काठमाडौं । काठमाडौंमा जारी तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को समानान्तर महोत्सव आजदेखि पोखरामा पनि सुरु हुँदैछ । निटफेस्टको पहलमा पोखराको गन्धर्व थिएटर गैह्रापाटनमा आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय नाट्य महोत्सव १३ गतेसम्म चल्नेछ ।
महोत्सव आज १ बजेबाट पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यमा औचारिक रूपमा सुरु हुनेछ । पोखरा थिएटर आयोजक रहेको महोत्सवमा ५ देशका ६ नाटक मञ्चन हुँदैछन् । नेपाल लगायत चीन, जापान, ट्युनिसिया र नर्वे नेपालको संयुक्त प्रस्तुतिमा तयार नाटकहरू देखाइने महोत्सवमा सांस्कृतिक झाँकी, सांस्कृतिक परेड, कार्यशाला र अन्तरक्रियात्मक गतिविधि समेत समेटिने पोखरा अन्तर्राष्ट्रिय नाट्य महोत्सव निर्देशक परिवर्तनले जानकारी दिनुभयो । निटफेस्ट र पोखरा थिएटरबीच पहिलो संस्करणदेखि नै सहकार्य भएको हो ।
महोत्सवमा निटफेस्ट काठमाडौंमा प्रदर्शन हुने केही विदेशी नाटकहरू पोखरा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि मञ्चन हुनेछन् । निर्देशक परिवर्तनले भन्नुभयो, “यो महोत्सव निटफेस्टकै प्रस्ताव आएपछि पोखरामा महोत्सव आयोजना गर्ने पहल गरेका हौं । काठमाडौंबाट निटफेस्ट आयोजकले विदेशी नाटकहरू पोखरा ल्याउने संयोजन गरिदिनुभएको छ । त्यसमा हामीले आफ्नै पहलमा यताका केही नेपाली नाटकहरू थपेका छौं ।”
निटफेस्ट महोत्सव संयोजक केदार श्रेष्ठले काठमाडौं बाहिरका रंगकर्मीहरूसँग सहकार्य गरी समानान्तर महोत्सव गर्ने अभ्यास पहिलो संस्करणदेखि नै सुरु गरेको र दोस्रो संस्करणमा निरन्तरता दिन नसकिए पनि तेस्रो संस्करणमा पुनः काठमाडौं बाहिर समानान्तर महोत्सव अघि बढाएको बताउनुभयो ।
यस पटक निटफेस्टले पोखरासँगै चितवन र बेलबारीका स्थानीय आयोजहरूसँग सहकार्य गरी तीन शहरमा समानान्तर निटफेस्ट गर्न लागेको उहाँले बताउनुभयो ।
काठमाडौंमा भने निटफेस्टको आज चौथो दिन हो । मण्डला थिएटरमा जारी महोत्सवमा आज दिउँसो १२ बजे इरानको एन्टिगोनी, १ बजे लुथियाना र स्पेनको अराइभ्ड र चीनको चार्मिङ जिन्जु अपेरा मञ्चन हुँदैछ ।
नाटक मञ्चनबाहेक, दिउँसो ३ः३० बजे ‘नेपाली मिडियाको आँगनमा रंगमञ्च’ शीर्षकमा छलफल पनि हुनेछ । इकान्तिपुर डटकमका सम्पादक जनकराज सापकोटा र हिमालखबरका सम्पादक सन्त गाहा मगर वक्ता रहेको अन्तरक्रिया कान्तिपुर टेलिभिजनकी पत्रकार पुष्पा केसीले सञ्चालन गर्नु हुनेछ ।
महोत्सवको हरेक दिनको समापन सन्ध्याकालीन संगीत, नृत्य वा कविताबाट हुँदै आएको छ । आजको साँझको समापन 'सुकर्म'को सांगीतिक प्रस्तुतिबाट हुनेछ ।काठमाडौंमा निटफेस्ट चैत १२ सम्म चल्नेछ ।