चितवन । चितवनमा पहिलोपटक फाइनप्रिन्ट बुक्सको आयोजनामा र नारायणी कला मन्दिर नारायणगढको सह-आयोजनामा 'फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव' आयोजना गरिएको छ ।
नारायणी कला मन्दिरमा भएको कार्यक्रममा सात वटा सत्रमा छलफल गरिएको थियो । 'नदी र समुन्द्रको यात्रा' विषयमा लेखक जीवा लामिछाने र रमेश भुसालले छलफल गर्नुभएको थियो । लामिछानेले आफूले अन्टार्कटिका भ्रमणलाई समेटेर प्रकाशित कृति 'अक्षत अन्टार्कटिका' मा उल्लेख गरिएका विषयलाई स्पष्ट पार्नुभयो ।
लेखक लामिछानेले पुस्तक लेख्दा समाजमा पार्ने प्रभावको विषयलाई विशेष ख्याल गरेर लेख्ने गरिएको बताउनुभयो । कार्यक्रमको अन्तिम सत्रमा 'युगदेखि युगसम्म' शीर्षकमा राजेश हमालसँग भूपिनले छलफल गर्नुभएको थियो ।
उक्त कार्यक्रममा चमेलीको फूल बैजनी रूमाल शीर्षकमा सुबिन भट्टराईसँग मिमांशा ढुंगेल, २१ ज्ञानिका शीर्षकमा ददि सापकोटासँग अमर न्यौपाने, चियाको कथा-उरमाल शीर्षकमा छुदेन काविमोसँग सामना पहाड, स्वस्पर्शको स्पर्श शीर्षकमा डा.नवराज केसीसँग जीवन क्षेत्री, महाभारा र सिमसारा शीर्षकमा बसन्त बस्नेतसँग रञ्जना लिम्बुले छलफल गर्नुभएको थियो ।
यस्तै कार्यक्रमा लेखक ददि सापकोटाको 'ज्ञानिका' कृतिको गृह बिमोचन समेत गरिएको थियो । लेखककी ९२ वर्षीया आमा र लेखक अमर न्यौपानेले पुस्तकको गृह विमोचन गर्नुभएको हो ।