पत्रकार भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण

चैत्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
पत्रकार भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण

काठमाडौं । पत्रकार तथा लेखक रोहित भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण भएको छ । प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका बीच शुक्रबार प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, लेखक रोहित भण्डारी लगायतले पुस्तक लोकार्पण गर्नुभएको हो ।

कार्यक्रमका विशेष अतिथि तथा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले प्रेरणादायी पुस्तक लेखकका रूपमा पहिचान बनाएका भण्डारीको ‘दिए पुग्छ’ पुस्तकले परोपकारी समाज निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाललाई चिनाउने भनेकै कथाले हो । यस्ता सकारात्मक र वास्तविक जीवनका कथाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्छ ।”

उहाँले विदेशीले नेपाल आउँदा यहाँको प्रकृतिसँगै मानिसहरू पनि राम्रो र मन सफा रहेको बताउने गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले यस्ता खालका पुस्तकले नेपालमा परिवर्तन ल्याउन सहयोग पुग्ने बताउनुभयो । 

पुस्तकको समीक्षा गर्दै साहित्यकार बलराम दाहालले पत्रकार रोहित भण्डारीको लेखन शैलीबाट आफू प्रभावित भएको बताउनुभयो । वास्तविक पात्रहरूका प्रेरणादायी कथालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको पुस्तक ‘दिए पुग्छ’ पढ्दै जाँदा आफू धेरै पटक भक्कानिएको उहाँले बताउनुभयो ।

यस्तै पुस्तकका लेखक रोहित भण्डारी पुस्तक लोकार्पण कार्यक्रममा आमाको आर्शीवाद नपाउँदा भावुक हुनुभयो । उहाँले भन्नुभयो, “मैले यो पुस्तकका पात्रहरूको कथा आमालाई सबै सुनाएको थिएँ । तर जब मैले यो पुस्तक लेखेर सकें, आमा मेरो साथमा हुनुहुन्न । तपाईंहरूले पुस्तक पढ्दै गर्दा मेरी आमालाई पनि अन्तरआत्माले सम्झिदिनुहोला ।”

भण्डारीले यसअघि ‘सम्भव छ’ र ‘नेपालमै सकिन्छ’ गरी दुई पुस्तकहरू प्रकाशित गरिसक्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.