निरञ्जना चन्द ‘निरू’को ‘वनफूलको विद्रोह’ बजारमा

मंसिर २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
निरञ्जना चन्द ‘निरू’को ‘वनफूलको विद्रोह’ बजारमा

काठमाडौं। कवि निरञ्जना चन्द ‘निरू’को कविता–कृति ‘वनफूलको विद्रोह’ एक विशेष समारोहबीच काठमाडौंमा विमोचन गरिएको छ।

सभ्यता अन्वेषण केन्द्रको आयोजना गरेको विशेष कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, प्रा.डा. जीविन्द्रदेव गिरी, प्रा. जगत्प्रसाद उपाध्याय, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. देवी नेपाल र कवि विमला तुम्खेवाले संयुक्त रुपमा कृतिको विमोचन गरे ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले कवयित्री चन्दको लेखनशैली समकालीन समाजका यथार्थ, मानवीय संवेदना र भावनात्मक गहिराइको प्रखर प्रस्तुति भएको उल्लेख गर्नुभयो । उहाँले २०७८ सालमा प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना गरिएको कविता महोत्सवमै चन्दको काव्य–क्षमताले आफूलाई गहिरो रूपमा प्रभावित पारेको स्मरण गर्दै भन्नुभयो, “चन्दका कवितामा मार्मिकता छ, तिख्खरता छ र पाठकको अन्तरमनलाई चिर्न सक्ने शक्तिशाली उपस्थितिहरू देखिन्छन्।” उहाँका अनुसार कृतिको शीर्षक ‘वनफूलको विद्रोह’ नै प्रकृति–प्रतीकमार्फत स्वतन्त्रता, विद्रोह, अस्तित्व र सामाजिक न्यायका मुद्दाहरूप्रति कवयित्रीको संवेदनशील दृष्टिकोणलाई संकेत गर्दछ।

कार्यक्रममा प्रा.डा. गिरी, प्रा. उपाध्याय, प्रा.डा. पौडेल, प्रा.डा. नेपाल, कवि शशी लुमुम्बू, कवि तुम्खेवा र कवि एलिशा ढुंगानाले कृतिमा समावेश कविताहरूको शैली, भावभूमि, चिन्तन तथा सामाजिक–सांस्कृतिक पृष्ठभूमिबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रममा कवयित्री चन्दले आफ्नो सिर्जनात्मक यात्रा, जीवन–अनुभूति र लेखनप्रेरणाबारे संक्षिप्त मन्तव्य राख्दै सबैप्रति आभार व्यक्त गर्नुभयो । सिम्ता–साहुखोला (सुर्खेत) जन्मस्थल र बर्दिया कर्मथलो भएकी चन्द साइनो (२०७६), निरूपण (२०७७) तथा पत्रपत्रिकामा प्रकाशित कृतिहरू मार्फत समकालीन काव्य–मञ्चमा स्थापित नाम हो । लुम्बिनी प्रदेश कविता प्रतियोगिता २०७७ मा पहिलो, प्रज्ञा–प्रतिष्ठान राष्ट्रिय कविता महोत्सव २०७८ मा तेस्रो तथा साहित्य सदन राष्ट्रिय कविता महोत्सव २०८० मा दोस्रो पुरस्कार प्राप्त गरेकी चन्द निरन्तर काव्य–सृजनामा हुनुहुन्छ । रत्न पुस्तक भण्डारद्वारा प्रकाशित कृतिको मूल्य रु. ३९५ तोकिएको छ। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.