चुनावमा किन खस्दैन अपेक्षित मत ?

कार्तिक २९, २०७९ |मिमराज पाण्डेय
चुनावमा किन खस्दैन अपेक्षित मत ?

२०७४ सालको प्रतिनिधिसभाको चुनावमा काठमाडौंका ६ लाख ३४ हजार ५९ मतदातामध्ये एक लाख ७९ हजार १४३ जना मतदानमा सहभागी भएनन् । त्यस्तै एक लाख ९३ हजार ९१८ मतदाता भएको उदयपुरमा ४५.९३३ प्रतिशत मतदाताको मत खसेन । सोही चुनावमा रोल्पामा ४४.६२९ प्रतिशत, खोटाङ ४३.०४१, सोलुखुम्बुमा ४०.३११ प्रतिशत, मुस्ताङमा २८.१५३ प्रतिशत र मनाङमा २६.२५४ प्रतिशत मत खसेको थिएन ।

त्यस्तै २०७९ कै स्थानीय तहको चुनावको आँकडा हेर्ने हो भने पनि काठमाडौं महानगरपालिकामा तीन लाख २४२ मतदाता रहेकामा एक लाख ९० हजार ९६२ मात्र मत खस्यो । मतदानस्थलको सहज पहुँच भएको ठाउँ, शिक्षित मतदाता भएको र शान्तिपूर्ण मतदान सम्पन्न हुने जिल्लामै ३६ दशमलव ६ प्रतिशत नागरिक मतदानमा सहभागी नै भएनन् ।

विश्वव्यापी रुपमा हेर्ने हो भने पनि संयुक्त राज्य अमेरिकाको सन् २०२० को राष्ट्रपतीय निर्वाचन २१औं शताब्दीकै बढी मत खसेको चुनाव मानिन्छ । तर त्यस ऐतिहासिक चुनावमा पनि ६६.८ प्रतिशत मात्र मत खसेको थियो । यो एक प्रतिनिधि आँकडा मात्र हो । अमेरिका जस्ता अन्य थुप्रै मुलुकमा अपेक्षाअनुसार खस्नै पर्ने मत पनि खसेको हुँदैन ।

माथिको आँकडाले लोकतन्त्रको सुन्दर पक्ष मानिने निर्वाचनमा आमजनताको सहभागिता उत्साहजनक छैन र मतदानप्रति आकर्षण देखिँदैन भन्ने अनुमान गर्न सकिन्छ । हुन त, लोकतन्त्रमा सबैभन्दा शक्तिशाली त मतदाता नै हुन्छन् र हुनैपर्छ । तर त्यति शक्तिशाली मानिने मतदातामा मतदानप्रति अरूचि किन बढ्दै गरेको होला ? मतदान किन उनीहरूको महत्त्व र प्राथमिकतामा पर्दैन । के बाध्यताले उनीहरूलाई मतदान स्थलमा पुग्न रोक्छ ?

यस सामग्रीमा यिनै विषयमा चर्चा गरिँदै छ ।

किन मत हाल्न पुग्दैनन् मतदाता ?

नेपालमा हुने निर्वाचनहरूमा कम मत खस्नुका विविध कारण छन् । कोही चाहेरै पनि मतदानमा सहभागी हुन पाइरहेका हुँदैनन् भने कति अनिच्छाले मतदानमा सहभागी भएका हुँदैनन् । देशको अवस्था, व्यक्तिगत समस्या र मुलुकको राजनीतिप्रतिको वितृष्णालगायत बहानामा मतदान नगर्नेहरू धेरै भेटिन्छन् ।

तीमध्ये केही मुख्य कारण यी हुन् :

- मेरो एक्लो मतले के फरक पार्ने हो ?

जुनसुकै उमेर समूहका भए पनि यस्तो मनोभाव भएको मतदाता धेरै हुन्छन् । ‘मैले मत हालेर वा नहालेर के फरक पर्ला र ? मैले मतदान नगरे पनि हारजित त भई नै हाल्छ । मतदानले मेरो जीवन कायपलट हुने होइन ।’ यस्तो सोचेर उनीहरू अरू नै काममा लाग्छन् र मतदानलाई महत्त्व दिँदैनन् । तपाईं पनि यस्नै सोच्नेमा पर्नुहुन्छ कि ? एक-दुईजनाले यस्तो सोचे त ठूलो समस्या नहोला तर सबैले यस्तै सोचे र निर्वाचनमा सहभागी नभइदिए भने ?

त्यसैले सोच्नुहोस् है ! तपाईंको मतले ठूलो महत्त्व राख्छ ।

- म धेरै व्यस्त छु, भोट हाल्न जाने समय नै छैन

हुन पनि हो, तपाईं-हामी अधिकांश धेरै नै व्यस्त हुन्छौं । पेसागत जिम्मेवारी हुन्छ । अत्यावश्यक पारिवारिक कामहरू पनि हुन्छन् । व्यक्तिगत कामहरूको झमेला पनि हुनसक्छ । तर पाँच वर्षामा आउने निर्वाचनको अवसरबाट पनि त छुट्नु भएन नि । अमेरिकी समीक्षक जर्ज जिन नाथनले भनेको नबिर्सिनुस् है, ‘खराब शासकहरू तिनै असल नागरिकहरूद्वारा चुनिन्छन्, जसले मतदान नै गर्दैनन् ।’

-  मतदान असुविधाजनक र खर्चिलो छ

सबै मतदाता मतदानस्थलनजिकै हुन्छन् वा सजिलै त्यहाँ पुग्न सक्छन् भन्ने हुँदैन । कोही जिल्लाबाहिर त कोही देशबाहिर पनि हुन्छन् । २०७८ को जनगणनाको प्रारम्भिक नतिजाअनुसार मतदान गर्न योग्य २१ लाख ६९ हजार नागरिक मुलुकबाहिर छन् । नेपालमा विद्युतीय मतदान प्रणाली सञ्चालनमा आईनसकेकाले हाम्रा लागि मतदान केही असुविधाजनक र खर्चिलो पनि छ । काठमाडौंमा काम गरिरहेको वा अध्ययन गरिरहेका मतदाताले ताप्लेजुङका विकट गाउँमा पुग्नुपर्छ । जुम्लाका दुर्गम गाउँमा पुग्नुपर्छ । भारतको हिमाचल पुगेको हुम्लाको नागरिकले मतदानका लागि मात्र गाउँ फर्किनुपर्छ । यो समस्या हो तैपनि हामी आफ्नो मताधिकारबाट टाढिनु हुँदैन ।

नेपालले आवधिक निर्वाचन प्रणाली अपनाएको हुनाले, हरेक पाँच-पाँच वर्षमा हाम्रोमा तीनै तहको निर्वाचन हुन्छ र हामीले निर्वाचनमा सहभागी हुने अवसर पाउँछौं । 

- शासन प्रणाली नै भ्रष्टाचारले ग्रसित छ, कसलाई भोट हाल्नु

‘मन परेको उम्मेदवार नै छैन । सबै अवसरवादी छन् । पोहोर एक पार्टीमा थिए, अहिले अर्कैमा छन् । यस्तालाई किन भोट हाल्नु,’ अधिकांश मतदाताले यस्तै भन्छन् । किन भने हरेकपटक उनै उम्मेदवार र उस्तै एजेन्डा भएकाहरूलाई मत दिनुपर्ने तर सोचेअनुसारको विकास र परिवर्तन नदेखिने भएकाले मतदाताहरू दिक्क पनि भइसकेका हुन्छन् । भ्रष्टाचारले ग्रसित शासन प्रणालीमा मतदानमार्फत जोडिनुभन्दा बरु बाहिरै बस्छु भन्ने पनि लाग्न सक्छ । तर सुशासन कायम गर्दै र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिनिधि चुन्ने अवसर पनि त मतदान नै हो नि ।

याद राख्नुहोस्, तपाईंले चुनेकै प्रतिनिधिले हो कानुन बनाउने र सुधार ल्याउने ।

- मतदाता नामावलीमा नाम नहुनु

कतिपयको मतदाता नामावलीमा नाम हुँदैन वा त्रुटि भेटिन्छ । हालसालै नागरिकताको प्रमाणपत्र लिएका कतिपयले मतदान परिचयपत्र लिने याद गरेका हुँदैनन् । मतदाता सूचीमा नाम दर्ता गराउन नपाएकाहरू पनि मताधिकारबाट वञ्चित हुनुपर्ने हुन्छ । त्यस्तै, विभिन्न सरकारी तथा निजी निकायहरूको काममा खटिएकाहरू मतदान कार्यमा सहभागी हुन पाइरहेका हुँदैनन् ।

तर यसपटक भने सरकारले अस्थायी मतदाता नामावली संकलन गरेर मतदानमा सहभागी गराउने अभ्यास थालेको छ । नेपाल सरकार, सरकारको स्वामित्वका संस्थामा कार्यरत कर्मचारी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन खटिने कर्मचारी र सुरक्षाकर्मीहरू अस्थायी मतदाताका रूपमा सूचीकृत भएका छन् । त्यस्तै मतदाता नामावलीलाई अद्यावधिक गर्ने काम समेत सरकारले गर्दै आएको छ ।

यसपटक उक्त समस्या केही हदसम्म समाधान हुने देखिन्छ ।

- के चाहन्छन् मतदाता ?

निर्वाचन आयोगका अनुसार यसपटक देशभर कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । पहिलोपटक मतदान गर्ने होस् वा पुरानै मतदाता सबैले इमानदार, क्षमतावान्, दूरदृष्टि भएको र सिर्जनशील नेतृत्व खोजिरहेका छन् । उनीहरू आफूले भोगिरहेका ठूला समस्याको समाधान गरिदिने, देशलाई विकास, सुशासन र समुन्नतितर्फ लैजान सक्ने प्रतिनिधि चुन्न चाहन्छन् ।

युवा पुस्तामा निराशा छ, दिक्दारी छ । शैक्षिक योग्यता, क्षमता र नवीन सोच हुँदाहुँदै पनि विदेशिनुपर्ने बाध्यता छ । उनीहरू देशमै उद्यमको वातावरण चाहन्छन् । उचित श्रमको अवसर पनि चाहन्छन् । विगतका नेतृत्वले सोचेअनुसार काम नगरेको भन्दै यसपटक ‘नो नट अगेन’ नामक अभियान सञ्चालन गरी सामाजिक सन्जालमार्फत विरोध गरिरहेका छन् ।

यस पटक मतदाताहरू साँच्चै देशलाई सबै हिसाबले माथि उकास्ने नेतृत्व चाहन्छन् ।

हामी सार्वभौम सत्ता भएको मुलुकका नागरिक हौं । मतदान हाम्रो सार्वभौम अधिकार हो । नेपालले आवधिक निर्वाचन प्रणाली अपनाएको हुनाले, हरेक पाँच-पाँच वर्षमा हाम्रोमा तीनै तहको निर्वाचन हुन्छ र हामीले निर्वाचनमा सहभागी हुने अवसर पाउँछौं । नेपाल मात्र होइन, विश्वका धेरै देशमा मताधिकारकै लागि ठुल्ठूला युद्ध लडिएका छन् । रगतका खोला बगाइएका छन् । नेपालीले पनि सहजै यो अवसर प्राप्त गरेको होइन । यसका लागि हजारौं नेपालीले बलिदान दिएका छन् ।

निर्वाचन आफ्नो इच्छा जाहेर गर्ने माध्यम हो । मतदानमार्फत नै हामी हाम्रा प्रतिनिधि छान्छौं । कस्तो कानुन तथा नीति निर्माण गर्ने प्रतिनिधि छान्ने हाम्रै हातमा छ । देशलाई कस्तो भविष्य दिने भन्ने हाम्रै मतले निर्धारण गर्छ । प्रसिद्ध ग्रिक दार्शनिक प्लेटोले भनेका छन्, ‘यदि तिमी मतदान गर्दैनौ भने, तिमी मूर्खहरूद्वारा शासित हुनेछौ ।’ 

सोचौं त, के हामी मूर्खहरूद्वारा शासित हुन चाहन्छौं ?


Image

मिमराज पाण्डेय

पाण्डेय कान्तिपुर टेलिभिजनका उपसम्पादक हुन् । सामाजिक सञ्जाल ‘एक्स’मा उनलाई @mrpandeya मार्फत सम्पर्क गर्न सकिन्छ ।