काठमाडौं । बंगलादेश र नेपालबीच साहित्यिक आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ढाकास्थित नेपाली दूतावास तथा बंगलादेश-नेपाल फ्रेन्डशिप सोसाइटीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बंगलादेशका सांस्कृतिकमन्त्री मुस्तफा सरवार फारोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । आफ्नो मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथिले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक कूटनीतिमा दूतावासको प्रयासको प्रशंसा गर्नुभयो । उहाँले नेपाल र बंगलादेश मित्रताको मूलमा रहेको बलियो भाषिक, साहित्यिक र सांस्कृतिक समानताहरूमा पनि प्रकाश पार्नुभयो ।
कार्यक्रममा बोल्दै राजदूत घनश्याम भण्डारीले नेपाल र बंगलादेशबीचको सांस्कृतिक सम्बन्धलाई प्रकाश पार्दै जनता-जनताबीचको सम्पर्कलाई अझ सुदृढ पार्न साहित्यिक आदानप्रदानको महत्त्वमा जोड दिनुभयो । उहाँले विद्यार्थीहरूको कलाकृतिको पनि प्रशंसा गर्नुभयो । उनीहरूको रचनात्मक कृतिहरूले अन्तर-सांस्कृतिक समझदारीलाई बढावा दिन र दुई देशबीचका सम्बन्ध जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले ‘वर्तमान नेपाली साहित्य र संस्कृति’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । बंगला एकेडेमीका मुजफ्फर हुसेनले ‘बंगलादेशको साहित्य : संघर्ष र रचनात्मकताको प्रतीक’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
नेपालका तर्फबाट नेपाल स्रस्टा समाजका संरक्षक पवन आलोक, जयदेव भट्टराई, प्रद्युम्न जोशी र प्रदीप सापकोटा तथा बंगलादेशका तर्फबाट सलिम सुलेरी र उस्मान गोनीले आफ्ना सिर्जनाहरू सुनाउनुभयो ।
यसअघि बंगलादेश-नेपाल फ्रेन्डशिप सोसाइटीका अध्यक्ष लायन मोशिउर अहमद हुसैनले द्विपक्षीय सम्बन्धलाई अझ प्रवर्द्धन गर्न विद्यार्थी र साहित्यिक विद्वानहरूलाई संलग्न गराउनुको महत्त्वमा जोड दिँदै स्वागत मन्तव्य व्यक्त गर्नुभयो । यसै कार्यक्रममा चित्रकला प्रतियोगिताबाट छनोट गरिएका २० कलाकृतिहरू समावेश गर्ने विशेष प्रकाशनको विमोचन पनि गरियो ।
दूतावास तथा बंगलादेश-नेपाल फ्रेन्डशिप सोसाइटीद्वारा २४ जनवरी २०२५ मा ‘नेपाल मेरो आँखाबाट’ भन्ने विषयवस्तु अन्तर्गत आयोजित विभिन्न उमेर समूहका विद्यालयहरूका बालबालिकाबीच सम्पन्न ‘चित्रकला प्रतियोगिता-२०२५’ का विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो ।