काठमाडौँ — २०८१ सालका लागि पद्मश्री गौरव, पद्मश्री साधना र पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा प्राध्यापक अभि सुवेदीलाई पद्मश्री गौरव पुरस्कार, प्राध्यापक रमा शर्मालाई पद्मश्री साधना सम्मान र संस्मरणात्मक कृति ‘छालबाटो’का लागि लेखक एवम् पत्रकार रमेश भुसाललाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको हो ।
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले तीनै व्यक्तित्वलाई तीन/तीन लाख नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । अध्यक्ष लामिछानेले साहित्य एवम् वाङ्मयका साधकहरूलाई सम्मान गर्न पाउँदा संस्था आफैं सम्मानित भएको बताउनुभयो । ‘यो सम्मानले उहाँहरूमा थप हौसला र ऊर्जा प्राप्त होओस् भन्ने म कामना गर्दछु,’ उहाँले भन्नुभयो, ‘नेपाली साहित्य, संस्कृति तथा कलाको आफ्नो मौलिकता एवम् विशिष्टता छ । यो सानो फूलबारीभित्र रहेका विविध फूलका थुंगाहरूको जैविक सुवास नै हाम्रो गौरवको शिखर हो ।’
पद्मश्री गौरव पुरस्कार प्राप्त गर्नुभएका डा. अभि सुवेदीले साहित्य, कला र संस्कृतिको उपासक भएको हुनाले आफूले मान्छे र उसको सिर्जनाले जित्छ भन्ने विश्वास लिने गरेको बताउनुभयो । यसैगरी पद्मश्री साधना सम्मान प्राप्त गर्नुभएकी प्राध्यापक रमा शर्माले नेपाली भाषा साहित्यको सेवा गर्दै आएकी आफूले सम्मानबाट थप ऊर्जा मिलेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पत्रकार एवम् लेखक रमेश भुसालले नदी वरिपरि हिँड्दा देखेभेटेका पात्रहरूको कथाले पद्मश्री साहित्य पुरस्कार जस्तो गरिमामय पुरस्कार पाउँदा आफू खुसी भएको बताउनुभयो । ‘नदी पानी मात्रै होइन, यो सभ्यता हो, संस्कृति हो, जीवन चलाउने आधार हो,’ उहाँले भन्नुभयो, ‘यो पृथ्वीलाई चलायमान बनाउने रक्तनली हो ।’