हामीले पढेको याम्बुनेरको 'आयाम'

भाद्र २०, २०८१ |सौर्यज पौडेल
हामीले पढेको याम्बुनेरको 'आयाम'

कला समाजको ऐना हो । समाजका सबै घटनाहरु जनमाझमा देखाउने कार्य साहित्यकारले साहित्यमार्फत गरिरहेका हुन्छन् । समाजलाई साहित्यका माध्यमबाट छर्लङ्ग देखाउने एक साहित्यकार हुन् बिना थिङ । मकवानपुरको हेटौंडामा जन्मिएकी थिङका 'छुकी' र 'याम्बुनेर' कथा संग्रह र 'रातो घर' कविता संग्रह प्रकाशित छन् । उनी एक सामाजिक यथार्थवादी कथाकार हुन् ।

'याम्बुनेर' कथासंग्रहकै १३ कथामध्येको एक हो 'आयाम' । 'आयाम' परम्परागत पारिवारिक मूल्य, समाजमा महिलाको स्थिति र सम्बन्धहरूमा हुने सङ्घर्षको कथा हो । कथाले याङ्जी नामक पात्रको जीवनमा आउने उतारचढावलाई चित्रण गर्छ, जसले एक महिलाले समाजमा भोग्नुपर्ने चुनौतीबारे वर्णन गरेको छ । यो कथाले नेपाली समाजमा विद्यमान सामाजिक र पारिवारिक संरचनाको जटिलताहरूलाई उजागर गरेको छ ।

कथामा मुख्य पात्र, याङ्जी र उनले भोगेका पारिवारिक समस्यालाई प्रस्तुत गरिएको छ । याङ्जी आफ्नी सासुआमासँग बसिरहेकी हुन्छिन् । उनको पतिको मृत्यु केही वर्षअघि भएको हुन्छ र उनी उनको दुःखमा डुबिरहेकी हुन्छिन् । यही समयमा उनको सासुआमाले उनलाई यो दुःखको सागरबाट निकाल्छिन् । उनलाई पैसा कमाउन र आफ्ना खुट्टामा उभिन उत्प्रेरित गर्दछिन् । यही समयमा उनले शन्तमायालाई भेट्छिन् र उनी पनि यस्तै स्थितिमा भएको तर उनले पुनः विवाह गरेर जीवनमा सकारात्मक परिवर्तन आएको देखेर खुसी हुन्छिन् । र, याङ्जीको मनमा पनि आशाको किरण उदाउँछ । यो घटना पश्चात, उनले सुरेशसँग पुनःविवाह गर्ने निर्णय गर्छिन् ।

यो कथाले आफ्ना सन्देशहरु धेरै मानवीय पात्रहरु प्रयोग गरेर प्रस्तुत गरेको छ । मुख्य पात्र याङ्जीको सेरोफेरोमा यो कथा अघि बढ्छ । याङ्जी एक असल पात्र हो जसले आफ्नो जीवनसाथी हराए पनि आशाको ज्योतिलाई निभ्न नदिएर जीवनमा अघि बढ्नलाई एउटा उत्प्रेरकका रुपमा बस्छिन । यसैगरी, याङ्जी मुख्य पात्र भए पनि यो कथामा उनको सासुआमाको ठूलो भूमिका छ । जब याङ्जी दुखद् समयमा थिइन्, उनलाई साथ दिएर, सहयोग गरेर जीवनको लयमा अगाडि बढाउन सासुआमाले गरेको सकारात्मक पहल प्रसंशनीय छ ।

बिना थिङले कथा 'आयाम' मार्फत विधवा महिलाले दुःखमै समय बिताउने भन्दा पनि पुनःविवाह गरेर जीवन अघि बढाउने बाटो देखाएकी छिन् । थिङले विधवाले मृत्यु भइसकेको श्रीमान् सम्झिएर दुःखमै जीवन बिताउनु पर्ने रुढीवादी सोचलाई तोड्नका लागि एक प्रगतिशील विचार कथामार्फत दिएकी छिन् ।

कथाले समाजमा रहेको पुरातन र रुढीवादी सोच विपरीत अघि बढ्न भन्छ भने यसैगरी दोस्रो अवसरको पनि कुरा गर्छ । जसरी एक विधवा महिलाले सेतो साडीको घुम्टो पछाडि लुकेर बस्नुभन्दा उनीहरुले प्रेम र विवाहको अर्को अवसर पाउनुपर्छ । यो सन्देश थिङले याङ्जी र सन्तमायाको पात्रको प्रयोगबाट देखाएकी छन् ।

यो एउटा उत्तम कथा हो । यो कथा सबै उमेरका पाठकका लागि पढ्न सुहाउँदो छ, यद्यपि यो कथाको क्रमले भने नयाँ पाठकलाई अल्मल्याउन सक्छ । विगतबाट वर्तमान आएको थाहा पाउन अलि कठिनाइ हुन्छ । समयक्रमले अल्मलाउने बाहेक कथा 'आयाम'का अरु सबै पक्ष राम्रा छन् ।


Image

सौर्यज पौडेल

सौर्यज कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।


Enter Kantipur TV HD
Advertisement