वैचारिक द्वन्द्वमा आधारित उपन्यास युगसन्धि विमोचन

आश्विन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
 वैचारिक द्वन्द्वमा आधारित उपन्यास युगसन्धि विमोचन

काठमाडौं । ऋषि वशिष्ठ र विश्वमित्रबीचको वैदिक कालको वैचारिक द्वन्द्वमा आधारित उपन्यास युगसन्धिको आज राजधानीमा लोकार्पण गरिएको छ ।

विजय चालिसेद्वारा लिखित उपन्यासमा आर्य र अनार्य जाती तथा संस्कृति, महिला तथा पुरुष एवम् रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरहरूबीचको द्वन्द्व समेटिएको छ । यी प्रसङ्गहरूमा विश्वमित्र ऋषि र बशिष्ठ ऋषिबीचको द्वन्द्वमा कथा अगाडि बढेको छ ।

उपन्यासमा ब्रम्ह शक्ति र राज शक्तिको समन्वय, महिला र पुरुषबीच समानता साथै आर्य र अनार्यबीचको समन्वयबाट मात्रै हिमाली क्षेत्रमा शान्ति कायम हुनसक्छ भनी वैदिक कालदेखि विमर्श हुँदै आएको तर्क अघि सारिएको छ ।

पुस्तक लोकार्पण समारोहमा बोल्दै समिक्षक गोपी मैनालीले युगसन्धिले पौराणिक आख्यान लेखनको शाष्त्रिय विधान तोडेको उल्लेख गर्दै यो उपन्यास विजयको मात्र नभइ पराजयको पनि कथा भएको बताउनुभयो । उहाँले युगसन्धिले प्राचिन समयको जातिय र वर्गीय विभेदलाई देखाएको टिप्पणी गर्नुभयो ।

यसैगरी समिक्षक डा. ज्ञानु पाण्डेले युगसन्धि उपन्यास यसले उठान गरेको विषयवस्तु भन्दा पनि पर पुगेर पाठकका मनमा अनेकौँ गम्भिर प्रश्न र कल्पना जगाउन सक्ने सशक्त कृति भएको दाबी गर्नुभयो । वैदिक कालको कथालाई लैंगिक अवधारणाबाट समेत उपन्यासले हेर्न सकेको उहाँको भनाइ थियो ।

वेदमाथि नेपालबाट पहिलो विद्यावारिधि गर्नुभएका डा. ऋषिराम पोखरेलले वैदिक विषयवस्तुमाथि साह्रै कम पुस्तक लेखिएको समयमा विजय चालिसेले युगसन्धि लेखेर नेपाली साहित्यलाई गुण लगाउनुभएको बताउनुभयो ।

लेखक चालिसेले वैदिक कालका द्वन्द्वहरुलाई अध्ययन गरेर निकालेको निश्कर्षका आधारमा उपन्यास तयार पारेको बताउनुभयो । लोकार्पण समारोहमा समिक्षक युवराज मैनाली र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल लगायतले लेखकलाई शुभकामना दिनुभएको थियो ।

परिचय पब्लिकेसनद्वारा प्रकाशित पुस्तकको मूल्य रु ५५० रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement