राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाफो सुब्बाको संघर्षको कथा कम रोचक र मार्मिक छैन । त्यसो त उचाइमा पुग्न गरेका संघर्ष र त्यागका दिनहरू पगेल्ने हो भने त सबैसँग एउटा प्रेरणादायी साझा कथाहरू हुन्छन् । यहाँ चर्चा गर्न लागिएको बायोपिक फिल्म अञ्जिलामा फुटबलर एन्जिलाको चाहना, सपना, दृढ संकल्प, संघर्ष र उचाइको सफलतालाई सरसर्ती केलाउने काम भएको छ ।
पूर्वी पहाडी जिल्ला इलाममा जन्मिएकी एक बालिका जो बाल्यकालमा बाक्लो मोजामा केही पुराना कपडाहरू राखेर बनाएको बलमा निरन्तर अभ्यस्त हुन थाल्छिन् । विद्यालयका अतिरिक्त समयमा खेलेको मोजाको बलमा उनले आफ्नो भविष्य र सपना बुनिरहेकी हुन्छिन् । यो सपना उनका सहोदर दाइ र दिदीसँग पनि छ तर दाइ गाउँमै भुल्छन् र दिदी गाउँकै खेलाडीसँग बिहे गरेर घरजममा व्यस्त हुन्छिन् । तर एन्जिलासँग सपना साथमा छ र त्यसका लागि उनले निरन्तर बुनेका सपना पूरा गर्ने चाहना आमा र दोस्रो बासँग व्यक्त गर्छिन् ।
आफ्नै बाको परिवारप्रतिको उदासीनताले आमाले अर्कैसँग बिहे गर्छिन् । ती दिनहरूमा एन्जिलाले भोग्नुपरेका समस्याहरूसँग जुधेर पनि बाल्यकालमा बुनेका सपनाहरू थन्को लगाउन सक्दिनन् । अन्तत: आमाले छोरीको सपना पूरा होस् भन्नलाई राजधानी काठमाडौंसम्म पठाउँछिन् । आफन्तकोमा बसेर फुटबलप्रतिको सपनालाई पूरा गर्न समस्या र अल्झन भएपछि सडकका संघर्ष र राष्ट्रिय टिमको कप्तानसम्मको यात्रालाई चलचित्र अञ्जिलामा बडो मार्मिक र रोचक ढंगले पस्किने प्रयत्न गरिएको छ ।
आफ्नै संघर्षमाथि बनेको फिल्मको कप्तान पनि पनि एन्जिला आफैं हुन् । एन्जिलाले क्यामरामा पनि आफ्नै चरित्रमा अभिनय मार्फत पुन: एकपटक बाँचेकी छन् । भन्नलाई आफ्नै जिन्दगीका कथाहरूमा आफैं अभिनय मार्फत पुनरावृत्ति हुनु सजिलो विषय हो जस्तो लाग्न सक्छ । एन्जिलाको भूमिका वा उनको अभिनयलाई हेर्ने हो भने त्यस्तै लाग्न पनि सक्छ ।
तर बितिगएका घटनाक्रमलाई उही र उसैगरी पुनरावृत्ति गराउनुको सकस र जटिलता कम चुनौतीपूर्ण भने हैन । कसैको कथामा अभिनय गर्नुको छुट एकअर्थमा धेरै हुन सक्छ तर आफ्नै विगतलाई अनुभूति गर्दै रिलमा उतार्ने कोसिस गर्नु सजिलो विषय शायदै हो ।
रंगमञ्च हुँदै सिनेमामा स्थापित दयाहाङ राई, सिर्जना सुब्बा तथा माओत्से गुरुङहरूभन्दा एन्जिला अभिनयमा कमजोर देखिएकी छैनन् । त्यसो त आफैंले भोगेको जीवन हुबहु उतार्न एन्जिलालाई केको धक ? उनकै कथा र भूमिकाले फिल्मका कतिपय कमजोरीलाई छोपिदिएको छ । उनकै अभिनय र संवादहरूमा दर्शक मार्मिक हुन्छन्, गहभरि आँसु भरिएको पनि पत्तै पाउँदैनन् ।
सिर्जना सुब्बा, जो एन्जिलाकी आमाका रूपमा देखिएकी छन् । पहिलो श्रीमान्बाट जन्मिएका दुई सन्तान हुर्काउनुको पीडा त्यसमाथि श्रीमान्ले अर्कै श्रीमती लिएर घर छोडेपछिको मार्मिकतालाई गहकिलो रूपमा प्रस्तुति दिएकी छन् । यता छोरा छोरी हुर्काउनुको सकस र समस्यामा सारथिको भूमिकामा नजिकिएका चन्द्र (दयाहाङ राई)की दोस्रो श्रीमतीको रूपमा भित्रिनु तर छोरी एन्जिलाको सपनाको सारथि बन्नुको साटो श्रीमान् पर्खाल बनेर उभिनुको पीडालाई सिर्जना सुब्बाले गज्जबले प्रस्तुति दिएकी छन् ।
आफू पीडामा चुर्लुम्म डुबेर पनि छोरीको सपना पूरा गर्ने दृढता बोक्नु र उचाइको सफलता पाउँदाको हर्षलाई अभिनयमा जीवन्त बनाउने काम उनले गरेकी छन् । खासमा आमा सिर्जना सुब्बा र स्वयं छोरी एन्जिलाको भूमिका र अभिनयले मर्माहत बनाउँछ, थाहै नपाई पटकपटक हिक्का छुट्न सक्छ ।
सामान्य तर जीवन्त अभिनय पस्कने दयाहाङ राईले एन्जिलाको दोस्रो बाको भूमिकामा कमी हुन दिएका छैनन् । सामान्य होटल व्यवसाय गरेर जीवन गुजारा गरिरहेका एन्जिलाका आमासँग नजिकिँदा आकर्षित बनाउन गरेको भावुक प्रयत्न, छोरी एन्जिलाको फुटबल खेल्ने सपना तुहाउन गरेको क्रुर व्यवहार र उनै एन्जिलाको सफलताले पाएको सम्मानमा देखिएको खुशीलाई प्रस्तुत गर्ने शैलीले दर्शकलाई बाँध्न सकेको छ ।
यता बाबाको भूमिकामा रहेका माओत्से गुरुङ, जो समस्यामा रहँदा समेत छोराछोरी र श्रीमतीलाई छोडेर कान्छी श्रीमतीसाथ निक्लिएर झापातिर नै अलमलिएका कथाको भूमिकालाई जीवन्त बनाएको छ ।
निर्देशक मिलन चाम्सले निकै हिम्मत गरेर बनाएको यो बायोपिक फिल्म हेरिसक्दा उनलाई यसले नयाँ घुम्ती र थप उचाइमा पुर्याएको छ । फिल्मका कतिपय दृश्य र संवादमा धेरै समय दर्शक घोत्लिने बनाउने, घुमाउरो पाराले सांकेतिक कला मिलन चाम्सले प्रस्तुत गरेका छन् । विद्यालयबाट छनोट भए पनि परिवारबाट अनुमति नपाएपछि फुटबल खेल नै छाड्ने निर्णायमा पुगेर फुटबल जुत्ता आगोमा जलाउँदै गर्दाका दृश्य, आफुूले सबै परिस्थिति सामना गरेर भए पनि छोरीलाई काठमाडौंसम्म बिहानको उज्यालो अघि गाडीमा चढाउँदै गरेको दृश्य, आफन्तकोमा सहज परिस्थिति नभएपछि सडकको बसाइका क्रममा पानी पर्दा समेत सडक पेटीमा दृढ भएर बस्नु र समस्यासँग नभाग्ने प्रतिबद्धता जनाउनु, क्लबमा सहभागी भएपछि आमासँग लामो समयसम्म संवादहीनताको अवस्था बन्नु, धेरैपछि कुराकानी हुँदाको मार्मिकता तथा झापातिर अलमलिएका बाबासँगको मौन संवाद र उसले देखाएको आत्मीयताको दृश्यमा निर्देशक चाम्सले मेहनत गरेका छन् । जुन कारणले नै चलचित्र उत्कृष्ट पारिवारिक फिल्म बनेको छ ।
यति हुँदाहुँदै पनि निर्देशक मिलन चाम्सले कतिपय दृश्यहरूलाई अतिरिक्त रूपमा प्रस्तुत गरे जस्तो लाग्छ । जस्तै विजय बरालको दुईतिरबाट रकम लिएर खेलेको भूमिका, काठमाडौंमा आफन्त र घरधनीको संवाद तथा भूमिकाहरू खास स्थापित हुन सकेको देखिँदैन । यी दृश्यहरू भद्दा र अतिरिक्त लाग्छन् तर बायोपिक फिल्म भएकाले ती दृश्यहरू एन्जिलाको कथाले छोपेको छ ।
ग्रामिण समुदायमा हुर्केका सपनाहरू सजिलै हुर्कन पाउँदैनन् । ती सपनाहरूले मलजल पाउन हम्मे पर्छ । त्यसैले हुर्कन नसकेका सपनाहरू यथार्थमा तिनै ग्रामिण समुदायकै खोला खाल्सीतिर विलिन हुन्छन् । फल्न फुल्न पाउदैन । अवरोध परिवारमा छ सिंगो समाजमा छ ।
तर सपनाको हुटहुटीमा निरन्तर बाँचिरहने एउटा जमात छ । जो परिवारमा संघर्ष गर्न पछि पर्दैनन् समाजसँग मुकाबिला गरेर अघि बढ्न हिम्मत हार्दैनन्, उसैगरी दृढता पस्किरहन्छन्, समस्याबाट भागेर हैन सामना गरेर अघि बढ्ने संकल्प राख्छन् र संघर्षमा होमिन्छन् । पटक पटक लडेर पनि उठिरहने दौडिरहनेहरू सफलताको उचाइमा पुग्छन् ।
अन्ततः हिजो पर्खाल बनेर उभिनेहरू फूलमाला लिएर स्वागत गर्न तम्तयार हुन्छन् । त्यसैले जिन्दगीको अर्को नाम संघर्ष हो, अठोट, दृढता र समस्यासँग जुध्ने सामर्थ्य हो । फिल्म अञ्जिलाको सन्देश अथवा निष्कर्ष यही हो ।
एन्जिला तुम्बाफो सुब्बा अहिले महिला फुटबल टिमकी क्याप्टेन मात्र हैनन् । उनी अहिले युरोपको ग्रीसमा फुटबल खेलिरहेका छन् । एउटा उचाइको परीक्षणमा सफल भएकी छन् । तर जिन्दगीमा एकपटकको उचाइ र सफलताले मात्र सार्थक जिन्दगीको परिभाषा बन्दैन । त्यसैलै उनले थप उचाइको यस्तै अनेकन परीक्षण दिनुपर्ने हुन्छ त्यसका लागि निरन्तर मेहनत र संघर्ष भने जरुरी छ । जसका लागि उनले विगतमा गरेका संघर्ष र मेहनतले उसलाई परिपक्व बनाएको छ र उनी संघर्षका लागि तयार छिन् ।
चलचित्र अञ्जिला यहाँ आएर सकिएको छ ।
०००
हलिउडमा पहिलोपटक १९०६ मा बायोपिक फिल्म बन्यो, द स्टोरी अफ दि केली ग्याङ । जुन चलचित्र अस्ट्रेलियाको सार्वजनिक बसमा लूटपाट मच्चाउने नेद केलीको जीवनमा आधारित थियो । नेद केलीलाई २५ वर्षकै उमेरमा मृत्युदण्ड दिइएको थियो ।
त्यसयता हलिउडमा सयौं बायोपिक चलचित्र बने । जसले व्यावसायिक सफलतासँगै चर्चा र प्रशंसा बटुले । भारतमा समेत सन् १९१३ मा पौराणिक पात्र राजा हरिश्चन्द्रको जीवनीमा आधारित रहेर चलचित्र बन्यो । जुन सापेक्षित रूपमा सफल चलचित्रमा नै दरियो । त्यसयता बलिउडमा समेत धेरै बायोपिक चलिचत्र निर्माण भयो । ७० को दशक त बलिउडमा तीन दर्जन बढी नै बायोपिक चलचित्र बने । कतिपयले व्यावसायिक सफलता हात पारे भने कलाकारहरूले समेत स्थापित हुने मौका पाए ।
नेपालमा पनि बायोपिक चलचित्र अञ्जिला प्रदर्शनमा आउनुअघि आधा दर्जन बायोपिक चलचित्र बने । तर ती बायोपिक चलचित्र व्यावसायिक रूपमा सफल हुन सकेनन् । २०५६ सालमा यादव खरेलले आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित आदिकवि भानुभक्त चलचित्र बन्यो । यससँगै लौहपुरुषको उपमा पाएका राजनीतिज्ञ गणेशमान सिंहको जीवनीमा आधारित अर्को बायोपिक चलचित्र बन्यो- वीर गणेशमान । नवीन्द्रराज जोशीको लेखन तथा सम्झना श्रेष्ठ र विजयरत्न तुलाधरको निर्देशनमा चलचित्र बनेको थियो ।
भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र आचार्य बन्यो । जहाँ उनकै जेठा छोरा सत्यराज आचार्यले प्रमुख भूमिका निभाएका थिए । यस्तै किसानको पक्षमा आन्दोलन चलाएका भीमदत्त, नृत्यमा अब्बल दृष्टिविहीन सृष्टि केसी, साहित्यकार झमककुमारी घिमिरे तथा थाहा आन्दोलनका अभियन्ता रूपचन्द्र विष्टको जीवनीमा आधारित बायोपिक चलचित्र कतिले चर्चा पाएनन्, कतिपय व्यावसायिक रूपमा असफल भए र कुनै त प्रदर्शन नै भएन ।
हलिउड र बलिउडमा कतिपय बायोपिक फिल्मले चर्चा बटुलेको पाइन्छ । व्यावसायिक रूपमा सफल पनि भएका छन् । तर नेपालमा विगतमा बनेका बायोपिक फिल्मले व्यावसायिक रूपमा खास सफलता पाएको छैन । अञ्जिलाका निर्देशक स्वयं मिलन चाम्सको समेत यो दोस्रो बायोपिक फिल्म हो । पहिलो फिल्म ब्लाइन्ड रक्स जो दृष्टविहीन सृष्टि केसीको जीवनीमा आधारित थियो, सफल हुन सकेन ।
बायोपिक निर्माण गर्न चुनौतीपूर्ण छ । किनकि कलाकार मात्रै होइन त्यो बेलाको समाज, पृष्ठभूमि, संस्कृति, राजनीतिक परिवेश र समय उतार्न सहज छैन । यही बेला चाम्सले दोस्रो पटक बायोपिक फिल्मको हिम्मत बटुले र अञ्जिलामा हात हाले । चाम्सका लागि यो फिल्म ‘टर्निक प्वाइन्ट’ हो । उनले यो फिल्म मार्फत आफ्नो क्षमतामा थप फड्को मारे भन्दा फरक पर्दैन ।