कविता : यो गाउँ हो

श्रावण २०, २०८१ |सागर रावल
कविता : यो गाउँ हो
गाउँमा यस्तै छ
बाउले हलो रोपेर भविष्य उमारे
बाजे-बराजुलाई वैकुण्ठ तारे
कहिले अभाव बोकेर लेक-बेँशीसम्म पुर्‍याए
फेरि अभाव बेच्न तराई झरे
मेरी आमाले गुन्यू टाल्न छोडिनन्
आङ सेकाउन अगेनो बाल्न छोडिनन् ।

गाउँमा माघ आउँछ
सेक्नसम्म सेकेर जान्छ
गाउँमा असार उर्लिन्छ
पहरो उत्तेजित हुँदा पहिरोले हेपेर जान्छ
कहिले बाढीले सोहोरेर लैलान्छ
कहिले खडेरीले सुकाएर जान्छ ।

मेरी आमा
जुनेली रातसम्म हिलो लतार्छिन्
मङ्सिरको ऐनामा आफूलाई उतार्छिन्
खेतबारीका पहेँलपुर सपना
बादलका क्षेप्यास्त्रले उत्तानो पर्छन्
न भोकका कीरा मर्छन्
न अभावहरू ओरालो झर्छन् ।

गाउँले आश्वासन नपाएको पनि होइन
पटक-पटक सरकार नआएको पनि होइन
तर के भनौँ, भने अनुसार भएकै छैन
गाउँले भोट हाल्न छोडेको पनि छैन ।

गाउँमा सुखै-सुख छ पनि भन्दिनँ
गाउँका दुःखै-दुःख मात्रै पनि गन्दिनँ
केही छैन भन्दाभन्दै पनि जीवन छ गाउँमा
केही पाइनँ भन्दा-भन्दै पनि चयन छ गाउँमा
यो गाउँ हो, परेको छैन सहरको प्वाँख हाल्न
मैले पनि सकेको छैन गाउँ छोड्ने रहर पाल्न ।

यो पनि पढ्नुहोस्

कविता- ‘उडान’



Enter Kantipur TV HD
Advertisement