडलाइन भेट

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बालीमा भएको जी–२० बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग साइडलाइन वार्ता गरे । दुवैले क्वाडको नयाँ गठबन्धन (अमेरिका, अस्ट्रेलिया, जापान र भारत) तथा आई–२ यु २ (इजरायल, भारत, संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स) लगायत घनिष्ठ द्वीपक्षीय सम्बन्धबारे सन्तुष्टि व्यक्त गरे ।

चिनियाँ राष्ट्रपति सीले जस्तै भारतीय प्रधानमन्त्री मोदीले पनि रुस–युक्रेन युद्धलाई कूटनीतिमार्फत अन्त्य गर्न आह्वान गरेका छन् । सेप्टेम्बर १५–१६ मा उज्बेकिस्तानको समरकन्दमा भएको २२ औं सांघाई सहयोग संगठनको बैठकमा मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समकालीन युग ‘युद्धको युग’ होइन भनेका थिए ।

चीन र भारत गत मार्चदेखि संयुक्त राष्ट्रसंघको युक्रेन युद्धको प्रस्तावमा तटस्थ रहेका थिए । घोषणापत्रमा उल्लेख गरे अनुसार आणविक हतियारको प्रयोग वा त्यसको प्रयोगको धम्की अस्वीकार्य हुने भनिएको थियो ।

बैंककमा एपेकको शिखर बैठक

एपेक समूहमा रहेका देशहरुले २१ अर्थतन्त्र, जसले विश्व जनसंख्याको ३८ प्रतिशत, कूल ग्राहस्थ उत्पादनको ६२ प्रतिशत र व्यापारको ४८ प्रतिशत हिस्सा ओगटेका छन् ।

दक्षिण पूर्वी एसियाको शिखर बैठकमा चीन, जापान र अमेरिका सहभागी भएका थिए । नोभेम्बरको पहिलो आसियान बैठकको अघिल्लो मिटिङ्गमा युक्रेन युद्ध, ताइवान र कोरियन प्रायद्विपको तनावले प्रमुखता पाएको थियो । एपेकको बैठकमा अभियन्ताहरुले खाद्य सुरक्षा, मुद्रास्फीति, जलवायु परिवर्तन र मानव अधिकारबारे छलफल गरे ।

एपेकको बैठक बैंककमा आयोजना भइरहेका बेला थाई सरकारबिरोधी प्रदर्शनकारी सडकमा उत्रेका थिए । रुस जी–२० का साथै एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को पनि सदस्य छ । तर, रुसी राष्ट्रपति पुटिन इन्डोनेशियाको बालीमा आयोजित जी–२० को बैठक र बैंककमा आयोजित एपेकको बैठकमा सहभागी भएनन् । उनका तर्फबाट रुसी परराष्ट्रमन्त्री सर्गे लाभरोभ जी–२० को बैठकमा सहभागी भए भने एपेकमा प्रथम उपप्रधानमन्त्री आन्द्रे बेलोउसोभले प्रतिनिधित्व गरे ।

२१ सदस्यीय एपेक मञ्चमा सहभागी हुन क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहका शक्तिशाली देशहरुका नेता तथा अधिकारीहरु बैंककमा भेला भए । यो भेटघाट तीन बैठकमध्ये अन्तिम हो ।

बैठकमा युक्रेन युद्घले निम्त्याएको भूराजनीतिको तनावलाई निम्ट्याउन सामूहिक ऐक्यवद्घता जनाइएको थियो। यस विषयमा युद्घको विपक्षमा उभिने देशहरु पनि थिए । कुनै देशको धारणा फरक थियो ।

पूर्वशिखर बैठक नयाँ व्यापार र लगानीका अवसरहरुको आपूर्ति सञ्जाल, सम्पर्क, यात्रा र दिगो समाधान लगायतका विषयमा केन्द्रित थियो । यो फोरममा पनि जापानी प्रधानमन्त्री फुमियो किशिदा र चिनियाँ राष्ट्रपति सि चिनफिङले भेट गरेका थिए ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र अस्ट्रेलियाली प्रधानमन्त्री आन्टोनी अल्बानिज र फ्रान्सेली राष्ट्रपति माक्रोन पनि यो शिखर सम्मेलनमा सहभागी भएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका तर्फबाट प्रथम उपप्रधानमन्त्री आन्द्रे बेलुओसभले प्रतिनिधित्व जनाएका थिए ।

शिखर बैठकले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गरेको थियो । यसक्रममा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, क्यानाडा र न्यूजिल्याण्डका नेताहरुसँग भेटघाट गरिन् ।

थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चानओचाले कोभिड, जलवायु परीवर्तन र भूराजनीतिक प्रतिष्पर्धाले उब्जाएको आर्थिक तथा सामाजिक चुनौतिहरुसँग दिगो आर्थिक वृद्धि र विकासको ध्येय राख्न शिखर बैठकमा आग्रह गरे । जापानी प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाको रवैयालाई दोहोरिएको उत्तेजनाको अभूतपूर्व श्रृङ्खलाको संज्ञा दिए ।

जापान, कोरिया र अमेरिकाका शीर्ष नेतागणले बैठक हुँदै गर्दा उत्तर कोरियाले तटीय क्षेत्रमा क्षेप्यास्त्र प्रक्षेपण गरेपछि आपतकालीन बैठक भएको थियो ।

बैठकका बेला चीन र अस्ट्रेलियाको सरकार प्रमुखबीच पनि भेटवार्ता भयो । सीले जापानी प्रधानमन्त्री फुमियो किशिदालाई भेटे । चीन र जापानको शीर्ष नेतृत्वको भेट करिब तीन वर्षपछि भएको हो । किशिदाले ताइवान मामिलामा चासो व्यक्त गरेका थिए ।

ताइवान मामिलामा दुवै देशको सम्बन्धको जगमा रहेको भन्दै भूभागको विवादलाई उचित व्यवस्थापन गर्नुपर्ने किशिदाले जिकिर गरेका थिए । सीले एसियामा मुठभेडलाई अस्वीकार गर्ने आवश्यकतामा जोड दिँदै चीन यस क्षेत्रको क्षेत्रीय एकताको सारथी हुने धारणा व्यक्त गरेका थिए । चीनले यस विषयमा अमेरिकासँग वार्ता नहुने बताएको थियो ।

सीले सिंगापुरका प्रधानमन्त्री लि शियन लोङ र फिलिपिनो राष्ट्रपति फर्डिनाण्ड मार्काेससँग पनि भेट गरे । एपेक बैठकमा सीले अर्काे वर्ष सन् २०२३ मा अन्तरराष्ट्रिय सहयोगको लागि चीनले तेस्रो बेल्ट एण्ड रोड मञ्चको बैठक आयोजना गर्ने बताएका थिए ।

बाइडेन भने एपेक बैठकमा उपस्थित भएनन् । उनले त्यहाँ अमेरिकी नेतृत्वको प्रतिनिधि उपराष्ट्रपति कमला ह्यारिसलाई जिम्मा दिएका थिए । एपेकको परराष्ट्र मन्त्रीस्तरीय बैठकमा अमेरिकी विदेशमन्त्री आन्टोनी ब्लिंकेनले सहभागिता जनाएका थिए ।

एसिया प्रशान्त आर्थिक मञ्चको शिखर बैठकमा खुला व्यापारको प्रवद्र्घन र मुद्रास्फीतिको नियन्त्रण बाहेक भूराजनीतिक तनावहरुले प्राथमिकता पायो । ताइवान मामिला, यस मञ्चको औपचारिक बैठक अगावै उत्तर कोरियाको लामोदूरीको अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण र रुसको युक्रेन युद्धले एजेन्डा प्राथमिकता पायो ।

विश्वसम्बन्ध सुध्रिने आशा

अमेरिका र चीनको द्वीपक्षीय सम्बन्धमा केही वर्षयता ओरालो लागेको अवस्था छ । जस्तै– भन्सार शुल्क, ताइवान मामिला, बौद्धिक सम्पत्ति, हङकङको स्वायत्तताको प्रश्न र दक्षिण चीन सागरमाथिको विवाद लगायत अन्य विषयमा पनि दुई देशबीच मतभिन्नता देखिएको छ ।

सी र बाइडेनको बालीमा भएको भेटपछि अमेरिका चीन तनाव केही मत्थर हुने अनुमान गरिएको छ । यसको सामान्य प्रभाव एपेक सम्मेलनमा पनि देखियो । एपेकको शिखर बैठकको एजेन्डा क्षेत्रीय आर्थिक एकीकरणको प्रवर्द्धन पनि थियो । रुसको अतिक्रमणबारे सरोकार राख्दै शीर्ष नेतृत्व एउटा निचोडमा कसरी पुग्न सकिन्छ भन्नेबारे एपेक राष्ट्रहरुको तल्लो तहका अधिकारीहरु माझ महिनौं छलफल भएको थियो ।

फ्रान्सेली राष्ट्रपति माक्रोनले एपेक नेतृत्व वर्गले विश्व शान्ति र स्थायित्वका लागि अन्तरराष्ट्रिय नियम र बहुपक्षीयतालाई पालना गर्न आग्रह गरे । एपेक प्रमुख बैठकमा फ्रेन्च राष्ट्रपति इमानुएल माक्रोँले एपेक नेताहरुलाई अन्तर्राष्ट्रिय नियमको पुनर्मिलन र वैश्विक शान्ति एवं स्थायित्वका लागि बहुपक्षीयतामा जोड दिएका थिए । उनले अमेरिका–चीन प्रतिद्वन्द्वितामा कुनै पक्षमा लाग्न जबरजस्ती गरिएमा शान्तिको जोखिम हुने चेतावनीसमेत दिए । माक्रोँले एकल विश्व व्यवस्थाको आवश्यकता रहेको भन्दै व्यापारिक नेतृत्वको प्रशंसा बटुले ।

आसियानको अर्काे बैठक सन् २०२३ मा बालीमा हुने भएको छ । जी–२० को बैठक भारतमा हुने भएको छ भने २०२३ मै अमेरिकी शहर सन फ्रान्सिस्कोमा एपेकको ३० औं शिखर बैठक हुने भएको छ ।

सन् २०२४ मा पेरुमा र सन् २०२५ मा दक्षिण कोरियामा एपेकको बैठक आयोजना हुने भएको छ ।


Image

राजीव कुँवर

कुँवर कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।