घिमिरे युवराजको ‘लस्ट एण्ड फाउण्ड’ सार्वजनिक

वैशाख २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
घिमिरे युवराजको ‘लस्ट एण्ड फाउण्ड’ सार्वजनिक

काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि नाटक निर्देशन, अभिनय तथा लेखनमा सक्रिय घिमिरे युवराजद्वारा लिखित नाटक ‘लस्ट एण्ड फाउण्ड’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक कुमार नगरकोटी, उमा सुवेदी, उषा शेरचन र निर्देशक तथा रङ्गकर्मी अनुप बरालले पुस्तक सार्वजनिक गर्नुभएको हो । 

शिल्पी थिएटरका कला निर्देशक घिमिरे युवराजको साङ्ग्रिला बुक्सबाट प्रकाशित यो दोस्रो नाट्य कृति हो । पहिलो नाटक ‘विमोक्ष’ को दोस्रो संस्करण शनिबार नै प्रकाशित भएको हो ।

अभिनेता दिव्यदेव र लेखक घिमिरे युवराजले नेपाली नाट्य क्षेत्र, थिएटरका चुनौती, नाटक लेखन र चलचित्रका विषयमा रोचक संवाद समेत गरेका थिए । सोही क्रममा लेखक घिमिरेले शहरको निसास्सिएको जीवन र सम्बन्धमा आफ्नो रुचि भएकाले नाटकमा त्यही विषय समेटेको बताउनुभयो । 

लेखकसँग संवाद गर्दै अभिनेता दिव्यदेवले ‘लस्ट एण्ड फाउण्ड’ घिमिरे युवराजको अहिलेसम्मकै उत्कृष्ट नाटक भएको भनेर पाण्डुलिपि पढ्नेले आफूलाई सुनाएको बताउनुभयो । विमोचित नाटक ‘लस्ट एण्ड फाउण्ड’ जेठ २ गतेबाट शिल्पी थिएटरमा मञ्चन हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.