
काठमाडौं। यस बर्षको शुभद्रा- विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि प्रल्हाद पोखरेल तथा प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान युवा साहित्यकार अनिता पन्थीलाई समर्पण गरिएको छ ।
नेपाली साहित्यको पारम्परिक तथा शास्त्रीय क्षेत्रमा योगदान पुर्याए बापत २१हजार १ सय ११ रुपैयाँ नगद राशीको शुभद्रा विश्वराज स्रष्टा सम्मान पोखरेललाई तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय रहेर उल्लेख योगदान पुर्याए वापत युवा साहित्यकार पन्थीलाई नगद १५ हजार एक रुपैयाँको प्रसिद्ध कँडेल राष्ट्रिय युवा पुरस्कार प्रदान गरिएको हो । नेपाल स्रष्टा समाजले आफ्नो १९ औं स्थापना दिवसको अबसरमा साहित्यकार जीवनाथ पोखरेलको कथासङ्ग्रह फेसबुकको करामत र कवि अम्बु बिहानीको मुक्तकसङ्ग्रह अतृप्त रहरहरुको लोकार्पण समेत गरेको छ ।
काठमाडौंमा आयोजित भव्य समारोहमा प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदी, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, भागिरथी श्रेष्ठ, हिरण्यकुमारी पाठक, विधान आचार्य, चेतनाथ कँडेलहरित तथा स्रष्टाद्धय लगायतले कृति लोकार्पण गरेका हुन् ।
प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा.सुवेदीले आफ्नो मन्तव्य राख्दै राज्यको निकायले भन्दा नीजिस्तरबाट साहित्य महत्वपूर्ण कामहरु भएको बताउनुभयो ।
लोकार्पित कृतिमाथि समालोचक प्रा.डा. गोविन्दमानसिंह कार्कीले चर्चा गर्नुभयो । उहाँले कथा कृति फेसबुकको करामतमाथि चर्चा गर्दै भने प्राय प्रेमकथा समेटिएको सङ्ग्रहमा सामाजिक विसङ्गतिका कथा रहेको बताउनुभयो । यस्तै मुक्तकसङ्ग्रहमाथि चर्चा गर्दै प्रा.डा.कार्कीले प्रेम,विछोड,समाजका विकृति र विसङ्गतिप्रतिको व्यङ्ग्य र तिप्रतिको आक्रोश मिसिएका मुक्तकहरु संग्रहमा रहेको बताउनुभयो ।
कार्यक्रममा समाजका संरक्षक वरिष्ठ साहित्यकार पवन आलोकले शुभकामना मन्तव्य व्यक्त गर्दै १९ औं स्थापना दिवसको अबसरमा समाजमा विगतमा योगदान गर्नेहरुलाई स्मरण गर्नुभयो ।
कार्यक्रममा सभाध्यक्ष समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले सम्मान र पुरस्कारका विभिन्न विकृतिबाट नेपाल स्रष्टा समाज मुक्त रहेको दावी गर्नुभयो । पुरस्कृत स्रष्टा पोखरेलले कविता सुनाउँदै पुरस्कृत हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । अर्का सम्मानित स्रष्टा पन्थीले आफु सम्मान हुन पाउँदा खुशी हुँदै साहित्यमा अझै केही गर्ने जिम्मेवारी थपिएको बताउनुभयो ।
शुभद्रा विश्वराज स्रष्टा सम्मान वि.सं.२०७४ मा विधान आचार्यले स्थापना गर्नुभएको हो । प्रसिद्ध कँडेल राष्ट्रिय युवा स्रष्टा सम्मान चेतनाथ कँडेल हरित र सीता भण्डारी कँडेलले वि.सं.२०७४ सालमा स्थापना गर्नुभएको हो ।
नेपाल स्रष्टा समाजले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदै आएको छ ।