रुस-युक्रेन युद्ध : संकटदेखि समाधान

मंसिर १, २०७९ |राजीव कुँवर
रुस-युक्रेन युद्ध : संकटदेखि समाधान

युद्ध प्रारम्भ भएको ९ महिनादेखि रुस तथा युक्रेनको विवाद मिलेको छैन । युक्रेनको तथ्यांकअनुसार २६४ दिनमा भएको द्वन्द्वमा ८१ हजार रुसी सैनिक मारिएका छन् । चार वर्षको चेचेन युद्धमा भन्दा ४७८ प्रतिशत क्षति रुसले बेहोरेको छ । ९ वर्षको अफगानिस्तान युद्धको तुलनामा युक्रेन द्वन्द्वमा ४३८ प्रतिशत धेरै हानि भएको छ । अमेरिकाले युक्रेनलाई गुपचुप रुपमा रुससँग वार्ता गरेर युद्ध अन्त्यको उपाय खोज्न भनेको आशय पनि सार्वजनिक भएकै छन् । यसको कूटनीतिक उपाय रोज्न युक्रेन खुला हुन अमेरिकाले भित्री तहमा जोड दिएको छ ।

संयुक्त राष्ट्रसंघमा युक्रेनको प्रस्तावहरुमा पक्ष-विपक्षमा मतदान भएको अन्तर्राष्ट्रिय समुदाय साक्षी छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा भिटो शक्तिको प्रयोग तथा यस विषयमा तटस्थता रहने मुलुकहरु आ-आफ्नो धारणामा आधारित रहेर परराष्ट्र नीति तथा कूटनीतिबाट सञ्चालन भएका छन् । नेपालले सन् २०१४ मा रुसले कब्जा गरेको युक्रेनको क्राइमिया बारेको संयुक्त राष्ट्रसंघको प्रस्तावनामा युक्रेनको पक्षमा मतदान नगरेको त्रुटि नेपालका परराष्ट्रविद्ले बताएका छन् । हालैका वर्षहरुमा नेपालको स्थायी प्रतिनिधिले युक्रेनको सन्दर्भमा सार्वभौमसत्ता, स्वतन्त्रतता र शान्तिपूर्ण उपाय रोज्न जोड दिँदै आएको छ । नेपालको परराष्ट्र मन्त्रालयले युक्रेनमा गैरआवासीय नेपाली नागरिकलाई सुरक्षित स्थान र देशतर्फ जान सूचना सम्प्रेषण गर्दै आएको छ ।

यस युद्धले राजनीतिक, कूटनीतिक, सामरिक र आर्थिक क्षेत्रमा असामान्य दृष्टिकोण उब्जिएको छ । खाद्य संकट, ऊर्जा समस्या, शरणार्थी संख्या, सामरिक र रणनीतिक घर्षणलगायत विश्वको ध्यान यस युद्धले खिचेको पक्कै हो । यो पश्चिमा र युरेसियाको भू-राजनीति, भू-सामरिक, भू-आर्थिकलगायत लोकतन्त्र र निरंकुश प्रणालीबीचको द्वन्द्व बल्झिएको विश्लेषण गर्न सकिन्छ ।

फेब्रुअरी २४ बाट सुरु भएको बडा देश रुस र उसको सानो जननी देश युक्रेनसँग भएको नीतिभेदले ठूलो प्रश्न खडा गरेको छ । सोभियत युनियनको पतनदेखि प्रादूर्भाव भएका पूर्वी युरोपका देशमा लोकतन्त्रको सुदृढीकरणमा पछिल्ला केही दशकमा उतारचढाव देखिएको छ । अर्थतन्त्रले लोकतन्त्रको पुष्टीकरण गर्ने धारणा अर्थराजनीतिशास्त्रीहरुले अड्कल गर्छन् । युक्रेन मामिला पनि यही परिधिभित्र युरेसियामा ब्रसेल्समुखी हुने कि मस्कोमुखी हुने झगडाले युद्धको नतिजा भोगेको यो उदाहरण हो ।

युरेसियन देशहरु पश्चिमाको उदारवादी लोकतन्त्र र अर्थराजनीतितिर ढल्कन र नेटोलगायत अन्य महादेशीय संगठनहरुमा आवद्ध हुने सिलसिलामा आफ्नो स्वार्थविपरीत हुने क्रेमलिनको बुझाइले यस्तो परिणाम निस्केको हो ।

अमेरिका, युरोप र रुसको यो वैमनश्यता लामो समयदेखि चल्दै आएको छ । यसको पछिल्लो हिंसात्मक घटनामा युक्रेन मुछिएको हो । यसले रुस र पुटिनलाई एक्लाएको छ । विश्व व्यवस्थामा नियम वा विधिबमोजिमको पालना गर्नुपर्ने वकालत पश्चिमा जगत्‌ले भन्दै आएको छ । यो युद्धमा रुसको हमलाले र सामरिक गतिविधिले उसका मित्रहरु चीन र भारतले पनि आफ्नो परराष्ट्र तथा सुरक्षा नीति आकलन गरेका छन् । यसबाट दुवै पुनरोदय देश भारत र चीनले यो युद्धको लाभहानिको आन्तरिक तथा बाह्य ममिलामा हिसाबकिताब राखेका छन् । दुवै देश रुसको अन्तरनिर्भरतामा सुनिश्चित तथा राहत महसुस गर्दै आफ्नो सामरिक, आर्थिक तथा ऊर्जा जोखिम न्यून हुने ठान्छन् ।

पश्चिमा जगत्‌को यी तीनैवटा मुलुकको राजनीतिक प्रणालीमा राजनीतिक दलको निरंकुश प्रवृत्तिले गर्दा हच्किन्छन् । तापनि भारत लोकतान्त्रिक देश भएकाले पश्चिमा मित्रदेशहरुको चासो र सहकार्य बढेर गएको छ । रुस र चीनसितको परस्पर सम्बन्ध र अन्तर्राष्ट्रिय पहिचानको तहको विरुद्धमा ती गठबन्धन सक्रिय हुन्छन् ।

रुसको यो तयारी शीतयुद्ध अन्त्यमा उसको पश्चिमासँग सोभियत संघको विघटनपछिको तुष त होइन ? या उसको युद्धकला र युद्ध अभ्यास हो ? या ठूला देशहरुको भू-सामरिक परिचितताका लागि गरिने सैनिक गतिविधि हुन् ? के यस्तो द्वन्द्व आवश्यक छ वा छैन ? यसको निरुपण गर्ने उपाय के हो त ? भनिन्छ दोस्रो युद्ध समाप्तिपछि विश्व चौथो विश्वयुद्धमा प्रवेश गर्ने सम्भावना टरेको छैन । किनकि विश्वयुद्धजस्तै तेस्रो शृंखलाका रुप सन् १९४५ देखि २०२२ सम्म विश्वका विभिन्न क्षेत्रमा स-साना द्वन्द्वको क्षति र हिंसा लगभगै त्यही तथ्यांक सेरोफेरोमा आउन सक्ने पनि विश्लेषण गर्न सकिन्छ ।

 रुसलाई नाकाबन्दीलगायत उसको पश्चिमासँगको वित्तीय र आर्थिक संसर्गलाई टुटाएका छन् । 

युक्रेनले भनेको छ रुसले मानवरहित वायुयानबाट बम खसाल्ने र हमला गर्न इरानबाट हातहतियार खरिद गरेको आरोप लगाएको थियो । रुस र इरानले भने त्यस्तो हातहतियारको ओसारपसार नभएको खण्डन गरेको थियो । आकाशीयन्त्रको प्रयोगले युक्रेनका आवासीय भवनहरुमा क्षति पुर्याएको र नागरिकले ज्यान गुमाउनु परेको थियो । आकाशीयन्त्रको प्रहारबाट रुसले युक्रेनको पूर्वाधारमा क्षति गरेको थियो ।

युक्रेनलाई हवाई सुरक्षा प्रणाली सुदृढ गर्न र प्रतिरक्षा क्षमता स्तरोन्नति गर्न अमेरिका र युरोपेली राष्ट्रहरुले सक्दो सहयोग गर्ने दृढता व्यक्त गरेका छन् । यो युद्धले रुसको सानो तर संवेदनशील देश युक्रेनमाथि उसको रवैयाले अन्तर्राष्ट्रिय जगतमा तरङ पैदा गरेको छ । माल्दोभा, रोमानिया, अल्बेनिया, जर्जिया, बेलारुस, तीन बाल्टिक राज्यहरु र बाल्कन प्रायद्वीपहरुमा रुसले स्लाभिक जातिको राज्यहरुमा आफ्नो प्रभाव क्षेत्र मान्दै आएको छ । रुससँग सम्बन्ध भएका यी देशहरुमा पश्चिमा कित्तामा जाँदा यस्तो कूटनीतिक विफलता भोग्नु पर्नेछ ।

युक्रेनको जापोरिजीया आणविक केन्द्रमा पनि रुसी हमलाले क्षति पुर्याएको जाँच गर्न अन्तर्राष्ट्रिय ऊर्जा निकायले अनुगमन गरेको थियो । अप्रशोधित रेडियोधर्मी भएको अस्त्र प्रयोग गरेको पनि युक्रेनले आलोचना गरेको हो । रुसले यस युद्धमा आणविक हतियार प्रयोग गर्ने अभिव्यक्ति चीनका नेतृत्वले गैरजिम्मेवार वचन भनेको विषय सी चिनफिङ र जो बाइडेनको इन्डोनेसियाको बालीमा भएको जी-ट्वान्टी को बैठकको तीन घण्टा लामो भेटघाटमा छलफल भएको थियो । उता नरेन्द्र मोदीले सामारकन्द, उज्बेकिस्तानमा सम्पन्न सेप्टेम्बर १५ देखि १६ तारिखमा पुटिनसँगको भेटमा अहिलेको युग युद्धको होइन भनेको विषय जो बाइडेनलाई यही बैठकका दौरान उठाएका थिए ।

त्यस्तै ताजा खबरअनुसार रुसले गत फेब्रुअरी २४ मा आक्रमण गरेयता संयुक्त राष्ट्रसंघ महासभाले पारित गरेको नोभेम्बर १४ का दिन युक्रेन सम्बन्धमा पाँचौं प्रस्ताव हो भने यसपटक युक्रेनका पक्षमा सबैभन्दा कम समर्थन जुटेको छ । यसअघि युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध मतदान गर्दै आएको नेपाल भने यसपटक तटस्थ बसेको छ । चीन र भारत पनि यस युद्धको समाधान वार्ता र कूटनीतिक माध्यमद्वारा हुनुपर्छ भन्नेमा जोड दिएका छन् । रुसलाई नाकाबन्दीलगायत उसको पश्चिमासँगको वित्तीय र आर्थिक संसर्गलाई टुटाएका छन् । यसले रुससँगको ऊर्जा ग्यास र तेलको परनिर्भरताले युरोपलाई संकटमा पारेको छ । यसको वैकल्पिक स्रोत-साधन जुटाउन युरोप सक्रिय भएको छ । रुसको मित्रदेश भारत र चीनले यस बहानामा ऊर्जा तथा अन्य हितमा लाभ हासिल गरेको छ ।

युरोपका प्रमुख शीर्ष नेताहरुले रुससँग यो विवाद टुंग्याउन रुसी नेतृत्व पुटिनसँग कूटनीतिक पहल गरे पनि यो युद्धको अन्त्य र संकट टर्ने लक्षण देखिएन । यो सामरिक गतिरोधको विकल्प कूटनीतिक माध्यम हो । तर यसको तह भने विविध छ । बहुपक्षीय कूटनीतिक गतिविधि र अन्तर्राष्ट्रिय मूल्य-मान्याताका आधारमा यो युद्ध समाधान हुने देखिन्छ । यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा सुदृढता उन्मुख दिशानिर्देश गर्नेछ । आउने दिनमा यी तीता व्यवहार र रवैया अन्त्य हुन अन्तर्राष्ट्रिय व्यवस्थामा जटिलता थपिँदै जाने चुनौती विश्व समुदायतर्फ तेर्सिएको छ । के विधि र नियममा आधारित विश्व व्यवस्था कल्पनाबाहिरको विषय र सिद्धान्त हो भन्ने अहं प्रश्न आज पनि जल्दोबल्दो छ ।

-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा


Image

राजीव कुँवर

कुँवर कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।