पद्मश्री साहित्य पुरस्कार कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई, चामलिंगलाई पद्मश्री साधना सम्मान

भाद्र २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पद्मश्री साहित्य पुरस्कार कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई, चामलिंगलाई पद्मश्री साधना सम्मान

काठमाडौं । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्राध्यापक कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई दिने निर्णय गरेको छ ।

प्रतिष्ठानलाई प्राप्त १ सय ८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरिएको थियो ।

द्वैत, अद्वैत तथा बहुलवादमा आस्था भएपनि मानवताको सार मूलतः एक रहेको तथा विश्वास, मत र मार्गहरू अनेक भएपनि मुहान एक रहेको व्याख्या गर्दै मानव समाजमा समभाव, समानुभूति तथा ऐक्यबद्धता स्थापना गर्ने बिषयमा अत्यन्तै परिस्कृत तथा बोधगम्य भाषा र शैलीमा अद्वैत उपन्यास लेखिएको छ । प्रखर समालोचक गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुनुहुन्छ । प्राध्यापक गौतमका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

यसैगरि नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिबिधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहुनुभएका साहित्यिक अभियन्ता तथा चिन्तक पवन चामलिङ्गलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो । चामलिङ्ग २४ बर्ष भारतको सिक्किम राज्यमा मुख्यमन्त्री हुनुहुन्थ्यो ।

साथै समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गर्नुभएका त्रिभुवन विश्वबिद्यालयका पूर्व उपकुलपति, पूर्व राजदुत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार दिने निर्णय गरिएको छ ।

 पुरस्कारको राशी जनही ३ लाख रुपैयाँ तथा सम्मान पत्र रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement