राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार घोषणा

मनबहादुर मुखिया, श्रीओम श्रेष्ठ ‘रोदन’, निमेष निखिल, राजेश खनाल, एस. सी. सुमन र झुमा लिम्बू सम्मानित हुँदै
माघ १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारको घोषणा गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिलाको अध्यक्षतामा ललितपुरमा बसेको कार्यसमितिको बैठकले उक्त सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।

प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर कार्कीका अनुसार ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान’का लागि वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई चयन गरिएको छ । त्यस्तै ‘राष्ट्रिय कलाश्री पुरस्कार’ निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’लाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसै गरी ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ कवि तथा अनुवादक निमेष निखिललाई, ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ पत्रकार तथा सर्जक राजेश खनाललाई, ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’ मिथिला कलाका साधक चित्रकार एस. सी. सुमनलाई तथा ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’ प्रसिद्ध लोकगायिक तथा अन्वेषक झुमा लिम्बूलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले जानकारी गराएअनुसार राष्ट्रिय कलाश्री सम्मान अमूल्य रहेको छ भने राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपैयाँ, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपैयाँ र अन्य पुरस्कारमा ताम्रपत्रसहित पचास–पचास हजार रुपैयाँ राशि रहेको छ । 'यी सबै सम्मान र पुरस्कार आगामी फागुन ४ गते काठमाडौंमा आयोजित विशेष कार्यक्रममा समर्पण गरिने छ ।' उपाध्यक्ष कार्कीले बताउनुभयो ।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू विगत १७ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.