कस्तो छ त शिल्पी थिएटरमा चलिरहेको नाटक 'लस्ट एण्ड फाउण्ड' ?

जेष्ठ ९, २०८२ |कृपाल गौतम
कस्तो छ त शिल्पी थिएटरमा चलिरहेको नाटक 'लस्ट एण्ड फाउण्ड' ?

काठमाडौं । काठमाडौंको शिल्पी थिएटरमा जेठ ३ देखि घिमिरे युवराजद्वारा लिखित नाटक 'लस्ट एण्ड फाउण्ड' मञ्चन भइरहेको छ । वर्तमान समयको हरेक भोगाइ समाजको विगतसँग कसरी जोडिएर आउँछ भन्ने बुझाउन यो नाटकले कोशिश गरेको छ ।

नाटकको सुरू एउटा क्याफेबाट हुन्छ । जहाँ २५ वर्षकी भूमि र ४८ वर्षका सागर हुन्छन् । एकल आमाले हुर्काएकी अनागरिक युवती भूमि नाटकको मुख्य पात्र हुन् जो टुरिस्ट गाइडको काम गर्छिन् । यसैगरी, अर्का मुख्य पात्र सागर क्यानडाबाट फर्किएका हुन् । जो आफ्नो वैवाहिक जीवनबाट खुसी छैनन् ।

नाटकमा मुख्य पात्र भूमि र सागरलाई अहिलेको समयमा देखाइएपनि उनीहरू इतिहासको कालखण्डमा समेत बारम्बार पुगिरहेको पाइन्छ । जसले आज भइरहेका हरेक सामाजिक र वैयक्तिक गतिविधि विगतसँग कसरी जोडिएर आएको हुन्छ भन्ने बुझाउन खोजेको देखिन्छ । 

त्यसलाई दर्शाउन २६ सय वर्षअगाडि बुद्धको पालामा कस्तो जीवन भोगाइ थियो र त्यो अहिले पनि कति सान्दर्भिक छ भनेर पात्रमार्फत् पुष्टि गर्न खोजिएको छ ।

नेपाली समाजमा अहिले पितृसत्ताको जरो किन र कसरी मजबुत छ । अनि त्यसको ऐतिहासिक निरन्तरता कस्तो हो भन्ने नाटकमार्फत देखाउन खोजेको लेखक तथा निर्देशक घिमिरे युवराजको भनाइ छ ।

नाटक हेरेर निस्किएका दर्शकले 'लस्ट एन्ड फाउण्ड' लाई अलि पृथक किसिमको नाटक भनेर प्रशंसा गरेका छन । तपाईं नाटकको पारखी हुनुहुन्छ, नेपाली मैलिक नाटकमा रूची राख्नु हुन्छ र आफैंभित्र हराएर भेटिन चाहनुहुन्छ भने शिल्पी थिएटरमा पुगेर 'लस्ट एन्ड फाउण्ड'लाई अनुभूत गर्न सक्नुहुनेछ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।