कसले पाउला यसपालिको मदन पुरस्कार ?

श्रावण १८, २०८१ |अवतार राई
कसले पाउला यसपालिको मदन पुरस्कार ?

काठमाडौं । सामान्यत: पुरस्कारका लागि स्रष्टाले साहित्य सिर्जना गर्ने भन्ने हुँदैन । तर पुरस्कारले साहित्यकार र कृति दुवैलाई बजार र पाठकसम्म पुग्न सहयोग गर्ने गरेको छ । नेपाली साहित्यमा निकै चर्चामा रहेको मदन पुरस्कार अधिकांश लेखकको सपना पनि हो । हरेक वर्ष मदन पुरस्कार गुठीले पुरस्कारका लागि उत्कृष्ट कृतिको सूची सार्वजनिक गरेसँगै साहित्यिक बजार तरंगित हुने गरेको छ ।

मदन पुरस्कार २०८० का लागि उत्कृष्ट पाँच कृतिको सूची मदन पुरस्कार गुठीले सार्वजनिक गरेको छ । गुठीमा प्राप्त भएका ३०४ पुस्तक मध्येबाट छानिएका पाँच कृतिमा भक्त स्याङ्तानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरव’को सन्त्रासका साठी दिन छन् ।

त्यसमध्ये डम्फुको आत्मालाप तामाङ समुदायको मौलिक परम्परा तथा संस्कृति वर्णित कथाहरुको संग्रह हो । यसमा प्रेम र विछोडका कथाहरु छन् । नुन तेल पाँच दिनको पदयात्राले स्मरण गराएका गाउँ र आफन्तहरुका सम्झनाले भरिएको गैरआख्यान हो । यसले नेपाली समाजको विकासक्रम र रुपान्तरणका प्रयासहरुलाई उजागर गरेको छ ।

त्यस्तै भावलिपि पत्रहरुको संकलन हो भने मुकाम रणमैदान इतिहासको किताब हो । सन्त्रासका साठी दिन उपन्यास हो । यस उपन्यासमा सहकारी पीडितहरुको दु:ख र पीडालाई फरक तरिकाले प्रस्तुत गरिएको छ । यी नै किताबहरुमध्येबाट एक लाई यो वर्षको मदन पुरस्कार प्रदान गरिन्छ । गुठीले पुरस्कारका लागि कृति चयन गर्दा वैज्ञानिक पद्धति अनुसरण गरिने निर्देशक राजिप सिंहको दाबी छ ।

पुस्तक पसल भन्दा भट्टी र पार्लर धेरै छन् : अमर न्यौपाने

पछिल्लो समय पाठ्यक्रमबाहेक किताबको बिक्री घटेको छ । किताबको बजार विस्तारका लागि विभिन्न प्रदर्शनी र मेला पनि हुने गरेका छन् । तर पनि पठन संस्कृतिमा अपेक्षाकृत सुधार हुन सकेको छैन । तर विभिन्न पुरस्कार गुठी र संस्थाहरुले उत्कृट कृतिका सूची निकाल्दा थोरै भए पनि बजारलाई चलायमान बनाउने गरेको प्रकाशक अजित बरालको अनुभव छ ।

वि. सं. २०१२ असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको थियो । प्रत्येक वर्ष प्रदान गरिने मदन पुरस्कारले सम्मानित किताब र त्यसका लेखकलाई बेग्लै उचाइ दिने गरेको छ । त्यसले पुरस्कृत लेखकलाई थप जिम्मेवार पनि बनाउने साहित्यकार अमर न्यौपाने बताउनुहुन्छ ।

जीवन र जगतका यावत् पक्ष बुझ्न र तिनका बारेमा ज्ञान लिनका लागि अध्ययन जरुरी हुन्छ । यसका लागि पुस्तक स्रोत हो र त्यसका लागि पढ्नुपर्छ । त्यसो त पछिल्लो समय सामाजिक सञ्जाल र युट्युबजस्ता डिजिटल प्लेटफर्म र इन्टरनेटको बढ्दो प्रयोगले पठन संस्कृति ओझेलमा पर्दै गएको छ । यसले भावी पुस्ताले किताब र साहित्य अध्ययन गर्न नै छाड्ने त होइन भन्ने चिन्ता बढेको छ ।

हेर्नुहोस् अवतार राईका थप स्टोरी ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement