खोलामा लेखिएको कथा नाटकमा बग्दा

असार १३, २०८२ |अवतार राई
खोलामा लेखिएको कथा नाटकमा बग्दा

युगौँदेखि बगिरहेको एउटा खोला छ । खोला तरेर मात्र मान्छेको बस्तीमा पुग्छ बजारिया सामान । नागरिकता बनाउने अड्डा खोलापारि छ, विकास पठाउने अड्डा पनि खोलापारि छ। 

न्यायनिसाफ दिने अदालत पनि खोला तर्नै पर्छ। छोरीचेली माइत आउन होस् कि केटाकेटी मावल जान होस्, खोला तर्नुको विकल्प छैन। खेतका गह्रालाई त्यहि खोलाको पानीले भिजाएपछि मात्रै अन्नपात पोसाउँछन्। त्यहि खोलाको पानीमा भात पाक्छ, त्यहि खोलाको पानीले आँगन पिढीको सफाइ चल्छ। तर खोलाले सफाया पनि गर्छ। सुसाउँदै बग्ने खोला हेरिन्जेल त शितल नै हो, तर यसले निर्मम अनुहार देखाएको बेला जवान छोरा भन्दैन, भर्खरकि दुलही भन्दैन, न केटाकेटी न त बुढाबुढी। जोसुकैलाई निल्छ । यसलाई कहिले मायाले, कहिले विस्मयले गाउँलेहरु 'डल्ले खोला' भन्छन्।

यो कथा हो, खोटाङको दिक्तेल बजार र बुइपाबीचको 'डल्ले खोला'को। साहित्यकार परशु प्रधानले ०३८ सालमै कथा लेख्नुभयो, त्यो कथाको प्रमुख पात्र थियो त्यहि 'डल्ले खोला'। 

खोलाको नाम कसले डल्ले राखिदियो, प्रधानले उतिबेलाको समाज र खोलाको सम्बन्ध केलाउँदै लेखेको कथाले भन्दैन न त खोटाङमा यो खोला तरिहिँड्नेहरुलाई नै यकिन थाहा छ। तर भोजपुरमा जन्मिएका प्रधान उतिबेला त्यता प्रमुख जिल्ला अधिकारी हुँदा खोलाको किनारकिनार खुब डुलेका हुनुपर्छ, अनि त लेखे खोलामै कथा। खोलामा लेखेको कथा नमेटिँदो रहेछ कि कुन्नी, चार दशकपछि उदियमान युवा रंगकर्मी बेदना राईले यहि कथालाई नाटकमा रूपान्तरण गरेका छन्।

काठमाडौंको शिल्पी नाटकघरमा अहिले त्यहि नाटकमा 'डल्ले खोला'को उपद्रव चलिरहेको छ र खोला किनारको बस्तीका मानिसहरुको जीवन संघर्ष उद्‌घाटित भइरहेको छ।

डल्ले खोलामा पुल छैन। गाउँका चल्तापुर्ता रणबहादुर पुल लगाउने योजना लिएर जिल्ला पञ्चायतमा बजेट माग्न पुग्छन्। सरकारी ढिलासुस्तीका बीच योजना त पारित हुन्छ तर कामचलाउ बनेको पुल बनेकै वर्षको बर्खामा आएको बाढीले बगाइदिन्छ । खासमा रणबहादुरले पुल बनाउन ल्याएको बजेटबाट पुलमात्र होइन, छोरीको भव्य विवाह पनि सम्पन्न गर्छन्। रणबहादुरलाई खोलामा बनेको पुल बगेको कुनै विस्मात् छैन। बरू छोरीको गाउँमा चर्चायोग्य भव्य विवाह गरिदिएकामा दंग छन् ।

अर्का गाउँले छन् शिवबहादुर। शिवबहादुर तिनै हुन् जसकी श्रीमति डल्ले खोलाले बगाइदिएको थियो। पीडा भुलाउन जुवाको लती भएका उनलाई अर्को तलतलले छोड्दैन, डल्ले खोलामा फेरि पुल हाल्ने। तर आफ्नो जायजेथा जुवामै उडाइसकेका छ्न्। 

रणबहादुरले योजना ल्याएर छोरीको बिहे गरेको घटना उसलाई पनि थाहा छ। आफ्नी छोरीको विवाह त्यसरी नै गरुँला भन्ने सोच पनि बेलाबेला आएको हुँदो हो। तर उनी पञ्चायतमा अर्को योजना लिएर पुग्छन्- डल्ले खोलाको पानी खेतखेतमा पुर्‍याउने नयाँ कुलोको योजना।

कर्मचारीको उस्तै ढिलासुस्तीसँग जुझ्दै योजना आउँछ पनि। तर यो बजेट शिवबहादुरले जुवाको खालमा बजारेरै सकाउँछन्। हिसाब देखाउन पुरानै कुलो देखाउँछन्। डल्ले खोला कहिले सुसाउँछ, कहिले गर्जिन्छ तर भ्रष्टाचारका तानाबानासँग उसको के सरोकार ? बगिरहन्छ। गाउँको व्यथा पनि खोला किनारको गाउँमा चरिरहन्छ।

पञ्चायती व्यवस्थाका बेला लेखिएको कथामा परिकल्पनाकार तथा निर्देशक बेदना राईको निकै प्रशंसनीय मेहनत छ । १० मिनेटमा पढेर सकिने कथालाई नाटकमा १ घण्टा १० मिनेट लगाएर भन्ने काम भएको छ । 

पुरापुर समय डल्ले खोलाको एक किनारामा बसेर हेरेजस्तो भान हुन्छ । ३० कम उमेरका प्राय: कलाकारहरूले सबै प्रकारका अभिनयमा कमी महसुस हुन दिएका छैनन् । उनीहरूको जीवन्त अभिनयले खित्का छोड्ने गरि हसाउँछ, कहिलेकहिले मन चिसो हुने गरि भावुक पनि बनाउँछ।

नाटकमा परिकल्पना, कोरियोग्राफी प्रशंसनीय छ । नाटकको बलियो र सबल पक्ष भनेको नाटकसँगै गुञ्जिने संगीत र शब्द स्वर हो । दृष्यसँगै बहने गीत संगीतले कुनै कुनै दृश्यमा आखाँ रसाउँछ । 

पञ्चायती व्यवस्था त्यो पनि प्रशासक, त्यो बेलाको बेथितिलाई लेखक प्रधानले धेरै कुरा खोलाको बिम्बमा कथामा भनेका छन् । नाटकमा खोलाको हृदयको आवाज र भावलाई निर्देशकले गज्जबले भन्ने प्रयत्न गरेका छन् ।

खाद्यसामग्री बोकेर खोला तर्दैगर्दा साथी बगाएपछिको भावुक दृश्य, छोरालाई बगाएपछि एक्लिएकी आमाको रोदन, श्रीमतिलाई खोलाले बगाएपछि शिवबहादुर विरक्तिनु र खेतबारी जुवामा सकेपछि बाबा छोरीबीच भएको संवाद, बा-आमासँग छुट्टिएर पराई घर जानुपर्दाको दृश्यले निकै भावुक बनाउँछ । 

यता पुल होस् या त सिँचाई, कुलोको योजना लिएर जिल्ला पञ्चायत पुगेका रणबहादुर र शिवबहादुरसँग कार्यालय प्रमुखले गरेको ढिलासुस्तीलाई गज्जबले देखाइएको छ जो वर्तमानको तस्विर जस्तै लाग्छ । कार्यालयका सहयोगीको भुमिका समेत अब्बल छ । जो लामो समयदेखि कार्यालय प्रमुख व्यवहारबाट परिचित छन् । उनले प्रमुखले बोल्ने भाषा र गर्ने व्यवहार कण्ठष्ट पारेका छन् ।

नाटकमा खेर जाने संवाद र दृश्य निकै कम छ । बरू नाटकका संवाद र दृश्यअनुसार परिकल्पना गरिएको प्रकासमा भने केहि समस्या छ । पात्रहरूसँग हुनुपर्ने जति प्रकाशको अभावमा दमदार उभिएका कलाकारहरूको अभिनय कतिपय हिसाबले ओझेलमा परेको भान हुन्छ। तर यो कमजोरीका लागि खुट्याउने एउटा विषय मात्र हुनसक्छ ।

तीसको दशकमा लेखिएको कथालाई आजको दिनमा पछिल्लो पुस्ताका रंगकर्मीहरूले गरेको मिहिनेत गज्जब छ । पञ्चायत व्यवस्थामा गाउँका अगुवाले गर्ने भ्रष्टाचार र सोझा सिधा गाउँलेले भोग्नुपरेको समस्यालाई कलात्मक रुपमा नाटकमा देख्न पाइन्छ । 

नाटकमा समस्या, सम्भावना, कठिनाई, संघर्ष छ । खोलाका नाममा अगुवाले गरेको चरम बेथितिका बाबजुद पनि अन्तत: नाटकले गाउँमा पुन आशाको बिउ पठाउने कोशिस गरेको छ । किनकी अन्तमा जिल्लाबाट डल्ले खोलामा पूल लगाउनका लागि इन्जिनियरहरूको टोली खोलाको अध्ययन गर्दै गाउँलेसँग सहकार्य गर्न गाउँ पुगेको छ। नाटक खोलासँगको खेलबाड, उतारचढाव र संघर्षपछि एउटा नयाँ आशा देखाएर सकिएको छ ।

यो कथा हाल कक्षा ८ को पाठ्यक्रममा पनि समावेश छ। कथा पढ्ने विद्यार्थीहरूलाई पनि नाटक सदृश्य देखाउन सके समय र सन्दर्भसँग उनीहरूलाई साक्षात्कार गराउन सकिने छ। 


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।