लामिछानेको ‘अक्षत अन्टार्कटिका’ लोकार्पण

फाल्गुन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
लामिछानेको ‘अक्षत अन्टार्कटिका’ लोकार्पण
तस्बिर : नेपाल लिटरेचर फेस्टिभल

कास्की । उद्यमी एवम लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’ को लोकार्पण भएको छ । पोखराको फेवाताल किनारमा बिहीबारदेखि जारी १२ औं नेपाल साहित्यिक महोत्सवमा पुस्तकको लोकार्पण भएको हो ।

पुस्तकको लोकार्पण लगत्तै ‘(नि)यात्राको कुरा : कर्णालीदेखि अन्टार्कटिकासम्म’ विषयमा लेखक लामिछाने र पत्रकार एवं लेखक रमेश भुसालसँग पत्रकार विनिता दाहालले संवाद गर्नुभयो । संवादका क्रममा पुस्तकका लेखक लामिछानेले पृथ्वीको सबैभन्दा रहस्यमय एवम् कौतुकमय स्थानको रोमाञ्चक भ्रमण गराउनुका साथै मानवीय सम्बन्ध र सरोकारलाई पुस्तकका माध्यमबाट अभिव्यक्त गरिएको बताउनुभयो ।

उहाँले अन्टार्कटिकामा प्रकृति र पर्यावरणबारे टुर अपरेटरहरूले बनाएको नियमलाई अक्षरसः पालना गरिएको तर नेपालमा कार्यान्वयन निकाय हुँदा पनि नीति नियम कार्यान्वयन नभएको उल्लेख गर्नुभयो । यात्रा गर्न रुचि राख्नेहरूलाई प्रकृति र पर्यावरणप्रति सचेत हुदै यात्रा गर्न उहाँले आग्रह गर्नुभयो ।

१२ दिनको अन्टार्कटिका यात्रापछि लामिछानेले लेख्नुभएको अक्षत अन्टार्कटिका उहाँको तेस्रो कृति हो । भोलिसम्म चल्ने साहित्यिक महोत्सवमा आजै ‘राजनीति र साहित्यको आयाम’, ‘केछ बैंकको हालखबर ?’, ‘नेताले किन पढ्नुपर्छ ?’, ‘दुई देश, दुई उपन्यास’, ‘उच्च शिक्षामा चुकिरहेका हामी’ लगायत १४ विषयमा संवाद गरिएको छ ।

आजै मोहनविक्रम सिंह, उपेन्द्र यादव, रेखा शर्मा, रामशहरण महत, विजयकुमार, श्रवण मुकारुङ, छुदेन काविमो लगायत साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकारहरूले संवाद गरे । महोत्सवमा दैनिकजसो छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम हुँदै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement