जनकपुर साहित्य महोत्सवमा साहित्यकारदेखि राजनीतिज्ञसम्मको जमघट

साहित्यिक परिचर्चासँगै सामाजिक विसंगतिमाथि बहस
फाल्गुन ८, २०८२ |अमरकान्त ठाकुर
जनकपुर साहित्य महोत्सवमा साहित्यकारदेखि राजनीतिज्ञसम्मको जमघट

धनुषा । मधेश प्रदेशको राजधानी जनकपुरधाममा साहित्य महोत्सवमा साहित्यकार, राजनीतिक विश्लेषक तथा समीक्षकहरूको जमघट भयो । 

कला, संस्कृति र पहिचान उजागर गर्ने उद्देश्यले आयोजना गरिएको चार दिवसीय "जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवले साहित्यिक परिचर्चासँगै समाजिक कुरीति र विसंगतिलाई मात्र उठाएन समसामायिक राजनीतिमाथि पनि बहस भयो ।

जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मैथिली सभ्यता र संस्कृतिबारे विद्यार्थीले वाचन गरेको यो दृश्य हो । केही वर्षयतादेखि जनकपुरधाममा आयोजन हुँदै आएको साहित्य महोत्सवका कारण विद्यार्थीमा देखिएको यो वाक कला प्रष्फुटन हो । 

महोत्सवमा विद्यालयस्तरीय कविता र वक्तृत्वकला प्रतियोगिता गरेर युवा पिँढीलाई साहित्य र समाज चिनाउने काम भएको छ । यसपटकको महोत्सवमा साहित्य, कला र संगीतबारे मात्रै चर्चा भएन समसामायिक राजनीतिमाथि पनि बहस भयो । यो जमघटले मैथिली साहित्य, कला संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

साहित्य र सांस्कृतिक आदान प्रदानको माध्यमबाट लोककल्याणको लागि सामाजिक जागरूकता बढाउने साहित्यकारहरूको विश्वास छ । जनकपुरधाम मिथिला संस्कृति र संस्कारको राजधानी हो । महोत्सवले मैथिली नाटक, कला, साहित्य, संस्कृतिलाई पर्यटकीय कोणबाट देशभर प्रचारप्रसार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

साथै लोप हुन लागेको शास्त्रार्थ तथा संवाद परम्परालाई युवा पुस्तामा हस्तान्तरण गर्ने लक्ष्य पनि आयोजकको छ । महोत्सवमा विभिन्न २० सत्रमा देश विदेशका १ सय ५० भन्दा धेरै स्रष्टा सहभागी भएर आ-आफ्ना मत र दृष्टिकोण जाहेर गरे । जनकपुरधाम साहित्य महोत्सव साहित्यसँगै सामाजिक, राजनीतिक र समुदायको उत्थानको बहस गर्ने थलो बनेको छ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।