ध्रुव खनालको ‘श्रेय’ उपन्यास सार्वजनिक

मंसिर २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
ध्रुव खनालको ‘श्रेय’ उपन्यास सार्वजनिक

काठमाडौं । साहित्यकार ध्रुव खनालको सामाजिक उपन्यास ‘श्रेय’ सार्वजनिक भएको छ । काठमाडौं उपत्यकाको केही पुस्ता अघिको परिवेशमा आधारित यो उपन्यासले काँठ क्षेत्रको त्यतिबेलाको सङ्घर्ष र कथा व्यथालाई सजीव रूपमा प्रस्तुत गरेको छ ।

यसअघि नै करिब एक दर्जन पुस्तक सँगै गीतहरू सार्वजनिक गरिसक्नुभएका उपन्यासकार खनालले बाल्यकालमा सुनेका अनौठा र रहस्यमय कहानीहरूलाई उपन्यासमा विभिन्न पात्रहरूका कथा, उप-कथामार्फत् अभिव्यक्त गर्नुभएको छ ।

उखाने काका, हर्षबहादुर मनकली दिदी, ज्योतिष बा, दिलमाया, द्वार्नी आमा, अछामे कान्छोजस्ता पात्रहरूका संवाद र चरित्र चित्रणमार्फत् आजभन्दा करिब सय वर्षअघि काँठको अवस्था के थियो भन्ने यथार्थलाई उपन्यासमा दुरुस्तै उतारिएको छ । त्यतिबेला काँठ क्षेत्रमा घाँस दाउरा गर्दाको दुःख, पीठो पिन्न रात बस्दै घट्ट जानुपर्ने बाध्यता र खेतीपाती गर्न जाँदा राति राति वा दिउँसै भूतले तर्साएका कहानीहरूको उपन्यासमा सजीव चित्रण छ ।

३६४ पृष्ठको यो उपन्यासमा काँठ क्षेत्रको तत्कालीन जीवनचर्यालाई उपन्यासकारले टपक्कै टिपेर जस्ताको त्यस्तै पस्किएका छन् । ढिकी, जाँतो, फलैचा, पिँढी, गुन्द्री, मान्द्रो, उड्गल, लुसी, धुन्चे, खुर्पेटो जस्ता काँठे पहिचानहरू अहिले लुप्तप्रायः भइसकेको परिवेशमा नयाँ पुस्ताका लागि यो उपन्यास एउटा नयाँ विषयवस्तुका रूपमा आएको छ । “हाम्रा पुर्खाहरूको जीवनकथा र उनीहरूका संघर्षबारे अहिलेको पुस्ता पूरै अनविज्ञ नहोस् भन्ने हेतुले मैले यो उपन्यास तयार पारेको हुँ,” उपन्यासकार खनालले भन्नुभयो, “त्यसैले यो कृति विद्यालय तहका विद्यार्थीका लागि पनि एउटा उपयोगी पाठ्यसामाग्री हुने मैले ठानेको छु ।”

इटर्नल पब्लिकेशन प्रा.लि.ले प्रकाशन गरेको यो किताबको मूल्य ५५० रुपैँया रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement