डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

मंसिर २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

काठमाडौं। डा.चिन्तामणिनाथ योगीको आध्यात्मिक निबन्धसङ्ग्रह ‘चेतना यात्रा’ लोकार्पण गरिएको छ ।

नेपाल स्रष्टा समाजको आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा प्राडा प्रेमनारायण अर्याल,प्राडा भागवत ढकाल, निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, अम्बिका केसी र निबन्धकार डा.योगी लगायतले उक्त कृति लोकार्पण गरे ।

कृतिमाथि परिचर्चा गर्दै प्राडा भागवत ढकालले गीताको आदर्शलाई पछ्याएर किताव तयार पारिएको बताउनुभयो । जीवन, जगत र समाज उपयोगी कृतिले मान्छेको जीवनमा सकारात्मक प्रभाव पार्ने उहाँको ठहर थियो । 'ज्ञान,विज्ञान र चेतना समेटिएर कृति आएको छ । जीवन र दर्शनलाई जोडेर लेखिएको कृति आएको छ।’ उहाँले भन्नुभयो ।

पोखरा विश्वविद्यालयका प्रा.डा. प्रेमनारायण अर्यालले डा.योगीसँगको पुरानो सम्बन्धको चर्चा गर्दै पोखरा विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरुमा डा योगीलाई प्रवचन गर्न लगेको स्मरण गर्नुभयो ।

कृतिकार डा.योगीले अध्यात्म र दर्शनको बारेमा बोल्दै कृतिको रचना गर्भबारे बताउनुभयो । उहाँले आफु मातृभूमिको सेवक भएको भन्दै स्वान्त सुखायको निम्ति लेख्ने गरेको बताउनुभयो । ‘म ॐकारको साधनामा छु । लेखक भएँ भइन थाहा छैन् ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम,वरिष्ठ साहित्यकार पवन आलोक,पूर्वप्रशासक अम्बिका केसी र भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुलीले शुभकामना मन्तव्य राख्नुभयो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजिकरण शान्तिमाया गिरीले गर्नुभएको थियो भने कार्यक्रमका संयोजक शंकर भारतीले सबैलाई स्वागत गर्नुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.